
मधेश दृष्टि
जनकपुरधाम ।
नरेन्द्र मोदी विचार मञ्चले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ७३ औँ जन्मजयन्ती जनकपुरधामस्थित रामबहादुर शाह तेली सेवा सदनको सभाहलमा मनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद किरणदेवी साह थिइन् । उनले नरेन्द्र मोदी भारतका प्रधानमन्त्रीसँगै विश्वका चर्चित नेता भएकाे बताइन् । जनकपुरधाम आउने भारतका पहिलो प्रधानमन्त्री मोदीले जानकी मन्दिरको दर्शन गरेका उनले स्मरण गरिन् ।
जनकपुरधामको विकासका लागि एक अर्ब भारतीय रूपैयाँ उपहार दिएकाे विषयमा पनि चर्चा भएकाे थियाे । कार्यक्रममा लोसपा नेता तथा हिन्दी भाषाका प्रचारक रमण पाण्डेले चिया बेच्ने परिवारबाट आएका नरेन्द्र मोदी विश्वको सबैभन्दा ठूलो देशको प्रधानमन्त्री बन्नु गर्वको कुरा भएको बताए ।
नेपालमा भूकम्प गएको समयमा भूकम्पमा फसेका जनतालाई राहत सामग्री उपलब्ध गराउन दुई घण्टाभित्र भारतले सेना पठाएको थियो । नेपाललाई कोरोनाको खोप पठाउने काम पनि माेदी कालमा भएकाे थियाे । कार्यक्रममा होमियोपैथी चिकित्सक तथा क्यान्सर रोग विशेषज्ञ डा. उपेन्द्र साहलाई सम्मान गरिएको थियो ।
सत्यनारायण साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपाका नगर अध्यक्ष रामचन्द्र पञ्जियार, राष्ट्रिय तत्मा समाज नेपालका अध्यक्ष तथा दलित नेता रामशिष दास, नेपाल तेली कल्याण समाज धनुषाका अध्यक्ष ललित साह, नेपाल युवा वैश्य कल्याण समाज धनुषाका जिल्ला अध्यक्ष विनोद कुमार साह, रामबहादुर साह तेली सेवा सदनका अध्यक्ष राम किशोर साह, कुमोद साह, विनोद साहलगायतको उपस्थिति थियो ।






