
मधेशदृष्टि
वीरगंज ।
संविधानसभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ ।
सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उनका स्वकीय सचिव कृष्णप्रसाद काफलेले बताए ।
उनकाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टी नेता अस्पताल पुगेका थिए ।
विसं २००९ फागुन २८ गते जन्मेका नेम्वाङ नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने नेताकोरुपमा छवी बनाएका नेता हुन् ।
पार्थिव शरीर पार्टी कार्यालयमा राखिने
हृदयघातबाट निधन भएका नेकपा (एमाले) का उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ ।
स्नातक अध्ययनका क्रममा विसं २०२८र २०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापति भएका थिए ।
विसं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डीनेसन केन्द्र (माले)मा सङ्गठित एमाले केन्द्रीय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै थिए ।
विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए ।
नेम्वाङ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष–सभामुख थिए ।
उनी विसं २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहेका थिए । नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारीमा थिए ।
त्यसैगरी विसं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका नेम्वाङ वरिष्ठ अधिवक्तासमेत थिए ।
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
सभापति देउवाद्वारा दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा अध्यक्ष एवम् नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नेम्वाङको निधनले स्तब्ध भएको उल्लेख गर्दै आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
अध्यक्ष नेपालद्वारा दुःख व्यक्त
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गएराति निधन भएका नेकपा (एमाले) का उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि प्रकट गरेका छन् ।
महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर अध्यक्ष नेपालले नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरे ।
लिङदेनद्वारा श्रद्धाञ्जली व्यक्त
राष्ट्रि प्रजातन्त्र पार्टीका अध्यष राजेन्द्र लिङदेनले पनि सुवास नेम्बाङको निधनमा श्रद्धाञ्जली अर्पण गरेका छन् । निधनको खबर पाएपछि लिङदेन बिहानै अस्पताल पुगेका थिए ।








