विपी कोइराला र राष्ट्रिय चिन्तन

[mashshare]

–राजेश्वर नेपाली

जेलमा निकै अस्वस्थ्य भएपछि विपी जेलमुक्त हुनुभएको थियो र उपचार गराएर २००५ साल कार्तिकमा पुनः गुप्तरुपले कृष्णप्रसाद भट्टराई र केदारमान सिंह व्यथितको साथ फर्कदा सिन्धुलीको बाटो गरी काठमाडौँ पैदल पुग्नु भएको थियो र केही सप्ताहको गुप्त बासपछि मार्ग २८ मा काठमाडौँमा पक्रिाउ पर्नु भएको विपी २००६ वैशाख १९ (१ मई १९४९ ई.) देखि अनशन गर्दा २९ औं दिनपछि जेलमुक्त हुनु भएको थियो । त्यसपछि उहाँले नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको एकीकरण गराउनु भई वैरगनिया अधिवेशनको निर्णय अनुसार सत्याग्रहणको बाटो असफल भएपछि नीति परिवर्तन नगरी २००७ सालको सशस्त्र क्रान्ति गर्नु भएको थियो । परिणामतः १०४ वर्षको निरंकुश राणाशासन अन्त्य भएको थियो । विपीको इच्छाविपरीत राणा कांग्रेस संयुक्त संस्कार पठन भएको थियो र विपी गृहमन्त्री हुँदा राणाहरुले खुकुरी दलको नाममा आक्रमण गरेका थिए ।

१९७१ साल भदौ २४ गते जन्मेका नेपाली राजनीतिका महानायक विपी कोइराला किशोरावस्थामै भारतीय स्वाधीनता संग्रामको क्रममा महात्मा गान्धीको नेतृत्वमा भइरहेको असहयोग आन्दोलन क्रममा बनारसमा पढ्दा विदेशी कपडा जलाउनुको साथै कक्षा बहिष्कार गरी आदोलनमा लाग्नु भएको थियो । त्यसबला उहाँ सात वर्षकै हुनुहुन्थ्यो र १४ वर्षकै अवस्थादेखि राजनीतिमा सक्रिय रहन लाग्नुका साथै साहित्यिक रचना आरम्भ गर्नु भएको थियो ।

सन् १९३० मा प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि चम्पारणको डकैतीकाण्डको अभियोगमा उहाँलाई दाजु मातृकाप्रसाद कोइरालाका साथ पहिलोपटक बनारसमा गिरफ्तार गरिएको थियो । विपी सन् १९३१ मा पी. राजेश्वर राव र देवकान्त बरुआको साथ कम्युनिष्ट विद्यार्थी संघमा लाग्नु भएको थियो भने अर्को वर्ष १९३२ इ. मा जयप्रकाश नारायण र डा. राममनोहर लोहियाको सम्पर्कमा पुग्नुभएको थियो र त्यही वर्ष आइए उत्तीर्ण हुनुभयो । त्यसपछि १९३४ ई. मा राजनीति शास्त्र र अर्थशास्त्रमा स्नातक हुनु भई अर्थशास्त्र एमएको छात्र रहँदा १९३६ ई. मा भारतीय कांग्रेस सोसलिष्ट पार्टीको सदस्य हुनुभई १९३८ ई. मा त्यसको कार्यालय सचिव रहँदा उहाँ १९३९ मा दरभंगामा र १९४१ मा पटनामा पुनः गिरफ्तार हुनुभएको थियो ।

सन् १९४२ को भारत छोडी आदोलनक्रममा पटनामा गिरफतार भई हजारीबाग जेलमा बन्दी रहँदा डा. राजेन्द्र प्रसाद, जगजीवन राम, श्रीकृष्ण सिंहसित उहाँको मित्रता बढेको थियो भने त्यही जेलजीवनमा बन्दी नेपालको भद्रकाली मिश्रसित परिचय र मित्रता कायम भएको थियो । जेलमा उहाँ बिरामी भएपछि १९४५ को जनवरी १७ (२००१ माघ ४ गते) मा जेलमुक्त हुँदा एक दिनपूर्व काठमाडौँको जेलजीवनमा पिताजीको निधन भएको उहाँले खबर पाउनु भएको थियो र त्यसपछि उहाँ बम्बई गएर उपचार गराउनु भएका थियो । बिपी कोइराला सर्वप्रथम २००३ असोज १७ गते (४ अक्टुबर १९४६ ई) मा पटनामा एउटा वक्तव्य प्रकाशित गरेर भारतमा अध्ययनरत युवा नेपालीहरुलाई निरंकुश राणाशासनबाट मुक्तिका लागि भेला हुने आव्हान गरेअनुसार काक्कि १५ (३१ अक्टुबर १९४६) मा बनारसमा नेपाली छात्र र युवकको पहिलो भेला भयो र त्यसपछि कोलकत्तामा २००३ माघ १२ मा नेपाली राष्ट्रिय कांग्रेसको विधिवत उद्घाटन भएको थियो र काठमाडौँ जेलमा रहनु भएका टंक प्रसाद आचार्यलाई प्रतीकस्वरुप सभापति बनाई विपी कार्यबाहक सभापति छानिनु भएको थियो ।

महात्मा गान्धीबाट प्रभावित भएकाले विपी नेपालमा शान्तिपूर्ण तरिकाले परिवर्तन चाहनुहुन्थ्यो र त्यसैले कांग्रेस स्थापनाको लगत्तै विराटनगरको मजदुर हड्ताल शान्तिपूर्ण भएको थियो । फाल्गुण २० गतेदेखि आरम्भ भएको आन्दोलनको छैठौँ दिन विपी स्वयम् विराटनगर पुगेर त्यसको नेतृत्व लिनुभएको थियो र दुई सप्ताहपछि चैत १२ मा विपी को साथै गिरिजाप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला र मनमोहन अधिकारी पनि पक्राउ पर्नु भएको थियो । कांग्रेसको कार्यवाहक सभापति विपीको गिरफ्तारपछि कांग्रेसको कोलकतामा आकस्मिक बैठक भएको थियो र कोइरालासमेतका सम्पूर्ण राजबन्दीको अविलम्ब रिहाइ नभएमा २००४ वैशाख १ देखि नपाल अधिराज्यभर सत्याग्रह घोषणा गरिएको थियो । त्यसअनुसार प्रथम देशव्यापी सत्याग्रह आन्दोलन भएको थियो र नेपालमा हजारौँ युवा पक्राउ परेका थिए ।

जेलमा निकै अस्वस्थ्य भएपछि विपी जेलमुक्त हुनुभएको थियो र उपचार गराएर २००५ साल कार्तिकमा पुनः गुप्तरुपले कृष्णप्रसाद भट्टराई र केदारमान सिंह व्यथितको साथ फर्कदा सिन्धुलीको बाटो गरी काठमाडौँ पैदल पुग्नु भएको थियो र केही सप्ताहको गुप्त बासपछि मार्ग २८ मा काठमाडौँमा पक्रिाउ पर्नु भएको विपी २००६ वैशाख १९ (१ मई १९४९ ई.) देखि अनशन गर्दा २९ औं दिनपछि जेलमुक्त हुनु भएको थियो । त्यसपछि उहाँले नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको एकीकरण गराउनु भई वैरगनिया अधिवेशनको निर्णय अनुसार सत्याग्रहणको बाटो असफल भएपछि नीति परिवर्तन नगरी २००७ सालको सशस्त्र क्रान्ति गर्नु भएको थियो । परिणामतः १०४ वर्षको निरंकुश राणाशासन अन्त्य भएको थियो । विपीको इच्छाविपरीत राणा कांग्रेस संयुक्त संस्कार पठन भएको थियो र विपी गृहमन्त्री हुँदा राणाहरुले खुकुरी दलको नाममा आक्रमण गरेका थिए ।

विपी सामाजिक र आर्थिक सबै क्षेत्रमा परिवर्तन चाहनुहुन्थ्यो । त्यसैले प्रजातन्त्रको स्थापना साथ विर्ता प्रथा उन्मूलन गर्नु भएको थियो । विपीले समाजवाद नारामा होइन कि व्यवहारतः त्यसको पालना गर्न चाहनु भएकैले २०१५ सालको आम निर्वाचनमा दुई तिहाई बहुमत प्राप्त गरेर देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री हुनसाथ उहाँले २०१६ जेठ १४ गते देशवासीको नाममा प्रथम घोषणामै कृषिप्रधान देशको कृषि उन्नतिका लागि सिँचाइ व्यवस्थाको साथै यातायात विकास र शिक्षाको उन्नतिमाथि जोड दिँदै घरेलु उद्योगको विकासमा जोड दिनु भएको थियो ।

त्यसअनुसार, सरकारले काम पनि आरम्भ गरेको थियो तर डेढवर्ष नबित्दै राजा महेन्द्रद्वारा संसद र संसदीय सरकार विघटन गरिएको थियो र प्रधानमन्त्री कोइरालासमेतका मन्त्रीलाई जेल हालिएको थियो । आठ वर्षपछि २०२५ कात्तिक १४ गते विपी र गणेशमान सिंह जेलमुक्त हुनुभएको थियो । लामो जेलजीवनमा बिरामी रहनु भएको विपीपछि भारतमा उपचार गराउन जानुभयो र त्यहाँ पनि स्वस्थ हुन नसकेपछि उपचारार्थ लन्डन जानु भएको थियो । त्यहीँ उहाँले पत्रकारलाई भन्नुभयो, ‘प्रजातन्त्रको पुनःस्थापनाका लागि आवश्यक परेमा सशस्त्र आन्दोलन पनि गरिनेछ ।’

त्यसैक्रममा पटनामा उहाँसित २०२७ फागुन २१ गते मैले भेट्दा सोधेको थिएँ, ‘एकातिर नेपालभित्र विघटित संसदको सभामुख कृष्णप्रसाद भट्टराईजी प्रजातन्त्र पुनःस्थापनाका लागि सत्याग्रह गर्ने भन्नुहुन्छ अर्कोतिर तपार्य सशस्त्र क्रान्तिको कुरा गर्नुहुन्छ ?’ उहाँले भन्नुभएको थियो, ‘हामीलाई प्रजातन्त्र चाहिन्छ, त्यो सत्याग्रहबाटै आउँछ भन्ने सशस्त्र क्रान्ति किन गर्नुपर्ला ? तर, हामीलाई प्रजातन्त्र चाहिएको छ । त्यसपछि उहाँले ओखलढुंगा काण्डमा दर्जनौँ युवालाई होम्नुभयो र त्यसको असफलतापछि २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभई जेल पर्नु भएको थियो । जेलमा निकै बिरामी भएपछि २०३४ जेष्ठ २७ गते उहाँलाई जेलमुक्त गरी राजा वीरन्द्रले उपचारार्थ अमेरिकामा पठाउनु भएको थियो । उपचार गराएर फर्कदा २०३४ कात्तिक २३ गते उहाँलाई पुनः समातियो तर त्यसको भारत र अमेरिकाको सांसदको भयंकर विरोधले फान्गुन १२ गते उहाँलाई मुक्त गरिएको थियो । भारतमा स्वास्थ्योपचार गराएर २०३५ भदौ ४ गते फर्कँदा पञ्चहरुले फेरि विरोध गरे तर उहाँलाई सुरक्षासाथ निवासमा पु¥याइएको थियो उहाँको राष्ट्रिय मेलमिलापको नीतिले देशमा राजनीतिक गतिविधि बढायो र अन्ततः २०३६ सालको छात्र आन्दोलनले राष्ट्रिय जनमत संग्रहको घोषणा गराएर छाड्यो । जनमतसंग्रहमा सत्तापक्षबाट निकै धाधली भयो र बहुदललाई हराइयो ।

२०४६ सालको जनआन्दोलनपछि २०४७ सालको सविधानमा विपीको भावनालाई ध्यान नदिएर पञ्चायती संविधानको भावनाअनुसार जिल्लालाई निर्वाचन क्षेत्र बनाएर मधेश र मधेशीप्रतिको शोषण र भेदभाव जारी रहेकोले नै देशको दुर्गति भयो । निर्वाचन क्षेत्रहरुको पुनर्गठन गर्दा उनको भावनालाई ख्याल गरिएन र रोटी पाउने हकको ग्यारेन्टी दिएको भए माओवादी समस्या उत्पन्न हुने थिएन । विपीले बडो स्पष्टतासाथ भन्नुहुन्थ्यो, ‘समाजवादको नाममा हामी प्राजतन्त्रको हत्या गर्न दिँदैनौँ र प्रजातन्त्रको नाममा हामी शोषणलाई स्वीकार गर्दैनौँ उहाँको उत्तम भावनालाई हृदयंगम गरेको भए आजको स्थिति आउने थिएन । सर्वमान्य नेता गणेशमान सिंहको नाम लिएर जहिले पनि विरोधाभास उत्पन्न गर्नेहरुले गणेशमानजीकै उक्ति राजनीतिमा नैतिकता थपियो भने प्रजातन्त्र हुन्छ, राजनीतिबाट नैतिकता हटाइदिए तानाशाही हुन्छ सम्झिदिएको भए देशको दुर्गति हुने थिएन ।’

तसर्थ, आज हामीले विपीको चिन्तनअनुसारको समाजवादी समाजको स्थापनाका लागि हामीले सत्तासुख त्यागेर लाग्नुपरेको छ । होइन भने भोलि हामीलाई विपीका अनुयायी हौँ भन्ने लाज लाग्नेछ र देश उही तानाशाहको हातमा हुनेछ, जसको विरोधमा विपी जीवनभर लड्नु भएको थियो ।

अतः आज पद र पैसाको अहंमा लागेर होइन कि सहिदहरुको बलिदानबाट पुनःस्थापित लोकतन्त्र को संरक्षणको लागि सबै सचेत नागरिक र पार्टीहरु एक भएर लोकतन्त्रको सुदृढिकरण गर्नुपरेको छ । बहुजाति र बहुभाषी नेपालको हरेक भाषा, धर्म र संस्कृतिको समुचित विकासका लागि भौगोलिक, भाषिक तथा सांस्कृतिक एकताको आधारमा समग्र मधेश एक प्रदेश नभए पनि मधेशमा २ र पहाडमा ५ गरी ७ वटा प्रान्त गठन गर्नुको सट्टा जसरी मधेश र भित्री मधेश गरी चौबीस जिल्लामध्ये ८ जिल्लामा मधेशलाई सीमित पारेर राजनीतिको नाममा धनकुबेर बनेकाका व्यक्तिहरुले देशका बहुसंख्यक मधेशी, आदिवासी, जनजाति र दलितलाई पहिचान मिटाएर लुटिरहेका छन् ।

तसर्थ, यो देश कुनै जाति वा भाषी विशेषका मात्र होइन सम्पूर्ण नेपालका हरेक सार्वभौम नेपालीका समान हुन् भने हरेक भाषा, धर्म र संस्कृतिको विकास हुने गरी बेरोजगार नेपाली युवकलाई रोजगारीको लागि विदेशिनुको सट्टा स्वदेशमै रोजगार उपलब्ध गराई सबैको रोटीको ग्यारेन्टी दिनु परेको छ ।

किनभने २०३७ वैशाख २० गते भएको प्रथम जनमत संग्रहमा सत्तापक्षले बलजफ्ती निर्देशित पञ्चायतलाई विजय घोषित गरी बहुदललाई पराजित घोषित गरेको थियो । त्यसपछि गठित संविधान सुधार आयोगलाई २०३७ असार ७ गते विपीले दिनुभएको सुझावमा उहाँले भन्नुभएको कुरा आज पनि सबैका लागि मननीय छ ।

संविधानमा तराईबासीको भाषा, नागरिकता, सरकारी सेवा एवम् राजनीतिमा उनीहरुको प्रश्नलाई ध्यानमा अवश्य राखियोस् । निर्वाचन क्षेत्रको गठनको आधार जिल्ला नराखी जनसंख्यालाई आधार बनाउने हुनुपर्छ । संशोधित संविधानमा नेपाली जनताको सम्पूर्ण राजनीतिक अधिकारको उपभोग गर्ने हकको साथै रोटी पाउने हकको ग्यारेन्टी पनि हुनुपर्छ । हुन त त्यसको निकै अगाडि २००७ सालको जनक्रान्तिपछि गठित नेपाली कांग्रेसको सरकारको प्रधानमन्त्री तथा नेका सभापति मातृकाप्रसाद कोइरालालाई नेपाली कांग्रेस महोत्तरी जिल्ला समितिको तर्फबाट २००८ पुस १ गते जनकपुरधाममा दिइएको १२ सूत्रीय सुझाव पक्षमा बडो प्रष्टतासाथ मधेश र मधेशीप्रति भइरहेको भेदभाव अन्त्य गरी सबै ठाउँमा समानताका आधारमा मधेशी युवाको नियुक्तिको माग गरिएको थियो ।

सायद त्यसैबेला सत्ताधारीले ध्यान दिएको भए न त तराई कांग्रेस बढ्थ्यो न त सदभावनाको नै जन्म हुन्थ्यो । त्यसैले दमन र शोषण होइन, समानता र स्वतन्त्रता सबैले उपभोग गर्ने वातावरण सिर्जन गर्नु पर्दथियोे । आफ्ना जीवनका तीन चौथाई भाग कष्टमय बिताएर पनि जीवनको अन्तिम कालमा लोकतन्त्रप्रतिको प्रतिवद्धता कहिले नछाड्नु भएका महान क्रान्तिकारी जननायक विपी कोइरालाको ४१ औँ पुण्यतिथिको अवसरमा सर्वप्रथम उहाँको स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दछु । निधनको ४१ वर्ष भइसकेको भए पनि उहाँका उपदेशले आज पनि हामी नेपालीलाई दिशा–निर्देश गरिरहेका छन् । हुन त स्वार्थमा हाम्रा सत्ताधारीहरुले उहाँलाई बिर्सिने गरेकोले नै आज हाम्रो देशमा अनेक विकृति र विसंगति देखापर्न थालेको छ । अतः विपी चिन्तनका प्रजातान्त्रिक समाजवाद स्थापनाको लागि हामी सवैले इमान्दार भएर बढ्नु नै उँहाप्रतिको सच्चा श्रद्धाञ्जली हुने छ ।

rajeshwarnepali7@gmail.com

२०४६ सालको जनआन्दोलनपछि २०४७ सालको सविधानमा विपीको भावनालाई ध्यान नदिएर पञ्चायती संविधानको भावनाअनुसार जिल्लालाई निर्वाचन क्षेत्र बनाएर मधेश र मधेशीप्रतिको शोषण र भेदभाव जारी रहेकोले नै देशको दुर्गति भयो । निर्वाचन क्षेत्रहरुको पुनर्गठन गर्दा उनको भावनालाई ख्याल गरिएन र रोटी पाउने हकको ग्यारेन्टी दिएको भए माओवादी समस्या उत्पन्न हुने थिएन । विपीले बडो स्पष्टतासाथ भन्नुहुन्थ्यो, ‘समाजवादको नाममा हामी प्राजतन्त्रको हत्या गर्न दिँदैनौँ र प्रजातन्त्रको नाममा हामी शोषणलाई स्वीकार गर्दैनौँ उहाँको उत्तम भावनालाई हृदयंगम गरेको भए आजको स्थिति आउने थिएन । सर्वमान्य नेता गणेशमान सिंहको नाम लिएर जहिले पनि विरोधाभास उत्पन्न गर्नेहरुले गणेशमानजीकै उक्ति राजनीतिमा नैतिकता थपियो भने प्रजातन्त्र हुन्छ, राजनीतिबाट नैतिकता हटाइदिए तानाशाही हुन्छ सम्झिदिएको भए देशको दुर्गति हुने थिएन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button