
सञ्जय मिश्रा
रौतहट ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले देशको ठूला भनिएका मिडियाले सिङ्गो एमाले पार्टीको विरुद्दमा भ्रम छरिरहेकाे टिप्पणी गरेका छन् ।
देवाही गोनाहीस्थित विल्लास्तरीय प्रचारप्रसार भेलालाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । एमाले जिल्ला इन्चार्जसमेत रहेका नेता पौडेलले भने, ‘केही राष्ट्रिय मिडिया निर्वाचनमा कांग्रेस गठबन्धनसँग मिलेर एमालेविरुद्द लागे र आगामी निर्वाचनको लागि अहिलेदेखि षड्यन्त्रमा लागेका छन् ।’
समाजबाद र पूँजिबादको विश्लेषण गर्दै मात्र १ मुठ्ठी अर्थात १ अरब भन्दा कम संख्या भएका पूँजीबादीहरु भ्रमकै खेतीको भरमा संसारका ६ अरब समाजबादीमाथि राज गरिरहेको उनले उल्लेख गरे ।
त्यसैगरी, नेता पौडेलले देशका केही राष्ट्रिय मिडिया आफ्नो व्यक्तिगत फाइदाको लागि कसैकाे चरित्र बनाउने, कसैकाे बिगार्ने, कसैलाई माथि उठाउने, कसैलाई तल देखाउने किसिमको मात्र सामाचार लेख्ने गरेको आरोप लगाए ।
उनले भने, ‘नेकपा फुटेपछि पहिले माधव नेपाल अल्गिए, रौतहटको हकमा प्रभू साहले पार्टी छोडे, गत संसदीय निर्वाचनमा जिल्लाको दुईवटा निर्वाचन क्षेत्रमा मात्र प्रतिनिधिसभाको एमालेको उमेदवार हुँदा पनि समानुपातिक तर्फ ३४ हजार मत आउँनु ठूलो उपलब्धी हाे ।’
पार्टीको विचारको आधारमा रौतहटका जनता संगठित भएको उल्लेख गर्दै गत निर्वाचन पछी बिग्रेको पार्टीका अबस्था सामान्य भएर केहीसमय पछि रौतहट पुरानै लयमा फर्किने उनले विश्वास व्यक्त गरे । एमाले प्रचारप्रसार विभाग र प्रेस चौतारीबीच सहकार्यको खाँचो रहेको नेता पौडेलले औँल्याए ।
कार्यक्रममा मधेश प्रदेश प्रचार संयोजक अरबिन्द कुमार सिंहले
हाल कम्युनिष्ट पार्टीको स्कुलिङ बन्द रहेको तथा नेता कार्यकर्ता तामझाम देखाएर ठूला नेताको चाकरीमा अल्झेको आरोप लगाए।
त्यसैगरी, पार्टी केन्द्रीय सदस्य उद्वव रेग्मी, अजयकुमार गुप्ता, केन्द्रीय लेखा आयोग सदस्य राजकिशोर यादव, जिल्ला अध्यक्ष सच्चिदानन्द साह, प्रेस चौतारीका केन्द्रीय सदस्य सञ्जय मिश्रा, प्रदेश सदस्य बिना राउत, रामप्रवेश बैठा, प्रचार विभाग प्रमुख रूपेश पटेललगायतले रौतहट कम्युनष्टको उर्वर भूमि भएको जिकीर गर्दै एमाले पार्टीको राष्ट्रिय राजनीतिदेखि, जनजीविका उत्पादन, विकास निर्माणका क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको बताएका थिए ।

कार्यक्रममा देवाही गोनाहीका मेयर प्रेमलाल साह, उपमेयर परणिया पटेल, पार्टी नगर अध्यक्ष ब्रह्मदेव पटेल, प्रेस चौतारीका जिल्ला अध्यक्ष उत्तम कुमार उपाध्यायलगायतको जिल्लाका दर्जनौ नेता कार्यकर्ताको सहभागिता थियो।






