
मधेशदृष्टि
जनकपुरधाम ।
राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले चीनले नेपाललाई ऋणजालमा फसाउने रणनीति बनाइरहेको बताएका छन् ।
अभियानले गरेको ‘नेपालप्रति चिनियाँ अभ्यास र असर’ विचारगोष्ठीमा उनले चीनले नेपाललाई ऋणजालमा फसाइ श्रीलंका बनाउने रणनीति बनाइरहेको बताए । उनले चीनले पछिल्लो समय नेपालमाथि विभिन्न कोणबाट आँखा लगाइरहेको टिप्पणी गरे । उनले भने, ‘उत्तरतिरबाट नेपाली भूमि क्रमशः अतिक्रमण भइरहेको छ, चीनले देशभित्र राजनीतिक हस्तक्षेप गर्नुका साथै अघोषित नकाबन्दीलाई निरन्तरता दिइरहेको छ ।’
उनले नेपाललाई चीनले तिब्बत बनाउने षड्यंन्त्र गरिरहेको खुलासा गरे । उनले भने, ‘चीनको तिब्बतीकरण गर्ने षड्यंन्त्रको विरोधमा अब सम्पूर्ण नेपालीले एकजुट भई आवाज उठाउने बेला आएको छ ।’ त्यसैगरी गोष्ठीमा साहित्यविद् सुदर्शन लाल कर्णले नेपाललाई श्रीलंका बनाउने रणनीतिमा चीन लागेको आरोप लगाए । उनले भने, ‘चीनले नेपाललाई श्रीलंका बनाउन खोजिरहेको छ, चीनले पोखरा विमानस्थलमा लगानी गरेर विमानस्थल कब्जामा लिने षड्यन्त्र गरिरहेको छ ।’ उनले चीनले बिआरआइमार्फत नेपाललाई ऋणजालमा पार्न विभिन्न कोणबाट कसरत गरिरहेको जिकिर गरे ।
उनले भने, ‘चीनको विस्तारवादी नीति रोक्नु पर्छ, नेपाललाई चिनियाँ ऋणको जालमा फस्न दिनु हुँदैन ।’ उनले देश आर्थिक संकटमा फसेका बेला कैलाश मानसरोवर यात्रा गराउने कम्पनीसँग चीनले ८० लाख रूपैयाँ धरौटी माग्नु संकटका बेला घाँटी रेटेको सावित भएको बताए । कैलाश भ्रमण गर्न आउने पर्यटकलाई अनावश्यक यातना दिई चीनले नेपालको पर्यटन व्यवसाय ध्वस्त पारी आर्थिक समस्यामा पारेर त्यसको पÞmायदा उठाउन खोजेको आरोप उनले लगाए ।
संविधानसभा सदस्य विपी यादवले चीनको विस्तारवादी नीतिलाई सबै मिलेर नरोकेसम्म नेपालको विकास सम्भव नहुने जिकिर गरे ।

उनले भने, ‘कहिले चीनका लागि नेपाली राजदूतको ओहोदा प्रमाण पत्र नबुझिदिने त कहिले काठमाडौँमा रहेको चिनियाँ दूतावासमार्फत चीनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्नेलगायतको काम गरिरहेको छ ।’
हिन्दी अभियन्ता रमन पाण्डेयले सनातन संस्कृति नेपालको आत्मा भएको बताए । उनले भने, ‘समाजमा चलिरहेको जातीय द्वन्द समाधान गर्न राष्ट्रिय एकताको सूत्र हिन्दू संस्कृति नै हो, त्यसकारण देशलाई संघीय हिन्दू गणतन्त्र कायम गरी अघि बढ्नु आवश्यक छ ।’
कार्यक्रममा धर्मिक अभियन्ता भोगेन्द्र लाल कर्ण, मारवाड़ी सेवा समितिका अध्यक्ष निर्मल चौधरी, डा. वीरेन्द्र कुमार, प्राध्यापक बालकेश्वर ठाकुर, वन्दना पाण्डेयलगायतले चीनले नेपाललाई ऋणजालमा फसाई श्रीलंका बनाउन खोजिरहेको भन्दै सतर्क हुन जोड दिए ।







