
मधेशदृष्टि
रौतहट ।
मधेश प्रदेशका सांसद तथा पूर्वमन्त्री केशव राय चौधरीको नेतृत्वमा एकैपटक ६ योजनाको काम भइरहेका छ ।
रौतहट क्षेत्र ३ ‘क’ बाट निर्वाचित चौधरीको संसदीय विकास कोषको रकममध्ये १ करोड १० लाख रुपैयाँको लागतमा योजना अघि बढेको हो ।
२५ लाख रुपैयाँको लागतमा गुजरा नगरपालिका–१ कोठीयारको मूल सडक निर्माण तथा मर्मत सुरू भएको छ । २५ लाख रुपैयाँको लागतमा गुजरा–७ वीरेन्द्र आधारभूत विद्यालय औरहिडिह परसवाको कम्पाउन्ड वाल तथा घेराबेरा, २० लाख रुपैयाँको लागतमा फतुवा विजयपुर–९ लक्षमिनीया गाउँको मूलबाटो मर्मत भइरहेको छ ।
त्यसैगरी, १० लाख रुपैयाँको लागतमा गुजरा–६ बेदौलीमा बाटो निर्माण र ३० लाख रुपैयाँको लागतमा खतवहियामा नाला तथा बाटो निर्माणको काम भइरहेको चौधरीले बताए । छुट्टाछट्टै कार्यक्रमको आयोजना गरी प्रदेश सांसद चौधरीले योजनाको शिलान्यास गरेका छन् । संसदीय विकास कोषको रकमबाट हुने अन्य केही कामबारे छलफल, निर्णय लगायतको प्रक्रियामा रहेको बताइएको छ ।
आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्नु पहिलो प्राथमिकतामा रहेको चौधरीले बताए । ‘शिक्षा, स्वास्थ्य र सडक सञ्जाललाई ग्राह्यता दिएको छु,’ प्रदेश सांसद चौधरीले भने । संसदीय निर्वाचनमा प्रभु साहको स्वतन्त्र टिमबाट उम्मेदवारी दिएर विजयी भएका उनी निर्वाचनपछि नेकपा एमालेमा प्रवेश गरेका थिए ।






