‘पटवारी’ले मालिक ठग्न खोज्दा साथीको लाइसेन्स चट्

[mashshare]

पटवारी अर्थात् लेखनदास सुचिन्द्र प्रसाद यादवले पेस गरेको कपाली तमसुकमा साक्षी बसेका अर्का लेखनदास गौर–१२ का मिश्रीलाल महतोलाई १ लाख २५ हजार रुपैयाँ जरिबाना र उनको प्रमाणपत्रसमेत रद्द आदेश भएको छ ।

सञ्जय मिश्रा
रौतहट ।

पारिवारिक डक्टर, पारिवारिक कानुनी सल्लाहकार वकिलकै बराबर मानसम्मान दिइन्छ पारिवारिक पटवारी अर्थात लेखनदासलाई पनि । जुनसुकै ठउँमा बसोबास गर्ने मानिस घरपरिवारमा कोही बिरामी हुँदा आफ्ना नजिक मानिने पारिवारिक डाक्टरसँग, कानुनी समस्या भए पारिवारिक वकिलसँग सल्लाह लिन्छन् । मालपोत, नापी, भूमिसुधारलगायत कार्यालयसँग सरोकारका विषयमा नजिकको सधैँ सम्बन्ध हुने पारिवारिक पटवारीसँग सरसल्लाह गरिन्छ ।
कार्यालय मातहतका कुनै कागजात तयार गर्नुपरे सम्बन्धित सम्पूर्ण कागजात पटवारी अर्थात् लेखनदासलाई नै सुम्पिइन्छ । लेखनदासले आवश्यकता अथवा सहुलियतअनुसार लेखपढ गरी कागजात तयार गर्दछन् । तर रौतहटमा एकजना लेखनदासले मोहीको वारेसनामालाई नै १५ लाख रुपैयाँको कपाली तमसुक बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको घटना बाहिरिएको छ ।

साबिक मुडवलवा–६, हाल गौर नगरपालिका–१२ घर भई गौरबजारमै लेखापढी व्यवसाय गर्दैआएका लेखनदास सुचिन्द्र प्रसाद यादवले मोहीधनीको लिफालाई १५ लाख रुपैयाँको तमसुक बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरे । १५ लाख रुपैयाँको मुद्दा गर्दा न्यायाधीशको सुझबुझ तथा प्रमाणका आधारमा तमसुक गलत ठहर गर्दै लेखनदास यादवले अदालतमा राखेको धरौटीसमेत जफत गरिएको छ ।

घटनाविवरण अनुसार कटहरिया–४ का रामविलास दासकी पत्नी सम्झना दासको नाममा दर्ता कायम कटहरिया–५ को ७ कठ्ठा १० धुर जग्गाको मोहीधनी सोही वडाका रामचन्द्र महतो कोइरी थिए । महतोले मोहीहकबापतको जग्गा छुट्याउन लेखनदास सूचिन्द्रमार्फत भूमिसुधार कार्यालय गौरमा उजुरी दिए । जग्गाधनी दास र मोहीधनी कोइरीबीच मुद्दा चलिरहेकै अवस्थामा २०७१ वैशाखमा मोहीधनी ६० वर्षीय महतोको हृदयघातले निधन भयो ।

बुबाको निधनपछि छोरा सन्तोषले मोहीहक आफ्नो नाममा नामसारी गराए । सोही मोहीहकबापतको जगा छुट्याउन भूमिसुधार कार्यालय गौरमा मुद्दा चलिरहेकै अवस्थामा सन्तोषलाई बाहिर जानुपर्ने भयो र लेखनदास यादवलाई वारेसनामा दिए । लेखनदास यादवले सोही वारेसनामाको लिखत लिफालाई १५ लाख रुपैयाँको कपाली तमसुक बनाएर राखे । सोही तमसुकका आधारमा लेखनदास यादवले २०७१ कात्तिक २८ गते साँवाब्याजसमेत गरी १८ लाख ७६ हजार ६ सय ६७ रुपैयाँ पाउँ भनी मोहीधनी सन्तोषलाई जिल्ला अदालत गौरमा मुद्दा हाले ।

मुद्दामा सन्तोषका तर्फबाट अधिवक्ता साबिर हुसैन, महरुल हक, शैलेन्द्र कुमार बर्मा र शिवबहादुर कोइराला तथा यादवका तर्फबाट अधिवक्ता दिलीप कोइराला, शान्ति प्रसाद सुवेदी र रामदरेस प्रसादले बहस गरे । लेखनदासले अदालतमा पेस गरेको तमसुकको विधि विज्ञान काठमाडौँबाट जाँच, लेखनदासको बैंक खाताको अवस्था तथा प्रमाणका आधारमा जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको इजलासले कपाली तमसुकलाई गलत ठहर गरेको छ । साथै, लेखनदास सुचिन्द्र यादवले मुद्दा गर्दा राखेको धरौटी २२ हजार ५ सय ३६ रुपैयाँ जफत गर्ने आदेश दिएको छ । लेखनदास यादवले पेस गरेको कपाली तमसुकमा साक्षी बसेका अर्का लेखनदास गौर–१२ का मिश्रीलाल महतोलाई १ लाख २५ हजार रुपैयाँ जरिबाना र उनको प्रमाणपत्रसमेत रद्द गरेको छ ।

यादवले मुद्दा गर्दा रोक्का गराएको सन्तोषको कटहरिया–५ को कित्ता नम्बर २३११ को २ कठ्ठा जग्गासमेत न्यायाधीश पन्तको आदेशले फुकुवा भएको छ । लेखनदास यादव लामो समयदेखि लेखापढी गर्दै कैयौँलाई नक्कली तमसुकका आधारमा मोटो रकम ठगी गरिसकेको आरोपी हुन् । पारिवारिक सदस्य सरह मानिएका लेखनदासले वारेसनामालाई कपाली तमसुक बनाएर सेवाग्राहीमाथि लाखौँको मुद्दा गर्छ भने कुनै पनि सेवाग्राहीले लेखनदासमाथि कसरी विश्वास गर्ने ? प्रश्न खडा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button