उपमेयर नै ‘भारतीय’ नागरिक, हेडसरको तीनवटा नागरिकता !

[mashshare]

विनय कर्ण
सप्तरी ।

डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र पति महेन्द्रकुमार यादवको नागरिकता छानबिन गर्न जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको नाममा उच्च अदालतले परमादेश जारी गरेको छ ।

कीर्ते गरी नेपाली नागरिकता लिएकाले कारबाही प्रक्रिया अघि बढाउन उच्च अदालत जनकपुर, राजविराज इजलासमा एक महिनाअघि दायर भएको मुद्दामा यस्तो आदेश भएको हो । जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयलाई विपक्षी बनाएर दायर भएको मुद्दामा शुक्रबार मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीको इजलासले परमादेश जारी गरेको छ ।

डाक्नेश्वरी नगरपालिका–४ का ३५ वर्षीय कृष्णकुमार यादवले राजविराज नगरपालिका–९ का ५७ वर्षीय परमेश्वर यादवमार्फत मुद्दा दायर गरेका थिए । यादवले २०७९ साउनको दोस्रो साता जिल्ला प्रशासन कार्यालयमा प्रमाणसहित उपमेयर मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्य अन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौल निवासी रहेको उजुरी दिँदा कुनै सुनुवाई नभएपछि अदालत गुहार्नु परेको हो ।

विधानसभा निर्वाचन क्षेत्र विहार निर्वाचक नामावली भाग सं.५१ अनुसार दुवै भारतीय मूलका स्थायी नागरिक रहे पनि झुठो विवरणका आधारमा नेपाली नागरिकता लिएको उजुरीमा उल्लेख छ । साविकको सप्तरी, औरही–३ (हाल डाक्नेश्वरी नगरपालिका–६) बाट झुठो विवरणका आधारमा नागरिकता प्रमाण पत्र लिई मीराले सार्वजनिक पद धारण गरेको र न्यायिक समिति संयोजक बनेर पदीय दायित्व दुरुपयोग गरेको उजुरीमा भनिएको छ ।

मीरा, पति महेन्द्र र छोरा इन्द्रजीतको नागरिकता प्रमाण पत्र रद्द गर्न उजुरीमार्फत माग गरिएको थियो । भारतको निर्वाचन नामावली २०२२ मा बिहारको क्रम संख्या ६३२ मा महेन्द्र र ६३३ मा मीराको नाम रहेको छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मीराले पेश गरेको शपथ–पत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाण उजुरीमा संलग्न छ ।

उजुरीपछि उपमेयरका पति महेन्द्रले २ बिघा ६ धुर जग्गा बेचेका छन् ।

एउटा मान्छे कति ठाउँमा जन्मिन्छ ? अनि एउटा मान्छेको नागरिकता कति वटा हुन्छ ? दुवै प्रश्नको जवाफ सजिलो छ, ‘एक ठाउँमा जन्मन्छ, एउटा नागरिकता लिन्छ ।’ तर सिरहाको चन्द्र उच्च माध्यमिक विद्यालयका ‘हेडसर’ अर्थात् प्रधानाध्यापक मधुसुदन कर्णले नेपाल र भारतबाट गरी तीन वटा नागरिकता लिएको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाबाट उनले दुई ठाउँमा जन्मस्थान देखाएर दुईपटक लिइएको पाइएको छ ।

हेडसरको तीनवटा नागरिकता !
मधेशदृष्टि
सिरहा ।

मधुसुदन कर्ण

उनले चन्द्रोदयपुर–२ जन्मस्थान उल्लेख गरेर २०४२ साउन २० गते नागरिकता लिएका थिए । नागरिकतामा जन्म मिति २०२१ साल लेखिएको छ । उनैले जिल्ला प्रशासन कार्यालय सिरहाबाट लिएको अर्को नागरिकतामा जन्ममिति २०२८ जेठ १ उल्लेख छ । जन्मस्थान विष्णुपुर लेखिएको छ । दुवै नागरिकतामा बाबुको नाम तेजनारायण लाल कर्ण उल्लेख छ ।

सिरहाबाट दुई पटक नागरिकता लिएका कर्णले छिमेकी देश भारतबाट पनि नागरिकता लिन भ्याएका छन् । भारत निर्वाचन आयोगको मतदाता सूचीमा उनले बाबुको नाम तेजनारायण लाल कर्ण नै उल्लेख छ । कर्णको भारतको पञ्जाव नेशनल बैंकमा भारतीय रुपैयाँ ३० लाख बचत रहेको बताए । उनले भारतीय नागरिकता भने नरहेको जिकिर गरे । तर उनको मतदाता सूचीले नागरिकता रहेको पुष्टि हुन्छ ।

रैथाने एकता परिषद्ले उनको नागरिकताबारे तत्काल छानबिन गर्न माग गरेको छ । रैथाने एकता परिषद्का लहान नगर कमिटीका संयोजक भाग्यश्वर चौधरीले दुवै देशको नागरिकता लिएको विषयमा छानबिन माग गर्दै जिल्ला प्रशासन कार्यालय सिरहामा उजुरी दिइएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button