

केहीदिन यता समाचारहरुको हेडलाइन र सामाजिक सञ्जालमा छाइरहेका व्यक्ति हुन् उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश ।’ नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिएसँगै विभिन्न ठूला पार्टीका वरिष्ठ नेताहरु तथा कर्मचारी पक्राउ परेपछि यिनीसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चर्चा चुलिएको छ । सन् १९५९ मा गोरखाको जौबारीमा जन्मिएका श्रेष्ठ बेलाबेला विवादमा तानिन्छन् ।
केही समयअघि केपी ओलीले प्रतिनीधि सभा विघटन गर्दा उनको कदमलाई असंवैधानिक एवम् प्रतिगामी मान्दै ओलीविरुद्ध विरोधसभामा बोलिरहेका बेला चर्चित पत्रकार ऋषि धमलालाई ‘चुप लाग्नुस्’ भन्दै आक्रोशमा कराएको भिडियो धेरै भाइरल भएको थियो । जसका कारणले धेरै मिम तथा ट्रोल सो क्लिप जोडेर बनाइएको थियो । त्यस्तै एक पार्टीगत सभामा आफ्नै पार्टीको अर्का नेतासँग बस्ने कुर्सीको निहुँमा यो मेरो हो भन्दै आक्रोश पोखिरहेको भिडियो पनि सामाजिक सञ्जालमा मसला थप्ने अर्को माध्यम बन्यो । कसैको प्रलोभनमा नपर्ने, भ्रष्टाचारीलाई नछाड्ने र राजनीतिक हस्तक्षेपमा नपारी प्रहरीलाई स्वतन्त्र काम गर्न दिनुपर्छ भन्ने वक्तव्य दिने गृहमन्त्रीको २ करोड ५० लाख रुपैयाँको अडियो बाहिरिएपछि त उनी झन बढी विवादमा मुछिए । आफूले आफूलाई राजनीतिक सन्यासी मान्ने नेताको हर्कतले आफ्नै समर्थकहरु पनि छक्कै परेका छन् ।
केहीदिनअघि वैशाख १ गते काठमाडौँमा सामुहिक धम्यपूजामा सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले आफू राजनीतिक सन्यासी हुँ भन्ने मन्तव्य व्यक्त गरेका थिए । आफ्नो निजी जमिन, सम्पत्ति नरहेको र अविवाहित रहेको तर्क गरेका उनले सन्यासी राजनीतिमा आउनुप¥यो र राजनीति गर्नेहरु पनि सन्यासी हुनुपर्यो भन्ने विचारधारा राखेका थिए । यस्ता कुरा गहिरिएर सोच्दा अर्थपूर्ण त लाग्छ तर यो सबै नेपाली राजनीतिमा सम्भव छ भन्ने छैन । गृहमन्त्री श्रेष्ठको पूर्व स्वकीय सचिव सुशन कर्माचार्यको भूमिका र हर्कत हेर्दा श्रेष्ठको अभिव्यक्ति अभिव्यक्तिमै सीमित देखिन्छ । गृहमन्त्री श्रेष्ठसँग जोडिएपछि कर्माचार्यको नाममा बागमती अपार्टमेन्टमा तीनवटा फ्लाट, तीनवटा वटा हाइड्रोमा लगानी र कर्माचार्य संस्थापक अध्यक्ष रहेको विभिन्न संस्थामा स्रोत नखुलेको लगानी रहेको पाइएको छ । कर्माचार्यको सम्पत्ति विवरण अनलाइन न्युज७ मा देखाइएको थियो । अनलाइन न्युज ७ सूचना विभागमा दर्ता भएको एक अनलाइन पत्रिका हो । अझै पनि युट्युब र सामाजिक सञ्जालमा सो विषयमा धेरै सामग्रीहरु हेर्न पाइन्छ ।
दिवंगत कमानसिंह लामा (नेपाल कम्युनिष्ट पार्टी सदस्य, पूर्व सांसद) र गृहमन्त्री प्रकाशको बाहिरिएको अडियो क्लिपको २ करोड ५० लाख लेनदेनमा पनि सुशन कर्माचार्यको हात रहेको लामाकी बुहारी र उनी निकटहरुको भनाइ छ । तत्पश्चात् कर्माचार्य तत्कालीन नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्ड भेट्न पुगेकी थिइन् । त्यहीक्रममा उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र वर्तमान प्रधानमन्त्री प्रचण्डलाई आफ्नो अपार्टमेन्टमा खाना खुवाएको फोटो सामाजिक सञ्जालहरुमा बाहिरिएको थियो । सुशन कर्माचार्य सामान्य आर्थिक स्थिति भएको परिवारबाट आएकी महिला हुन् । नारायणकाजी श्रेष्ठसँग जोडिएपछि बदलिएको उनको आर्थिक हैसियत अचम्मलाग्दो नै छ । विभिन्न संस्थामा ठूलो लगानी र उनको आर्थिक स्थिति रातारात उच्च वृद्धि हुनुलाई कसरी बुझ्ने भन्ने कुरा जनमानसमा उत्सुकताको विषय बनेको छ ।
जुन कुरा सीधा नारायणकाजी श्रेष्ठसँग जोडिन्छ । स्वर्गीय कमानसिंह लामाले श्रेष्ठविरुद्ध अनैतिक आचरणको अभियोग लगाएर पार्टी सचिवालयमा केही अडियो र प्रमाणसहित निवेदन पेश गरेका थिए तर दुर्भाग्यवस कोरोनाको महामारीका बेला कोरोना संक्रमणले लामाको निधन भएसँगै सम्पूर्ण रहस्य गुमनाम भयो । यदि कमानसिंह जीवित भएका भए आजको कहानी छुट्टै हुनसक्थ्यो । पछि उनकी श्रीमती ईन्द्रमाया तामाङले याम्बलिङ हाइड्रोपावरका तर्फबाट प्रेस विज्ञप्ति निकालेकी थिइन् । जसमा गृहमन्त्रीलाई चोख्याइको पाइएको छ ।
काठमाडौँका मेयर बालेन साहले काठमाडौँको विषयमा पटकपटक वार्ता गर्न खोज्दा वार्ता गर्न नमानेका श्रेष्ठले पछि बालेन साहले सिंहदरबारभित्रको फोहोर नउठाएपछि अशोभनीय शैलीमा विभिन्न टेलिभिजनमा अन्तर्वार्ता दिएको भिडियो युटुब तथा सामाजिक सञ्जालमा प्रशस्तै भेट्न सकिन्छ । गृहमन्त्रीजस्तो गरिमामय पदमा बसेर कसैलाई त्यस्तो शैलीमा आलोचना गर्न पटक्कै सुहाँउदैन तर पनि यसप्रति उनको ध्यान गएको देखिँदैन । उनको यस्तो क्रियाकलापले गर्दा जनमासमा विरोधाभास उत्पन्न हुन्छ ।
पहिलो संविधानसभा निर्वाचनपूर्व भूमिगत जीवन बिताइरहेका नारायणकाजी श्रेष्ठ पहिलो संविधान सभामा मनोनीत २६ सांसदमध्ये एक हुन् । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुवासचन्द्र ठकुरीसँग पराजित भएका श्रेष्ठ २०७४ को प्रतिनिधि सभा निर्वाचनमा गोरखामा बाबुराम भट्टराईसँग ६ हजार ८ सय ७४ मतान्तरले पराजित भए । नेकपा एमालेको समर्थनमा माओवादीबाट उम्मेदवारी दिएका उनले बाबुराम भट्टराईविरुद्द उम्मेदवारी दिएका थिए । तत्कालीन समयमा बाबुराम भट्टराईलाई नेपाली कांग्रेसले चुनावमा समर्थन गरेको थियो । पटकपटक चुनावमा पराजित भएका श्रेष्ठ राष्ट्रिय सभा सदस्य हुन् ।
जनयुद्द भन्दा बाहिरबाट आएका श्रेष्ठ माओवादीमा सबैभन्दा बढी अवसर पाउने नेता र पार्टीमा कब्जा जमाउने नेता हुन् । नेतृत्वमा प्रचण्डले पटकपटक पत्याए पनि माओवादीका अन्य नेताले उनलाई पत्याउदैनन् तर पनि पटकपटक फाइदा र अवसर लिने व्यक्तिमा पर्छन् । जनमतबाट कहिले नजितेका उनी पटकपटक सांसद तथा मन्त्री पनि भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री, परराष्ट्र मन्त्री भइसकेका उनी हाल गृहमन्त्री भएका छन्।
नेपालको चौतर्फी विकास नहुनुको मुख्य कारण भ्रष्टाचार र कर्मचारीतन्त्र हो । मेरो एकजना साथी सरकारी कर्मचारी काठमाडौँ बाहिरबाट सरुवा भएर काठमाडौँ सिंहदरबारमा आउनुभयो तर उहाँलाई त्यहाँका कर्मचारीले काम गर्न नै दिन चाहेनन् । आजभोलि, यो–त्यो भनेर ३–४ महिना झुलाउने कार्य भयो । त्यसको अर्थ त्यहाँको कर्मचारीको नियतमै खोट देखिएको थियो । भाग्यबस साथीको परिचित माछे त्यहाँको माथिल्लो तहको कर्मचारी साथी रहेछन् । यस्तै, सिलसिलामा करिब ४ महिनापछि उहाँले नियुक्ति हात पार्नु भयो । यही घटनाले प्रष्ट हुन्छ, नेपालको हरेक क्षेत्र कसरी भ्रष्ट छ भन्ने । एउटा सामान्य, इमानदार कर्मचारीले आफ्नो अधिकारले पाएको सरुवाको नियुक्तिका लागी पनि घुस दिनुपर्ने बिडम्बना हाम्रो देशमा छ । विभिन्न सरकारी संस्था कतिसम्मको भ्रष्ट छन् भन्ने यसैबाट प्रमाणित हुन्छ ।
जतिसुकै प्रभावशाली व्यक्ति होस् या नेता वा कर्मचारी किन नहोस् आममानिस भ्रष्टाचारीलाई कुनै सहानुभूति देखाउँदैनन् । उदाहरणका लागि पूर्वमन्त्री एवम् एमालेको वरिष्ठ नेता स्व.रवीन्द्र अधिकारीलाई वाइडबडी घोटालाको आरोप लागेको थियो । त्यसको केही समयपछि हवाई दुर्घटनामा परी उनको असामयिक निधन भयो र सो समयमा उनको आत्माको चिरशान्तिको कामना र शोकाकुल परिवारप्रति समवेदनाको सन्देश भन्दा पनि सामाजिक सञ्जालमा अमानवीय आलोचना, गालीगलौजको शब्द बढी देखिए । सो समय अधिकारीले पोखराको भौतिक विकासमा पु¥याएको योगदान सबैले बिर्सिए । सन् २०१३ नेपालमा हुँदा ग्रान्ड होटलमा एउटा युवा कार्यक्रम ‘राष्ट्रिय संवाद’ मा प्रत्यक्ष भेटेको थिएँ र करिब ६–७ मिनेट कुराकानी भयो । त्यससमय अधिकारी एमालेका एकदमै प्रभावशाली नेता थिए, समग्रमा सबैलाई राम्रो लाग्ने व्यक्तित्व थिए । मानिसले भ्रष्टाचारीलाई धेरै घृणा गरेको ज्वलन्त उदाहरण हुन् स्व.रवीन्द्र अधिकारी ।
नारायणकाजी श्रेष्ठ गृहमन्त्री बनेपश्चात केही राम्रा काम गरेका छन् । जसको मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ । काठमाडौँस्थित बग्गीखानाको अनुगमन, एएसी मेन्स प्रिमिएर कपको विजेता हुँदै एसिया कप २०२३ मा छनौट भएको अवसरमा नेपाली क्रिकेट टिमलाई मैदानमै गएर समर्थनसहित बधाई तथा सम्मान, अनुचित लेनदेन (मिटर ब्याज ) सम्बन्धी जाँचबुझ आयोग केन्द्रीय कार्यालय जनकपुरधाम, धनुषामा कार्यालय उद्घाटन कार्यक्रम गरेका दिनमा पनि पीडितको समर्थनमा सम्बोधन गरेको कार्यहरु पाइएको छ । करिब ९–१० वर्षअगाडि गृहमन्त्री प्रकाशलाई एकपटक प्रत्यक्ष देख्ने र मेरो गाउँका आममानिससँग अन्तरक्रिया गरिरहेको देखेको थिएँ । त्यो समयमा अहिलेजस्तो मोबाइल र सामाजिक सञ्जालको राम्रो व्यवस्था थिएन ।
उनलाई एक असल र नैतिकवान नेताका रुपमा हेरिन्थ्यो । उनी साकाहारी र अविवाहित हुन् भनेर खुबै प्रशंसा हुन्थ्यो । गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो कार्यकालभरि जनताको हितमा काम गरुन् भन्ने शुभेच्छा सबैको छ । परिआएको खण्डमा स्वयम् आफ्नो, आफ्नो स्वकीय सचिव होस् या आफ्ना पार्टीका नेताहरुको पनि फाइल खोल्न सक्ने वातावरण सिर्जना हुनुसकोस् । हामी सबै आममानिसको चाहना यही हो । गृहमन्त्रीलाई सफल कार्यकालको शुभकामना ।






