
मधेशदृष्टि
वीरगंज ।
मितिः २०८० जेठ ४ गते
समयः बिहान
स्थानः मुनलाइट मावि, वीरगंज महानगर–५ कुम्हाल टोल
कार्यक्रमः नयाँ पुस्तासँग मेयर
वीरगंज महानगरका प्रमुख राजेशमान सिंह बिहानैदेखि जनताको काममा सरिक हुन्छन् । अनेक कार्यक्रममा आतिथ्यता गर्नु पछ । भ्याइनभ्याइ नै हुन्छ महानगरका मेयरलाई । तर बिहीबार भने दैनिक सूचीमै नभएको कार्यक्रममा बसे उनी । एउटा कार्यक्रममा पुग्दा अर्को पनि कार्यक्रमजस्तै माहौल बन्यो कुम्हाल टोलमा । र, त्यहाँ उनले बिताएको समयले उनलाई त ऊर्जा भयो नै, उनका कुरा सुन्नेहरु पनि मेयर भेटेर मनका कुरा राख्न पाइयो भन्दै खुशी भएर घर फर्किए ।
विद्यालयमा कार्यक्रम भइरहँदा टिफिन बोकेर आइरहेका आमाहरुसँग मेयर सिंहलाई भलाकुसारीको रुची भयो । स्थानीय मुनलाइट माविमा ‘नयाँ पुस्तासँग मेयर’ कार्यक्रममा सरिक भइरहँदा उनलाई आमाहरुसँग पनि अन्तरक्रिया गर्न मन लाग्यो, मनासिव लाग्यो । उसो त विद्यालयमा मेयर आएका छन् भन्ने थाहा भएपछि बालबालिका मात्र होइन, आमा, हजुरआमालगायतका अभिभावकको पनि उपस्थित बाक्लो थियो ।

बालबालिकालाई खाजा खुवाइरहेका आमाहरुबीच मेयर सिंह पुगे । विद्यालय चौरमै भूइँमै थ्याच्च बसे । आमाहरुको कुरा सुन्न थाले । ‘बोर्डिङमा पढाउदा पनि ट्युसन तथा कोचिङ क्लास लिन विद्यालयले बाध्य पारिरहेका छन् ।’ ‘गरिब तथा जेहेन्दार विद्यार्थीले छात्रवृत्ति पाउँदैनन् ।’ ‘परीक्षा शुल्क बढी भयो ।’ ‘कहिलेकहीँ तिर्नै नसक्ने अवस्था हुन्छ ।’ चौरमा लहरै बसेका महिलाहरुले आमा हुनुको पीडा सुनाए कि वीरगंजमा सन्तानलाई पढाउन कति कठिन छ ? उनीहरुले आआफ्ना समस्या सुनाए । गुणस्तरीय शिक्षाका नाममा भइरहेको बदमासी आफ्ना मेयरलाई निर्धक्कसँग बताए । मन हलुका पारे ।

उसो त आमाहरुले गुनासो मात्र गरेनन् । बिहानै ‘महानगरपिता’ भेटेपछि उस्तैसँग फुक्र्याए, मख्ख पारिदिए । आशीर्वाद पनि दिए । ‘राम्रो काम गरिरहनु भएको छ ।’ ‘वीरगंज सफा भएको छ ।’ ‘उज्यालो भएको छ ।’ ‘अतिक्रमण हटेको छ ।’ ‘वीरगंज बदलिएको छ ।’ कोहीकोहीले भनिहाले, ‘बरु कहिलेकहीँ मेयर साबको फोन पो उठ्दैन !’

महानगर छिरेको एक वर्ष पुग्नै लाग्दा नगरप्रमुख सिंहले सर्वसाधारण र निर्दोष आमाहरुको अथाह सम्मान पाए । कयौँ कुरा सुनिरहेको भए पनि खास पात्रकै मुखबाट सुन्नु फरक अनुभूति गरे । भूईँमा आमाहरुसँग बसेर उनका कुरा सुन्दा सिंहले निकै फिडब्याक पाए । मन चंगा भयो । यस्तो मौका सधैँ कहाँ जुर्छ र ? उनलाई बिहीबार कुम्हाल टोलमा नयाँ पुस्ता भेट्दाको उत्साहमा आमा र महिलावृन्दका कुराले झन उचाइको उडान भरिदियो ।
आमाहरुको कुरा सुनेपछि उनले भने, ‘राम्रो गर्न तपाईंहरुको साथ चाहिन्छ, गरिरहेको छु ।’ उनले भने, ‘तपाईंहरुकै मुखबाट पीडा सुनेर म भावुक भएँ, इमोसनल बनाइदिनु भयो । सकेको सुधार्छु, प्रयास गर्छु, तपाईंहरुको समस्या समाधानका लागि महानगरमा र सरोकारवालासँग छलफल पनि गर्छु ।’ मेयर सिंहले थपे, ‘हो, यसरी नै सधैँ काममा हिँडेको हुन्छु, फोहोर व्यवस्थापनमा समस्यालगायत कुनै पनि बदमासी, विकृति, समस्याको सूचना मलाई ह्वाट्स एपमा लेख्नुहोला, फोटो खिचेर पठाइदिनु होला ।’ उनले भने, ‘हो, फोन नउठ्न सक्छ, तर ९८०२९ ४५१०० नम्बरमा ह्वाट्स गर्नुहोला, २ घण्टाभित्र म समस्या समाधान गर्छु–गर्छु ।’






