चुरे दोहनले मधेशमा पानीको हाहाकार

मुल स्रोत सुक्दा पानीको हाहाकार

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम/वीरगंज ।

चुरे वन, जंगल तथा पहाड क्षेत्रबाट ढुंगा, गिट्टी र बालुवाको निकासी अवैध ढंगले भइरहँदा मौन देखिएको समाज यतिखेर पानीको प्यासले आकुलव्याकुल भएको छ । दोहन गर्नेहरु भने अझै सक्दो दोहनमा सक्रिय छन् ।

सरकारले नै विकास निर्माणजन्य सामग्री निकासी फुकुवा गरेर चुरे क्षेत्र तहसनहस पार्न साथ दिएपछि तराई–मधेशको समतल भूमि, मरुभूमिमा परिणत हुँदा पानीको हाहाकार देखिएको हो । चुरे क्षेत्रको वन, जंगल विनाससँगै ढुंगा, बालुवा, गिट्टीलगायतका सामग्री विकास निर्माणका नाममा अवैध ढंगले निकास भइरहँदा व्यवस्थित र रोकथामको प्रयास नहुनु नै केही वर्षमै पानीको स्रोत सुक्नुमा नतिजा देखिएको हो । केही वर्षअघि बालुवा, गिट्टी, ढुंगालगायतका सामग्री धनुषाको औरही नदीबाट अवैध ढंगले उत्खनन गरिरहेको अवस्थामा रोक्न खोज्दा दिलीप महतोको हत्या नै भयो ।

वन, जंगल विनासले गर्मीयाममा पानीको मुहान नै लोप हुने भएपछि पानीको हाहाकार र वर्षायाममा बाढी डुबान र कटानले चापाकल, इनारसहित बोरिङमा पनि पानीको मात्रा घट्दो छ । मुहानहरु सुकेका छन् ।

उद्योग, वन पर्यटन मन्त्री सुनिता यादव चुरे दोहनले समग्र तराई मधेश नै मरुभूमिमा रुपान्तरण हुनसक्ने बताउँछिन् । ‘समयमै ध्यान दिन आवश्यक छ,’ उनले भनिन् । यस्तै अवस्था रहे ४० वर्षपछि भारतको राजस्थान जस्तै समतल भूमि मरुभूमि हुने उनको अनुमान छ । वृक्षारोपण र वन जंगल कटान तथा ढुवानी निकासी बन्द गर्न उनको सुझाव पनि छ ।

राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्षमा रहेका मुलुकको महासन्धि (युएनएफसिसिसी) अन्तर्गतको हरित जलवायु कोष (जिसिएफ) ले चुरे क्षेत्रमा काम गर्न करिब चार वर्षअघि नेपाललाई ४ अर्ब रुपैयाँ सहयोग गरेको थियो । रकमबाट वन तथा वातावरण मन्त्रालयले चुरे उत्थानशील आयोजना सञ्चालन भयो । रकम सिन्धुलीदेखि झापासम्मको चुरे र तल्लोतटीय क्षेत्रको चुरे संरक्षण र जोखिम न्यूनिकरणमा खर्च हुने जनाइएको छ ।

सिन्धुलीदेखि इलामसम्मका ११ जिल्लाको चुरे क्षेत्रमा हुने सम्भावित जोखिम घटाउन समयमै सरकारले गम्भीरताका साथ ध्यान दिनुपर्ने देखिन्छ । हुन त मधेश प्रदेश सरकारले चुरे संरक्षणका लागि आगामी आर्थिक वर्षमा नेपाल सरकार, स्थानीय तह, अन्तर्राष्ट्रिय संघसंस्थालगायत सरोकारवालसँगको सहकार्यमा चुरे संरक्षण तथा पर्यावरणीय पर्यटनका लागि १८ करोड ३६ लाख रुपैयाँ विनियोजन गरेको छ ।

चुरे क्षेत्र संरक्षण तथा व्यवस्थापनमा काम गर्न संघीय सरकारले २०७१ सालदेखि राष्ट्रपति चुरे तराई–मधेश संरक्षण समितिमार्फत करिब १२ अर्ब रुपैयाँ भन्दा बढी रकम खर्च गरिसकेको छ । एक वर्षमा जम्मा १ सय २० दिन पानी पर्ने गरेको र यही सिञ्चित पानीले तराई मधेश क्षेत्रका बासीले उपभोग गरिरहेका राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति जनकपुर कार्यालयका कार्यक्रम कार्यान्वयन इकाइ प्रमुख शिव पोखरेलले जानकारी दिए ।

हिमालय पर्वत अग्लिँदै जाँदा हिमालय र हिमालपारिको तिब्बती पठारबाट बगेर आउने गेग्रान÷थेगर थुप्रिएको र त्यही गेग्रानको थुप्रो कालान्तरमा चुरे क्षेत्र बनेको हो । चुरे पहाड ३६ वटा जिल्लामा फैलिएको छ । चुरे ८ सय ५० किलोमिटरसम्म अवस्थित छ । चौडाइ १० देखि ५० किलोमिटर छ । समुद्री सतहदेखि १ सय २० मिटर (सप्तरी, ठेलिया) देखि १ हजार ९ सय ७२ मिटर (कैलाली, भासुभिर) सम्मको उचाइ चुरे पहाड हो । मुलुकको कुल भूभागको बाह्र दशमलव सात आड प्रतिशत हिस्सा चुरे क्षेत्र हो । चुरे शृंखलाभित्र नदीले बनाएका केही खोंच पनि छन् । जसमा सिन्धुलीको मरिण खोंच, कमला खोंच, डडेल्धुराको रंगुन खोंच मुख्य हुन् । देउखुरी, सुर्खेत र चितवन भने दुन उपत्यकाभित्र पर्दछन् । चुरेभन्दा माथि भित्री तराई र महाभारत शृंखलासम्ममा फैलिएको छ ।

चुरे क्षेत्रमा भइरहेको अवैधानिक दोहन र ससाना मानवीय गतिविधिले पनि यसलाई कमजोर बनाउँदै लगेको छ । चुरे क्षेत्रलाई पानी सञ्चित गर्ने भण्डारणका रुपमा पनि लिने गरिन्छ । यसले दक्षिण क्षेत्रतर्फ समथर फैलिएको तराईका लाखौँ मानिसका लागि पानी सञ्चय गर्छ भने यससँगै प्राकृतिक विपत्ति नियन्त्रणमा पनि यसको मुख्य भूमिका रहँदै आएको छ । केही दशकअघिसम्म चुरेबाट पानीसँगै बग्ने मलिलो माटोले तराई–मधेशमा कृषि बालीका लागि निकै फाइदाजनक हुँदै आएको मानिन्छ ।

अहिलेको भने अनियन्त्रित रूपमा चुरेबाट बग्ने माटो तराईका लागि अभिशाप बनेको छ । जसले गर्दा प्रकोप र त्रास फैलिने गरिन्छ । अहिले तराई–मधेशमा पानी नपर्दा यहाँको मलिलो जमिन मरुभूमि बन्दै गएको छ । केही दशकयता विकासका गतिविधिले चुरेको फेदी र चुरेका खोंचमा क्षयीकरण हुँदै गएको छ । चुरे क्षेत्रबाट बगेर आएको गेग्रान व्यवस्थापन नाममा चुरे क्षेत्रमा दीर्घकालीन असर पर्ने गरी दोहन हुँदा समस्या निम्तिएको छ । चुरे क्षेत्रका खोंच, चुरे क्षेत्रको भावर र समथर तल्लोतटीय क्षेत्रमा जथाभावी ढुंगा, गिट्टी र बालुवाका लागि उत्खनन् गर्दा यत्रतत्र पहिरोको जोखिम पनि बढ्दै गएको छ ।

चुरेको पहिरो बेलैमा नियन्त्रण भएन भने विकराल अवस्था आउने भन्दै विशेषज्ञहरूले सरकारलाई सचेत गराइसकेको उनले बताए । चुरे क्षेत्रमा अनियन्त्रित चरिचरण, खनजोत र अतिक्रमण पनि जारी छ । भूस्खलन÷पहिरोसँगै बग्ने माटोले तराईको मलिलो जमिन मरुभूमिकरणमा परिणत भइरहेको छ । निरन्तर भइरहेको चुरे दोहनले खोलाहरूको धार परिवर्तन हुँदा खेत कटान, बाढीपहिरोको जोखिम बढेको छ ।

चुरे क्षेत्रमा दोहन गर्न स्थानीय तहका जनप्रतिनिधि पनि सक्रिय छन् । मधेश प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका नदीजन्य पदार्थ अवैधरुपमा दोहन हुँदा पनि तीन वटै निकायका सरकारले चासो लिएको देखिँदैन । एक दशकअघि मुलुकको प्रथम राष्ट्रपति डा. रामवरण यादवले पहिलोपटक तराई–पहाडका सर्वसाधारणबीच सामाजिक सद्भावसहित चुरे संरक्षण गर्ने कार्यक्रम ल्याए । चुरे क्षेत्रमा बसोबास गर्दै आएका सर्वसाधारण तथा तराइबासीबीच सुमधुर सम्बन्ध स्थापना पनि गर्ने र चुरेको वन, खोला, नदी, नालालाई प्राकृतिकरूपमा व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्रपति चुरे तराई मधेश कार्यक्रम घोषणा गरिएको पूर्व राष्ट्रपति यादवले स्मरण गरे । कार्यक्रमको मूल उद्देश्य थियो, ‘उत्पादनशील क्षेत्र तराई मधेशमा भइरहेको मरुभूमिकरण हुनबाट रोकथाम तथा नियन्त्रण गर्नु ।’

मुल स्रोत सुक्दा, पानी हाहाकार
चुरे क्षेत्र दोहनसँगै मधेश प्रदेशका विभिन्न गाउँसहर अवस्थित पोखरी, तलाउ, चापाकल र इनार सुकेका छन् । प्रचण्ड गर्मीयाम सुरु हुनुपूर्व नै करिब ५ महिनासम्म धारा, इनारको पानी सुक्नु र चापाकलसमेत पानीको समस्याले आफैँ सुकेको छ । केही वर्षदेखि समयमै वर्षा नहुँदा धनुषाको पूर्व–पश्चिम राजमार्ग वरिपरि उत्तरी भेग–पूर्वी भेगका दर्जनौँ ग्रामीण बस्तीमा खानेपानी हाहाकार रहेको अवस्था छ ।
धनुषाको नक्टाझिज, ढल्केवर, जमुनिवास, भुचक्रपुर, लक्ष्मीनिवास, पुष्पवलपुर, बेंगाडावर, धारापानी, राधापुर, गोदार, लवटोली, दिगम्बरपुर, महोत्तरीको बर्दिबास, गौशालालगायत दर्जनौँ भन्दा बढी गाउँमा पानीको समस्या चर्किदै गएको छ । पोखरीको नगरीको रुपमा रहेको मधेश प्रदेशको राजधानी जनकपुरधाममा पनि पोखरी र चापाकलमा समेत पानी सुकिसकेको छ ।

अत्यधिक दोहनले चुरे क्षेत्र विनाशको कारण पानीको मुहान सुक्न थालेको बटेश्वर गाउँपालिकाका स्थानीय रामकुमार महतोले बताए । जनकपुरधामको पिडारीचोक, रामानन्द चोक, किशोरी नगर र आनन्द नगरलगायतका क्षेत्रमा वैशाखको पहिलो सातादेखि नै अधिकांश चापाकल सुकेको छ । एकसयदेखि दुईसय फिटसम्म चापाकल पूर्णरुपेण सुकेको छ भने ३ सय ५० भन्दा बढी फिटसम्म गाडिएका चापाकलमा समेत दिनभरि पानी नआउने समस्या देखिएको जनकपुरधाम वडा नम्बर १० का किसन मण्डलले बताए ।
विगतमा धनुषाको उत्तरी भेगमा पानीको समस्या देखिए पनि जनकपुरधाम नगर क्षेत्र तथा धनुषाको पूर्वी र दक्षिणी भेगमा विरलै यस्ता समस्या देखिने गर्छ । तर, पछिल्लो करिब एक दशकको अवधिमा जनकपुरधाम नगर क्षेत्रमा पनि चापाकल सुक्न थालेपछि ठूलो संख्यामा सर्वसाधारण पानीबाट वञ्चित हुनु परेको छ ।

चुरे विनाशसँगै जनकपुरधामका अधिक पोखरी गर्मीयाम सुरु हुनु अघिदेखि सुक्ने र पछि पानी पर्दा पानीको सतह बढ्दै गएपछि चापाकलबाट पानी आउने गरेको मण्डल बताउँछन् । चापाकल सुक्नुका साथै विद्युतीय मोटरले समेत पानी तान्न छोडेको उनी बताउँछन् ।

लामो समयदेखि माछापालन गर्दै आएका नागेन्द्र सहनीले चुरे क्षेत्रको विनाशको असरले पोखरीमा समेत समस्या परेको बताउँछन् । उनले गर्मी मौसममा पोखरीको पानीको सतह स्वतः कम हुदाँ माछा पोखरीमै अक्सिजनको अभावमा मर्ने गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button