
मधेशदृष्टि
रौतहट, २४ वैशाख ।
गौरस्थित टिकुलियाघाट लालबकैया नदीको निर्माणाधीन पुलको निर्माण सामग्री पुरानो ठेकदार पप्पु कन्स्ट्रक्सनले लैजान खोज्दा प्रहरीले रोकेको छ ।
स्थानीय प्रशासनलाई विनासूचना पप्पुका कर्मचारीले पुलको निर्माण सामग्री अन्यत्र लैजान खोज्दा स्थानीय पत्रकार सञ्जय सहनीले जिल्ला प्रहरी कार्यालय रौतहटमा खबर गरेलगत्तै गएको प्रहरी टोलीले सामग्री रोकेको हो ।
पुल निर्माणको ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले लामो समयसम्म निर्माण पुरा नगरेपछि दुई महिनाअघि पत्रकार सञ्जय सहनी आमरण अनशन बसेका थिए।
सहनीको आमरन अनशनपछि सडक विभागले गौर–ईशनाथ जोड्ने लालबकैया पुल बनाउने पुरानो ठेक्का रद्द गरेर पुल निर्माणको काम नयाँ ठेकेदार कम्पनीलाई दिएको थियो ।
तर शनिबार ठेक्का तोडिएको पप्पुका प्रतिनिधिले विनासूचना निर्माणाधीन पुलमा लागेको निर्माण सामग्री गैरकानुनीरुपमा झिक्दै गरेको सूचनाका आधारमा प्रहरीले रोक्का गरेको हो । रौतहट क्षेत्र २ का संघीय सांसद किरण साह, गौर नगरपालिकाको मेयर शम्भु साह, रौतहटका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगर समेतले चासो देखाएका थिए । मेयर साहले पठाएको नगर प्रहरी, जिल्ला प्रहरी कार्यालयको टोली निर्माणस्थल टिकुलियाघाट पुगेर पुलबाट झिकिरहेको सामग्री रोक्न गौर–४ टिकुलियाका स्थानीयले पनि सक्रिय भूमिका निर्वाह गरेका थिए।
प्रशासन र गौर नगरपालिकाको टोलीले कागजी प्रक्रिया पुर्याएर मात्र निर्माण सामग्री अन्यत्र लैजान निर्देशन दिँदै अन्यथा कानुनी कारबाही हुने पाप्पुका प्रतिनिधिलाई जानकारी गराएका थिए ।






