
मधेशदृष्टि
वीरगंज, २४ वैशाख ।
शुक्रबार मात्रै उद्घाटन भएको बाराको परवानीपुरको ‘थ्रिल वाटर पार्क’मा शनिबार ६ सय भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक पुगेका छन् ।
मधेश प्रदेशमै पहिलो सुविधासम्पन्न वाटरपार्क सञ्चालनको दोस्रो दिन नै अपेक्षा गरिए भन्दा बढी पर्यटक आएपछि लगानीकर्ता उत्साहित भएका छन् ।
‘पहिलो दिन नै ६ सय भन्दा बढी पर्यटक आउनु भयो,’ सञ्चालक निखिल चाचानले भने, ‘हामी उत्साहित भएका छौँ, गर्मी मौसममा हामीले सायद सही समयमा सही ठाउँमा लगानी लगायौँ र यसले सबैलाई आकर्षित पनि गरेको पायौँ ।’
शनिबार बिदा भएकाले पारिवारिक घुमघामसँगै स्विमिङदेखि वाटर पार्कका नयाँ सुविधा अवलोकन गर्न र सेवा लिन सर्वसाधारण पार्क पुगेका थिए ।
शुक्रबार पार्कको चाचान समूहका कार्यकारी अध्यक्ष, प्रतिष्ठित उद्योगपति बाबुलाल चाचानले उद्घाटन गरेका थिए । पार्कमा ७ करोड रुपैयाँ लगानी भएको बताइएको छ ।






