
मधेशदृष्टि
वीरगंज, २१ वैशाख ।
‘एकपटक काठमाडौँ जाँदा ५० हजार रुपैयाँ भन्दा बढी खर्च हुन्छ, १५ पटक धाइसकेँ, ऋण लिएर कतिपटक काठमाडौँ जाउँ, अब जाँन्न,’ बाराको महागढीमाइ नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले भने, ‘आफ्नै पार्टीका नेता र मन्त्रीले वास्तै गर्दैनन्, अरु पार्टी र गठबन्धनमा भन्दा पनि सुनुवाई हुँदैन ।’
बुधबार मेयर यादवले पाँचदलीय गठबन्धनका नेता र सरकारका मन्त्रीलाई विश्वप्रसिद्ध बाराको गढीमाइ मन्दिरसँगै महागढीमाई नगरपालिकामा प्रवेश निषेध भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेपछि साँझ मधेशदृष्टिसँगको प्रतिक्रिया हो यो ।
‘मेरै पार्टीले कारबाही गरे पनि डर छैन, यो गठन्धन जनतालाई दुःख दिन र दलहरुको भागवण्डा मिलाउन मात्रै भएको जस्तो भान भएको छ,’ यादवले भने, ‘चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत छैनन्, जति पटक मन्त्रालय गयो, पठाइदिन्छु भन्छन्, पठाउँदैनन्, यो महिना ९० प्रतिशत योजना सम्झौता गरेर काम गर्नु पर्ने महिना हो, यस्तो बेला स्ट्याटस लेखेर बस्नु परेको छ ।’
उनले बुधबार दिउँसो फेसबुकमा लेखेका थिए, ‘बारा जिल्ला क्षेत्र नम्बर २ मा महागढीमाई नगरपालिकाअन्तर्गत श्री गढीमाई मन्दिरको प्रांगणमा तथा यस नगरपालिका क्षेत्रभित्र पाँचदलीय गठबन्धनका नेतागण तथा मन्त्रीज्यूहरूको प्रवेश निषेधित गरिएको कुरा सबैमा जानकारी गराउन चाहन्छु । धन्यवाद ।’
फागुनको सुरुमै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तफा सरुवा भइ अन्त गएपछि महागढीमाई नगरपालिकाको कार्यालय प्रमुख प्रशासकीय अधिकृतविहीन छ । मन्त्रालयले अर्को प्रमुख प्रशासकीय अधिकृत नपठाइदिँदा नगरपालिकाका कर्मचारीले तलबसमेत खान नपाएको, आर्थिकदेखि प्रशासनिक काम ठप्प भएको, सेवाग्राहीको काम नहुँदा कर्मचारी र जनप्रतिनिधि आलोचित हुनु परेको मेयर यादवको भनाइ छ ।
‘न सरुवा गर्दा सोधपुछ हुन्छ, न नयाँ आउनेबारे जानकारी हुन्छ,’ मेयर यादवले भने, ‘५ महिना भयो कर्मचारीलाई तलब दिन सकिएको छैन, मन्त्री भोलि र पर्सि भनेर टार्छन्, जनताले दुःख पाएको कहिले थाहा पाउँछन्, अब म पनि ऋण गरिगरी कार्यकारी खोज्न काठमाडौँ नजाने भएको छु, हैरान भएर फेसबुकमा आफ्नै पार्टी, गठबन्धन र नेताहरुलाई यस्तो लेखेको हुँ, आउने पनि उपसचिवस्तरका हुन्, हत्पत्ति आउन मान्दैनन् ।’

मेयर उपेन्द्रप्रसाद यादव वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादव जिताउन सक्रिय जनप्रतिनिधि हुन् ।






