मेयरको पहिलो निर्णय नै कार्यान्वयन नभएपछि……

[mashshare]

‘कटकरियाका मेयर अजय प्रकाश जैसवालले शपथग्रहणपछि पहिलो निर्णय नमूना मावि कटहरियामा कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यमबाट निःशुल्क पठनपाठन गराउने भने पनि अहिलेसम्म कार्यान्वयन भएन, निजीबाट निकालेर सामुदायिक विद्यालयमा छोराछोरी पढाउन उत्साहित अभिभावक मेयरकै कारण अहिले पछुताइरहेका छन्’

मधेशदृष्टि
रौतहट, १७ वैशाख ।
कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवाल निर्वाचित भएपछि भएको निर्णय एक वर्ष पुग्न लाग्दासम्म कार्यान्वयन हुनसकेको छैन ।
२०७९ जेठ ९ गते कटहरिया नगरपालिकाको पहिलो बैठकबाट मेयर जैसवालले नमूना मावि कटहरियामा कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यमबाट निःशुल्क पठनपाठन गराउने निर्णय गरेका थिए ।

कटहरियाका मेयर जैसवाल, उपमेयर रितादेवी यादवलगायतका जनप्रतिनिधि शपथग्रहण गरेलगत्तै बसेको नगरपालिकाको बैठकले निर्णय गरिएको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले बताए ।
मेयर जैसवालले जिल्ला न्यायाधीश काजी बहादुर राईसँग २०७९ जेठ ९ गते गौरमा शपथ लिएपछि सोहीदिन नवनिर्वाचित उपमेयर यादव, वडाअध्यक्ष तथा वडा सदस्यलाई कटहरियास्थित विवाह भवनमा शपथग्रहण गराएका थिए । शपथग्रहणपछि मेयर जैसवालले नमूना मावि कटहरियामा कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यमबाट निःशुल्क शिक्षा दिइने घोषणा गरेको विषय सञ्चारमाध्यममा प्राथमिकताका साथ प्रसार भएको थियो ।

यता मेयरले कटहरिया नगरपालिकामा शिक्षा, स्वास्थ्यलाई विशेष प्राथमिकतामा राख्ने प्रतिक्रिया दिँदै आए । तर एकवर्ष पुग्नै लाग्दा निःशुल्क अंग्रेजी शिक्षा लागू गर्ने विषय कतै छलफलसमेत भएन । नमुना मावि कटहरियाका तत्कालीन प्रधानाध्यापक तथा हाल सरुवा भएर अन्यत्र गएका शिक्षक योगेन्द्र कुशवाहाले मेयरले घोषणा गरेको केही दिनभित्रै अंग्रेजी माध्यमबाट निःशुल्क शिक्षाबारे विद्यालयमा चर्चा मात्रै भएको बताए । कक्षा १० सम्म निःशुल्क अंग्रजी शिक्षाका लागि डिजाइन, शिक्षक व्यवस्था, भवन, फर्निचर व्यवस्थापनलगायतका खाका तयार पारेर उपलब्ध गराइए पनि काम भएन ।

मेयर जैसवालले एकदुई महिनामा सम्पूर्ण व्यवस्था गर्ने आश्वासन दिए पनि पछि कुनै वास्ता नगरेको शिक्षक कुशवाहाले जानकारी दिए । अंग्रेजी माध्यमबाट पढाइ हुने कुनै सुरसार नभए पनि मेयरले अंग्रजी माध्यमबाट निःशुल्क पठनपाठन गत वर्षदेखि नै सञ्चालनमा रहेको दाबी गरे ।

नमुना मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कटहरिया–४ का वडाअध्यक्ष चन्दन कुशवाहाले मेयर जैसवालको झुठो घोषणाका कारण कैयौँ बालबालिकाको भविष्य अन्योलमा परेको टिप्पणी गरे । ‘कटहरिया मेयरको पहिलो निर्णयपछि कैयौँ अभिभावकले आफ्ना बालबालिका निजी विद्यालयबाट निकाले सामुदायिक विद्यालयमा नामांकन गराए तर एक वर्षसम्म काम हुनै सकेन,’ उनले भने, ‘अभिभावकहरु पछुताइरहेका छन् ।’

खर्च के कति ?
मेयर जैसवालको ११ महिनाको कार्यकालमा वडा १ देखि ९ सम्म बाटो ग्रेभलका नाममा ४९ लाख ३९ हजार ९ सय ९७ रुपैयाँ, सवारीसाधन मर्मतमा २५ लाख, नास्तामा १९ लाख, इन्धन खर्चमा ६७ लाख ८३ हजार ९३ रुपैयाँ, डिपिआरमा ७५ लाख ६२ हजार २ सय ९८ र कर्मचारीलाई प्रोत्साहन भत्ताका नाममा १२ लाख रुपैयाँ खर्च भएको छ ।

शिक्षा स्वास्थ्यमा बेथिति
मेयरको एक वर्षे कार्यकालमा नगरको शिक्षा र स्वास्थ सेवा पूर्णरूपमा प्रभावित बनेको छ । नगर क्षेत्र अन्तर्गतको सामुदायिक विद्यालयमा विषयगत शिक्षक अभावमा पठनपाठन प्रभावित हुँदा विद्यार्थीले पटकपटक विद्यालयमा तालाबन्दी गर्दै आएका छन् । आर्थिक लगानी नभएका कारण प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाका साथै कैयौँ वडाको स्वास्थ्य संस्थामा सरकारबाट पाइने निःशुल्क औषधी पनि अभाव छ । दक्ष जनशक्ति अभावमा बिरामीलाई स्तरीय सेवा दिन सकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button