क्षमतावान् कार्यकारी लखेटेर मेयरले गरे बदमासी

[mashshare]

मधेशदृष्टि
वीरगंज, १५ वैशाख ।

दार्शनिकहरु भन्छन्, ‘को मान्छे अशल र कमसल हो, उसलाई भूमिका दिएपछि थाहा हुन्छ ।’ राम्रो गर्नेले कम भूमिकामा पनि राम्रो गर्छ र नराम्रो सोचले ग्रस्तले ठूलो भूमिका पाए पनि हुलिया देखाइहाल्छ । यस्तै भएको छ पर्साको पोखरिया नगर प्रमुख प्रद्युम्न चौहानको हकमा पनि । अनेक विकासका गफसहित मेयर जितेका चौहानको ११ महिने कार्यकाल समीक्षा गर्ने बेला भएको छ । समीक्षामा उनका भागमा ताली पर्ला कि गाली ?

हरेक जनप्रतिनिधिसँगको अपेक्षा हो विकास निर्माणसँगै जनअपेक्षा पूरा गर्ने प्रतिवद्धतामा इमानदारिता । पोखरिया नगरपालिका प्रमुखमा विजयी भएका चौहानको हकमा भने इमानदारिता दलालको चंगुल परेको छ । त्यसैले पोखरिया विकास निर्माणमा पछि परेको छ ।

आर्थिक अनियमितता गर्न नपाउँदा मन्त्रालयमा धर्ना दिएर इमानदार र कर्तव्यनिष्ट कर्मचारीलाई सरुवा गराउने काममा स्वयम् नगर प्रमुख चौहान नै लागेको छिपेको छैन । ११ महिनाको अभिलेख हेर्ने हो भने पोखरिया नगरपालिका लुट्न चाहने दलालहरुका लागि ‘सुनको अण्डा’ नै भएको भएको छ भन्दा फरक पर्दैन । किनभने मेयर स्वयम् तजबिज मिलाएर आफूलाई दलालको घेरामा सुरक्षित देख्छन् भने विकास कुन चराको नाम हो भन्ने हुने नै भयो ।

पोखरियामा विकास निर्माणसँगै कर्मचारीको सरुवा, बढुवा, नियुक्तिमा ठूलो अनियमितता भएको पाइएको छ र यसको श्रेय पनि मेयर चौहान स्वयम्को शिरमा छ । नगर प्रमुखको सचिवालयका नाममा केही व्यक्तिले ठेकेदारलगायत कर्मचारीसँगै खुलेयाम रकम असुली गरिरहेको लुकेको छैन । पोखरियाको विकास निर्माण, सरसफाइलगायतका सम्पूर्ण कामकाज हिसाबकिताब नमिल्दा प्रभावित भएको छिपेको छैन ।

पोखरिया नगरपालिकालाई गतिशील बनाउन खोज्ने प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशी आएको ४५ दिन नबित्दै लखेटिनु प¥यो । उपसचिवस्तरका अधिकृतलाई लखेट्न र आफू अनुकुलकालाई कार्यकारी बनाउन नगर प्रमुख चौहानले मन्त्रालयमा धर्ना नै दिए । आफू निकटका कर्मचारी अजय श्रीवास्तवलाई निमित्त प्रशासकीय अधिकृत तोकेर आर्थिक ऐन विपरीत मनपरी ढंगले काम कारबाही भइरहेको पाइएको छ ।

यसले क्षणिकरुपमा मेयर चौहान र उनका नाममा रकमीकलमी मिलाउन चाहनेहरुलाई त सजिलो होला, समग्रमा भने पोखरियाको विकास पछि परेको छ । ढिलोचाँडो अनियमतताका विषय बाहिर आएर मेयर पनि बयान दिने ठाउँमा पुग्ने नै छन् । पदमा रहेकाहरुलाई आक्षेप मात्र समाचार होइन, सम्बन्धितको जवाफ पनि जरुरी हुन्छ ।

‘केही व्यक्तिको घेराबन्दीमा परेकै हुँ, आगामी दिनमा सच्चिएर अगाडि बढने प्रतिवद्धता व्यक्त गर्दछु ।’
प्रद्युमन चौहान
नगर प्रमुख, पोखरिया नगरपालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button