
रौतहटको मौलापुरमा आयोजना गरिएको मधानी महायज्ञलाई असफल बनाउन खोज्ने मौलापुर विद्युत प्राधिकरणका कर्मचारीहरुलाई कारवाहीको माग गरिएको छ ।
मौलापुर नगरपालिकाकी प्रमुख रिना कुमार साहले उपराष्ट्रपतिको उपस्थितिमा आयोजित मौलापुर स्थित मधानी महायज्ञको उद्घाटन कार्यक्रममा विद्युत प्राधिकरण वितरण शाखा मौलापुर रौतहटका प्रमुख अरुण कुमार साहले विद्युत लाईन अवरुद्ध गरी मधानी महायज्ञलाई प्रभावित बनाउन खोजेको बताउनु भएको छ ।
नगर प्रमुख साहले कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटलाई लेखेको पत्रमा प्राधिकरणका मौलापुर वितरण केन्द्रका प्रमुख अरुणकुमार साहले लाईन काटेको सम्बन्धमा सोधपुछ गर्दा उल्टै कार्यक्रम स्थलमा केही अपराधिक झुण्डहरु आएर अनावश्यक गाली गलौज गरेको हुँदा अरुण कुमार साह लगायत धार्मिक स्थलमा आतंक मच्चाउने व्यक्तिहरुलाई कानुन अनुसार कारवाही गर्न माग गरिएको छ।
यता स्थानिय वासिन्दाले धार्मिक आस्थामाथि विद्युत प्राधिकरणका कर्मचारीहरुले खेलवाड गरेको भन्दै दोषी कर्मचारीलाई कारवाही नभए आफूहरुले जनकारवाही गर्ने समेत चेतावनी दिएका छन । विद्युत लाईन चोर्नेहरुसँग मासिक नजराना असुल्ने प्राधिकरणले महोत्सवमा नयाँ लाईन जडान गर्न गरिएको आग्रहलाई वेवास्ता गरी धार्मिक आस्था माथि नै चुनौती दिएको भन्दै स्थानिय वासिन्दा आक्रोशित भएका छन ।






