ओलिको खल्ती बाट राष्ट्रपति बने देश दुर्घटना : महामन्त्री थापा

[mashshare]

बीरगंज ,२१ माघ ।
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी ओलीले खल्तीबाट निकालेको पात्रलाई राष्ट्रपति बनाइए संविधान र लोकतन्त्र दुर्घटनामा पर्ने निश्चित रहेको बताउनु भएको छ ।
नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम प्रदेश स्तरीय अधिवेशनको आज वाराको कलैयामा उद्घाटन गर्दै महामन्त्री थापाले आगामी राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै नेताको खल्तिबाट निकालिएका पात्रलाई राष्ट्रपति बनाएमा त्यो राष्ट्रपति संवैधानिक राष्ट्रपति नभइ संविधानले परिकल्पना गरेको विपरित कार्यकारी राष्ट्रपति बन्ने खतरा रहेको दावी गर्नु भयो ।
उहाँले देशमा अहिले राष्ट्रपतिको माध्यमबाट समानान्तर सरकार बनाउने प्रपञ्च भई रहेको दावी गर्दै त्यसलाई विफल पार्न काँग्रेस उभिएको प्रष्ट पार्नु भयो । काँग्रेस एक पटक सरकारमा नजादैमा सबै बर्बाद भयो , पार्टी नै सक्कियो भन्ने जुन धारणा पार्टी भित्र बनाइदै छ त्यो गलत भएको महामन्त्री थापाले बताउनुभयो । महामन्त्री थापाले एकपटक सरकारमा नजादैमा काँग्रेस बर्बाद भयो भन्ने सोच्नु ठिक होइन भन्नु हुदै यो काँग्रेसको संगठन सुदृढ र सबल बनाउने अवसर पनि भएको दावी गर्नुभयो ।
उहाँले काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सकिए लगत्तै आफुहरु हरेक वडा , पालिका र जिल्लामा पुगेर संगठनलाई सबल बनाउन तिर लाग्ने बताउनु भयो ।
अहिलेको शासन व्यवस्थाको प्रणाली उत्कृष्ट भएपनि यसमा भित्रीएका विकृतिका कारण जनतामा निराशा छाएको बताउदै आम जनतामा चरम निराशा र असन्तुष्टि कुनै पनि बखत विस्फोट हुन सक्ने हुँदा यसलाई समयमै सम्बोधन गर्नु पर्ने कुरामा जोड दिनुभयो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले अहिलेको सरकार सन्चारमैत्री नभएको आरोप लगाउनु भयो । उहाले वर्तमान सरकारले सुचनाको हकलाई नै कुण्ठित गर्ने प्रयासमा लागेको र त्यसका विरुद्ध प्रेस युनियन सडक आन्दोलनमा उत्रिने तयारी गरिरहेको बताउनु भयो ।
नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष अनिल कर्णको अध्यक्षतामा भएको उद्घाटन सत्रलाई प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, महासचिव दिलिप पौडेल, काँग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, गुरुराज घिमिरे, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button