जसपाले सरकारबाट समर्थन फिर्ता लिने अध्यक्ष यादवको चेतावनी

[mashshare]

मधेशदृष्टि
बीरगंज, २० माघ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीयताको रक्षाको लागि संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।

बिहीबार बीरगंजमा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सरकारमा रहेका दलहरुले संघीयता र समावेशिता विरुद्ध लागिरहेकाले संघीयता बचाउन आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिए ।

उनले भने ‘सत्ताधारी दल र मन्त्रीहरु नै संघीयता र समावेशीता विरुद्ध लागि परेकाले संघीयतामाथि आँच पुग्ने अवस्था आए सरकारलाई दिएको समर्थन फिर्ता लिएर जसपा सडक संघर्षमा जाने छ । उनले त्यसका लागि तयार रहन आफ्ना पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

मधेस जनविद्रोहकै कारण मुलुकमा संघीयता , समावेशीता , मधेसीको पहिचान जस्ता राजनीतिक उपलब्धी प्राप्त भएका कारण यी उपलब्धी रक्षाका लागि जसपाले जस्तो सुकै कदम पनि चाल्न सक्ने भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई इतिहासकै लाचार प्रधानमन्त्रीको संज्ञा दिए । उनले भने प्रचण्ड जस्ता लाचार प्रधानमन्त्रीबाट देशको सुरक्षा र जनताको अधिकारको रक्षा हुन सक्दैन । प्रतिनिधीसभामा आफ्नो १२ सिट भएपनि राष्ट्रिय राजनीतिमा जसपाको भूमीका महत्वपूर्ण रहेको भन्ने नबिर्सिन उनले सत्तारुढ दललाई सचेत गराए ।

मंसिरको निर्वाचनमा देश भित्रकै आन्तरिक र देश बाहिरको बाह्य शक्तिको षडयन्त्रका बाबजुद पनि जसपा राष्ट्रिय दल बन्न सफल भएको जिकिर गर्दै उनले मंसिर ४ को निर्वाचनमा एमालेसंग तालमेल गर्ने जसपाको निर्णय सहि भएको दाबी गरे । यादवले भने ‘काँग्रेसले गठबधनमा ९ सिट मात्रै दिएर जसपाको अस्तित्व नै नमोट पार्ने षडयन्त्रमा थियो, त्यहि थाहा पाएर एमालेसंग चुनावी तालमेल गर्यौ, जसका परिणाम हामी राष्ट्रिय दल बन्न सफल भएका छौं ।

साथै उनले एमालेसँग जसपा र कांग्रेससँग लोसपा चुनावी तालमेलमा गएको कारण मधेशमा दुवै पार्टीको कम सिट आएको दाबी गर्दै कांगे्रससँग गठबन्धन गरेर लोसपा र एकिकृत समाजवादी सती गएको आरोप पनि लगाए । उनले गएको चुनावमा पैसा, जातिवादी र धोखा गरी तीन तत्वले चुनावी परिमाणलाई असर गरेको दावी गर्दै आगामी दिनमा पार्टीको संगठनलाई सर्वोपरी बनाएर अघि बढ्न नेता कार्यकर्तालाई यादवले निर्देशन दिंदै पार्टी भित्र रहेर अवसर लिने र धोखा दिनेहरुलाई पार्टीबाट निस्कासन गरिने रणनीति पार्टीले अपनाउने चेतावनी यादव दिए ।

कार्यक्रममा जसपा नेता एवं मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री लालबाबु राउतले संघीयता आएपछि जसपाको नेतृत्वमा गठित मधेश सरकारले मधेश प्रदेशलाई समृद्ध बनाउन तथा प्रदेशको संस्थागत विकासका लागि ठूलो उपलब्धी हासिल गरेको बताए ।

त्यस्तै पुर्व मन्त्री एवं पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले पर्सामा जसपाको संगठन कमजोर हुदै गएकोमा चिन्ता व्यक्त गर्दै अगामि दिनमा स्थानिय रुपमा संगठनलाई मजबुत बनाउन सबै लाग्नु पर्ने कुरामा जोड दिए । कार्यक्रममा वीरगंज महानगरका मेयर राजेशमान सिंहले वीरगंजलाई हेर्न लायकको शहर बनाउनुको साथै जसपा पर्साको आफ्नै पार्टी कार्यालय भवन पनि बीरगंजमा बनाएर देखाउने धारणा व्यक्त गरे ।

जसपा पर्साका अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा जसपा मधेश प्रदेश अध्यक्ष रामबाबु यादव, केन्द्रीय सदस्य मधुमाया यादव, हरिनारायण रौनियार, जसपा नेताहरु डा. मधु गुप्ता, सुरेन्द्र कुर्मी, धोबिनी गापा अध्यक्ष मदन चौहान,घनश्याम कुशवाहा, राकेश साह,प्रदिप जैसवाल, दिनेश कलवार, इन्द्रासन साह कलवार लगायतले मन्तव्य दिएका थिए भने कार्यक्रम सञ्चालक जिल्ला सचिव तबरेज अहमदले गरेका थिए ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button