चुलियो जनमतभित्र आन्तरिक बिचलन र बदलाभाव, कोषाध्यक्ष यादवलाई मोसो, अध्यक्ष राउतमाथि पार्टी पारिवारिक क्लबमा परिणत गराएको आरोप

[mashshare]

मधेशदृष्टि

मधेश प्रदेश सरकारका एक वर्ष नेतृत्व गर्न पाएको जनमत पार्टीभित्र आन्तरिक द्वन्द्व सार्वजनिकरुपमा बदलाभावमा देखिन शुरु भएको छ । पार्टीका नेताहरुको टकराव बदलाभावमा परिणत हुन थालेको हो । पार्टीका केन्द्रीय कोषाध्यक्ष सूरेन्द्र नारायण यादव आफ्नै पार्टीका नेता कार्यकर्ताद्वारा मोसो प्रहारमा परेका छन् । उनलाई केन्द्रीय सदस्य विकास सिंहको नेतृत्वको टोलीले पवित्र आस्थाको धरोहर बाराको गढीमाई मन्दिर परिसरमा मोसो दलिएपछि जनमभित्रको बदलाभाव सतहमा आएको हो ।

यादवले पार्टी नेतृत्वमाथि खबरदारीलाई सतहमा ल्याएका थिए । उनले महागढीमाई नगरपालिका–१ स्थित प्रसिद्ध गढीमाई मन्दिरमा अध्यक्ष सिके राउत नेतृत्वको पार्टीमा बढ्दो परिवारवाद, कृपावाद र भाइ–भतिजावाद बढेको भन्दै जनचेतनामूलक कार्यक्रम आयोजना गर्दैथिए । पार्टी अध्यक्षविरुद्धकै कार्यक्रम हुन लागेपछि कार्यक्रम शुरु हुनुअघि नै राउतनिकट सिंहको नेतृत्वमा गएको समूहले यादवलाई सार्वजनिकरूपमै मोसो दलेर कार्यक्रम बिथोलेको हो । पार्टीका कोषाध्यक्षलाई केन्द्रीय सदस्यको टिमले मोसो दल्नेसम्मको घटनाले देखाउँछ कि जनमत पार्टीमा कतिसम्म अराजकता र विचलन अनि बदलाभाव बढेको छ, कोही पनि पार्टीमा सहनशील हुनै सकेका छैनन् । जति अराजक बन्यो, त्यति पार्टी अध्यक्ष सिके राउतको प्रिय भइन्छ भन्ने यो घटनाले पुष्टि गरेको छ ।

पार्टी अध्यक्ष राउतले सहोदर भाइलाई संगठन प्रमुख बनाएको र अरु सक्षम नेतालाई योजनाबद्ध रूपमा पन्छाउन खोजेको भन्दै यादव पक्षले असन्तुष्टि जनाएँदै आएको छ । कोषाध्यक्ष यादव, केन्द्रीय नेता दीपक साहलगायत दर्जनौँ नेताले राउतको कार्यशैलीलाई ‘तानाशाहीपूर्ण’ र अलोकतान्त्रिक भन्दै मधेशका विभिन्न जिल्लामा अभियान शुरु गरेका छन् । अनि सिके राउत पक्षधरले यसलाई प्रतिवादको हतियार बनाएर सिके राउतको राजनीतिक स्खलनलाई निरन्तरता दिएका छन् । असन्तुष्टको कुरा सुन र निर्णय गर भन्नु पर्ने नेताहरु लगातार अध्यक्षको पक्षपोषणमा लागेपछि जनमत पार्टी लगातार कमजोर बन्दै गएको छ । यसका लागेका इमान्दार नेता कार्यकर्ता मौन बस्न थालेका छन् ।

यस्तो घटना हुँदा पनि पार्टी नेतृत्व भने मौन छ । यादव पक्षका समर्थकले जिल्ला प्रशासन कार्यालय, बारामा धर्ना दिएका छन् । सिंहमाथि कडा कारबाही माग गरेका छन्। स्थानीय सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनेको छ । पार्टी अध्यक्ष सिके राउत घटनाबारे मौन छन् । ससाना कुरामा पनि फेसबुकमा लेख्ने राउतको मौनताले पार्टीमा अराजकता अरु बढेको छ । वश राउत खुशी भए सबै थोक पाइन्छ भनेर अराजक समूहले राउतलाई रिझाउन र भजाउन थालेको छ । पार्टीभित्र आन्तरिक असन्तुष्टि व्यवस्थापन राउतको पाठ्यक्रममै नपरेको देखिन्छ । यसले पार्टीको साख गम्भीर संकटमा परेको छ । नागरिक उन्मुक्ति पार्टीसँगको एकतासमेत पछिल्लो पटक राउतकै व्यवहारले धकेलिएको छ ।

राजनीतिक विश्लेषकहरू भन्छन्, ‘जनमत पार्टीले मधेशमा ‘विकल्पको राजनीति’ को नाममा पाएको जनमत गुमाउन थालेको छ। सिके राउतले परिवार केन्द्रित संगठन सञ्चालन गरे जनमत पुनः पुरानै दलहरूकै काखमा हुर्किएर पुरानै दलको ढर्रामा उभिएको पुष्टि हुँदैछ ।’

साहलाई पनि मोसो दलियो


यस्तै, डा. सिके राउत नेतृत्वको जनमत पार्टीका निलम्बित राष्ट्रिय उपाध्यक्ष दिपक साहलाई पनि बाराको दहियारमा मोसो दलिएको छ। जनमत पार्टीका केन्द्रीय सदस्य विकास सिंहको नेतृत्वमा रहेका कार्यकर्ताले साहलाई कालोमोसो दलेका हुन्। सिंहका अनुसार, दिपक साहले पार्टीविरोधी गतिविधि गरेको र कार्यकर्ताहरूलाई दिग्भ्रमित पारेको आरोपमा यो कार्य गरिएको हो। मोसो दलेपछि दिपक साह घटनास्थलबाट भागेको सिंहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button