पदाधिकारी चयनपछि जसपामा चुलियो असन्तुष्टि

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनको दुई महिनापछि पदाधिकारी चयन गर्दा नेता–कार्यकर्ताले रुचाएका नेता पदाधिकारीमा नअटाएपछि असन्तुष्टि चुलिएको छ । सोमबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनबाट प्राप्त पार्टीको विधान २०८० (२०८१ संशोधित) धारा १४१ (१) बमोजिम अधिकार प्रत्यायोजन गरेर धारा २९ (३) र धारा ८७ (१) मा व्यवस्था भएबमोजिम पदाधिकारी चयन गरेका हुन् । उनले पदाधिकारीसहित ३० सदस्यीय केन्द्रीय कार्यकारिणी समिति, २७ केन्द्रीय सदस्य पनि चयन गरेका छन् ।

अध्यक्ष यादवले जारी गरेको निर्णयअनुसार सहअध्यक्षमा रकम चेम्जोङ चयन भएका छन् । यादवपछिको सबैभन्दा शक्तिशाली पद मानिने सहअध्यक्षमा महाधिवेशनताका राजकिशोर यादव, रकम चेम्जोङ र लालबाबु राउतको चर्चा मात्र थिए, तीनै जनाले उम्मेदवारी दर्ता गराएका थिए । तर निर्वाचनमा राजकिशोर र लालबाबमध्ये एकजना मात्र विजयी हुने पक्का थियो । राजकिशोरले जित्ने पक्कापक्की नै थियो । तर निर्वाचन भए आरक्षितबाहेक सबै पदमा यादवहरु मात्रै जित्ने र सम्पूर्ण पदाधिकारी असमावेशी हुने देखिएपछि जसपा नेपालका शीर्ष नेताहरुले नै निर्वाचन स्थगित गरेर पदाधिकारी चयनको जिम्मेवारी अध्यक्ष यादवलाई दिएका हुन् । पार्टीले राजकिशोरलाई उपाध्यक्ष र लालबाबु राउतलाई महासचिव बनाएको छ ।

सहअध्यक्ष पदको दौडमै नरहेका रकम चेम्जोङ सहअध्यक्ष बनेपछि भने पार्टीभित्र विरोध हुन थालेको छ । मुख्य प्रतिस्पर्धी राजकिशोर यादव र लालबाबु राउत चुप लागे पनि अन्य नेता विरोधमा उत्रिएका छन् । जसपा नेपालका नेता पू्र्णबहादुर बस्नेतले सहअध्यक्ष चेम्जोङ, उपाध्यक्ष विद्युत् बज्राचार्य, सचिव राजकुमार राई र अर्का सचिव लाक्पा शेर्पामाथि पार्टी विभाजन गर्ने समूहमै रहेको र योजनाकारमध्येकाहरु रहेको भनेर आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टी परित्याग गर्छु भन्दै धम्क्याउदै हिँड्ने लाक्पा शेर्पा सचिव, यो पार्टी काम लाग्दैन तपाईं (जुद्ध ढाक्रेलाई) घोषणापत्र लेख्नुस् म विधान लेख्छु भनेर लागेका राजकुमार राई सचिव, एमालेमा पदको बार्गेनिङ गर्दै हिँडेका विद्युत् बज्राचार्य उपाध्यक्ष, जसपा नेपाल फुटाएर जसपा पार्टी बनाउने मुख्य परिकल्पनाकार र योजनाकार रकम चेम्जोङ सहअध्यक्ष । जसपा नेपालमा जति ठूलो गद्दारी त्यति ठूलो पद !’ उनको आसय पार्टीमा विभिन्न समयमा धोका दिएका व्यक्तिलाई अनुशासनको कारबाहीको साटा ठूलो पद दिएर पुरस्कृत गरेको भन्ने हो ।

त्यस्तै, गत चैतमा माओवादी परित्याग गरेर वैशाखमा जसपा नेपाल प्रवेश गरेका रामकुमार शर्मालाई महासचिव बनाइएकामा पार्टी नेताहरु रुष्ट भएका छन् । यो विषय बाहिर नआए पनि भित्रभित्रै भूसको आगो जसरी फैलिएको छ । शर्मालाई महासचिव बनाउन पार्टीको विधान नै मिचिएको असन्तुष्ट नेताहरुको भनाइ छ । नाम उल्लेख नगर्ने र्शतमा जसपा नेपालका एक नेताले भने, ‘शर्मा २०८० चैत ८ गते माओवादी पार्टी परित्याग गरी २०८१ वैशाख ९ गते जसपा नेपालमा प्रवेश गरेका थिए । पार्टीमा प्रवेश गरेको एक महिनामै उनी जेठ २८ गतेदेखि ३० गतेसम्म जनकपुरमा भएको महाधिवेशनमा महोत्तरीबाट महाधिवेशन प्रतिनिधि बनेर आए र उनी महासचिवको उम्मेदवार समेत भए ।’ उनले भने, ‘विधानअनुसार उनी उम्मेदवार बन्न पाउँदैनन् भनेर त्यतिबेला पनि पार्टीभित्र आवाज उठेको थियो, तर पनि अध्यक्षज्यूले नै महासचिव बनाउन ल्याएपछि खुलेर कोही बाहिर आएनन् ।’ पार्टीमा प्रवेश गरेको केही दिनपछि नै शर्मालाई महासचिव बनाइएपछि नेताहरुमा भित्रभित्रै उकुसमुकस छ ।

महाधिवेशन वा अधिवेशनको प्रतिनिधि हुन पार्टी प्रवेश गरेकाका लागि पहिलोपटक पार्टीको सदस्यता अवधिको आवश्यकता पर्दैन तर पदाधिकारीमा उम्मेदवार बन्न वा चयन हुन केन्द्रीय समिति सदस्य वा प्रदेश समिति अध्यक्षमा कम्तीमा पाँच वर्ष काम गरेकै हुनुपर्ने जसपा नेपालको विधानमा स्पष्ट व्यवस्था छ । पार्टी विधान २०८० को धारा २९ मा महासचिव एक जना रहने व्यवस्था छ । र, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले महासचिवमा लालबाबु राउत र रामकुमार शर्मासहित दुई जनालाई महासचिव बनाएका छन् ।
त्यस्तै, कोषाध्यक्षमा सञ्जयकुमार यादव, रेणुकुमारी यादव (सिरहा) र बलराम महतोले उम्मेदवारी दर्ता गराएका थिए । सञ्जयकुमार यादवले जित्ने लगभग देखिएको थियो । तर पार्टीले यी तीनमध्ये कसैलाई पनि कोषाध्यक्ष नबाएर सुरिता कुमारी साहलाई कोषाध्यक्षमा चयन गरेको छ । जसपामा सञ्जय र रेणु शान्त बसे पनि महतोले असन्तुष्टि पोख्न थालेका छन् ।

उपमहासचिवमा उम्मेदवारी दिएका सुरेश मण्डललाई सचिव बनाइएको छ । मनिष सुमनले महासचिवमा उम्मेदवारी दिएका थिए भने उनलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिइएको छ । तर पार्टीको विधानले पनि प्रवक्तालाई पदाधिकारी भनेर चिन्दैन । त्यस्तै, अध्यक्ष यादवले बारा र सर्लाहीलाई उपेक्षा गरेको भन्दै बाराका नेताहरु असन्तुष्ट छन् । उनले पूर्वमुख्यमन्त्री सरोजकुमार यादवलाई पदाधिकारीको जिम्मेवारीविहीन बनाइएको छ भने कोषाध्यक्षका प्रबल दावेदार सञ्जय कुमार यादवलाई केन्द्रीय सदस्य मात्रै राखिएको छ ।

यता, थोरै पद र आंकाक्षी धेरै भएकाले असन्तुष्टि बढ्नु स्वाभाविक नै भएको कतिपय नेताहरु बताउँछन् । पार्टीमा काम गर्न पद नै महत्वपूर्ण भने होइन, जनाधार भएका नेता अझै पनि पदाधिकारीको जिम्मेवारीबिना नै काम गरिरहेका छन् । पदमा हुँदा ठीक पद नपाए बेठीक भन्ने मधेशवादी दलमा नेताहरुको पुरानै परिपाटी हो । यही कारण जसपा नेपाल पटकपटक फुटको संघारमा पुग्ने गरेको छ । यी तमाम असन्तुष्टलाई मिलाउन जसपा नेपाल नेतृत्वलाई ठूलो चुनौती देखिन्छ । नेताहरुले पदकै लागि लम्पसार बन्ने प्रवृत्तिले पार्टीमा पटकपटक विवाद चुलिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button