
मधेशदृष्टि
वीरगंज ।
वीरगंज महानगरपालिकाका आइटी शाखामा कार्यरत कर्मचारीलाई भारतीय नम्बरको गाडीले ठक्करबाट मृत्यु भएको घटनामा प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि कर्मचारी आन्दोलनमा उत्रिएसँगै आज अपरान्ह पर्सा प्रहरीले मुद्दा दर्ता गरेको छ । वीरगंज महानगरपालिकाको वडा नम्बर १६ नगवा चोकमा साउन ३१ गते राति बिआर २२ बिसी ०४९२ नम्बरको भारतीय कारले ठक्कर दिँदा वीरगंज महानगरपालिका कार्यालयका आइटी शाखाका कर्मचारी छपकैया निवासी २९ वर्षीय फयाजुल हकको उपचारक्रममा सोमबार राति नारायणी बयोधा अस्पतालमा मृत्यु भएको थियो ।
कर्मचारीको मृत्युपछि महानगरका कर्मचारीले ज्यान मुद्दामा उजुरी दर्ता गर्न जाँदा प्रहरीले उजुरी दर्ता गर्न आनाकानी गरेपछि कर्मचारी र स्थानीय आक्रोशित भएका थिए । घटनालाई लिएर महानगरपालिकाका कर्मचारी आन्दोलनमा उत्रने तयारी गरेपछि जिल्ला प्रहरी कार्यालयबाट महानगरमै प्रहरी टोली पुगेर उजुरी दर्ता गर्ने सहमति भएपछि मंगलबार अपरान्ह मुद्दा दर्ता गरिएको वीरगंज महानगरपालिका कर्मचारी एसोसिएसनका अध्यक्ष मुकेश गुप्ताले बताए ।
प्रहरीले सवारी दुर्घटनामा मुद्दा दर्ता नगरेको भन्दै दिउँसो आक्रोशित छपकैयाका स्थानीय बासिन्दाले वीरगंजको नारायणी अस्पतालअगाडि टायर बालेर प्रदर्शन गरेका थिए । मंगलबार प्रहरीले पीडित परिवारसँग सहमति जनाउँदै सवारी ज्यानमा मुद्दा दर्ता गर्ने सम्झौता गरेको वडा प्रहरी कार्यालय बिर्ताले जानकारी दिएको छ ।
साउन ३१ गते वीरगंजको नयाँ बसपार्कबाट बाइपास सडकखण्ड हुँदै घरतर्फ साथी जयमंगल राज गुप्ताले चलाएको मधेश प्रदेश ०३–००५ प ५७२२ नम्बरको मोटरसाइकल पछाडि बसेका हकलाई राति ११ः३० बजे नगवामा वीरगंज महानगरपालिका वडा नम्बर ३ का २० वर्षीया प्रिया कुमारी सर्राफले चलाएको भारतीय कारले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते हकको ३ दिनपछि बयोधा अस्पताल गण्डकमा मृत्यु भएको थियो । घटनामा प्रहरीले २० वर्षीया प्रिया र राहुल कुमार सर्राफलाई पक्राउ गरी सवारी ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।






