जसपा नेपालले चारमहिने अभियान चलाउने

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले चारमहिने सङ्गठन विस्तार अभियान चलाउने भएको छ । पाँच लाख नयाँ सङ्गठित क्रियाशील सदस्य थप्ने लक्ष्यसहित पार्टीले भदौ पहिलो सातादेखि मङ्सिर मसान्तसम्म आधारभूत सङ्गठन निर्माण अभियान शुरू गर्ने योजना बनाएको हो ।

सङ्घ र प्रदेश सरकारबाट बाहिरिएको जसपा नेपालले सिँगो पार्टी पंक्ति चार महिनासम्म विशुद्ध सङ्गठन निर्माणमा होमिन लगाउन केन्द्रीय नेतृत्वलाई एक दिवसीय प्रशिक्षणसमेत दिएको छ । ललितपुरको महालक्ष्मीस्थान–६ सानोगाउँस्थित थसी ब्याक्वेटमा आइतबारदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकको दोस्रो दिन सोमबार दुई सय १५ केन्द्रीय सदस्यलाई सङ्गठन निर्माण अभियानबारे प्रशिक्षण दिइएको हो ।

केन्द्रीय सदस्यलाई प्रशिक्षण दिँदै अध्यक्ष उपेन्द्र यादवले आगामी चार महिनासम्म सङ्गठन निर्माण, विस्तार, शुद्धिकरण र सुदृढीकरण अभियानमा होमिन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिए । ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण’ नाम दिइएको अभियान व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन सक्रिय भएर लाग्न अध्यक्ष यादवले आह्वान गरे ।

सङ्गठनलाई चुस्तदुरुस्त र बलियो बनाउन, उत्पीडित समुदायको हकअधिकारको पैरबी गर्ने उद्देश्यले अभियान शुरू गर्न लागिएको उनको भनाइ थियो । ‘यो केन्द्रीय समिति बैठकले आगामी अभियान सञ्चालन गर्न समयावधि निर्धारण गर्ने र केन्द्रीय सदस्यलाई जिल्ला, महानगर, नगरलगायत स्थानीय तहको अभियन्ताको रूपमा जिम्मेवारी दिएर पठाउँछौँ,’ अध्यक्ष यादवले भने ।

देशव्यापीरूपमा जनपरिचालन अभियान, जसमा सदस्यता वितरण, सङ्गठन निर्माण र परिचालन, प्रशिक्षण, सेमिनार, गोष्ठी, जनसभालगायत आवश्यक कार्यक्रम तय भएको जसपा नेपालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button