‘पुरानो मर्मत भएन, अब नयाँ पुल चाहियो’

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेशको जीवनरेखा मानिएको हुलाकी सडक राजमार्गअन्र्तगत धनुषा र सिरहा जोड्ने कमला पुल निर्माण माग गर्दै सिरहाका स्थानीयले मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापन पत्र बुझाएका छन् । कमला पुल भत्किएको २ वर्षभन्दा बढी समय भइसक्दासमेत पुल निर्माण हुन नसकेकाले नयाँ पुल निर्माणको माग गर्दै सिरहाबाट आएका स्थानीयले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

सिरहाबाट आएका प्रवीण यादवले हुलाकी सडकअन्तर्गत कमला पुल निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको बताए । उनले अभिभावक मधेश सरकार नै रहेको मधेश सरकारले नै यो समस्या समाधान गर्नुपर्ने बताए । उनले भने, ‘यहाँबाट अरु कतै यो माग लिएर जाँदैनौँ, हाम्रो माग प्रदेश सरकारले कसरी सम्बोधन गर्छ, त्यो हाम्रो सरोकारको विषय होइन तर कमला पुल प्रदेश सरकारले जसरी पनि निर्माण गरिदिनु पर्यो ।’

अर्का स्थानीय एवम् कमला पुल निर्माणका लागि माग गर्दै आइरहेका दिनेश यादवले यसअघि हामीले भासिएको पुल मर्मत गर भनेर माग गर्दै आएका थियौँ तर अब हामीलाई नयाँ पुल नै चाहिएको बताए । उनले पुरानो पुल मर्मत गर्ने नाममा ३ वर्षभन्दा बढी भइसकेकाले अब पुल काम नलाग्ने भएकाले नयाँ पुल चाहिएको बताए ।

यता, ज्ञापनपत्र बुझ्दै मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफूहरु कमला पुल निर्माणका लागि गम्भीर रहेको बताए । उनले संघ सरकारले अनुमति दिए आफूहरु आफ्नै बजेटबाट पनि पुल निर्माण गर्न तयार रहे पनि अधिकार नरहेकाले कुनै ठोस कदम उठाउन नसकेको बताए । मुख्यमन्त्री सिंहले आफूहहरुले हुलाकी सडक निर्माणका लागि प्रधानमन्त्रीलाई भेटेर जानकारी गराइसकेको प्रतिक्रिया दिए ।

मुख्यमन्त्री सिंहले ७ दिनभित्र पुल निर्माणका लागि प्रकृया अगाडि नबढाइए आमरन अनशनमा बस्ने आन्दोलनकारीको चेतावनीप्रति रोष प्रकट गरे । उनले ७ वर्षसम्म प्रदेश सरकार रहे नरहेको जनताले अनुभूति नगरेको र आफ्नो नेतृत्वको सरकार आएको २ महिनामै यस प्रकारको अल्टिमेटम दिँदा नियोजितरुपमा आन्दोलनको प्रारम्भ गरिएको जस्तो लागिरहेको शंका गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button