अब तेस्रो जनआन्दोलनमा सहभागी बनौँः प्रभु साह

[mashshare]

मधेशदृष्टि
रौतहट ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साह तेस्रो जनआन्दोलनको आन्तरिक तयारीमा जुटेका छन् । दलाल दलतन्त्र विरुद्ध तेस्रो जनआन्दोलनको घोषणा गरेका साहले शनिबार विभिन्न चार कार्यक्रममा सहभागि हुँदै आम जनताको शासनका लागि जुटन निर्देशन दिए । ‘जनताले लडेर ल्याएको लोकतन्त्र दलतन्त्रले सिध्यायो । आज त्यही दलतन्त्र दुई दलले मिलेर सिध्याउन लागेका छन् । यसको विरुद्धमा हामी एकजुट हुन जरुरी छ ’ आजपा अध्यक्ष साहले भने, ‘दलाल दलतन्त्र विरुद्ध तेस्रो जनआन्दोलनलाई निर्णायक बनाउँन साहले योजनाबद्ध तरिकाले अगाडी बढिरहेका छन् । विद्यार्थी, श्रमजिवि मजदुर एवं धर्मलाई आफ्नो हतियारको रुपमा प्रयोग गर्न खोजेका साहले यि क्षेत्रको परिचालनमा जुटेका छन् । उनी लगातार युवा विद्यार्थी, मजदुर, धार्मिक कार्यक्रममा सहभागि भईरहेका छन् ।’

युवाहरुको बलियो संगठन आईटी आर्मी गठन गरेर अर्धसैन्य अभ्यास गर्दै अगाडी बढेका साहले गत २४ चैत २०८० मा काठमाडौँमा एक बृहत सभा गरेका थिए । २४ चैतमा आम जनताको शासन व्यवस्थाका लागि दलाल दलतन्त्र विरुद्ध ‘तेस्रो जनआन्दोलन’को उदघोष गरेका साहले त्यस यता बैठक, सभा, भेला लगायतका बिभिन्न कार्यक्रम मार्फत दलाल दलतन्त्रले मुलुक समृद्ध हुन नसक्ने बताउँदै आएका छन् । शनिबार बिहान ८ बजे आजपाको कोटेश्वर स्थित पार्टी केन्द्रीय कार्यालयमा कवाड व्यवसायीसँग साहले बैठक गरे ।

सर्वोच्च अदालतको आदेश विपरित काठमाडौँ महानगरपालिकाले कबाड व्यवसायीलाई दुख दिन थालेपछि उनीहरुलाई साहले साथ दिएका थिए । साहकै सहयोगमा काठमाडौँमा कवाड व्यवसायीले पटक पटक पदर्शन गर्दै आएका छन् । यस्तै आजपा अध्यक्ष साहले शनिबार नै १२ बजे बोलबम कवरिया संघको कालिमाटी स्थित कार्यक्रममा समेत सहभागि भए । भोलेनाथ बोलबम कवरिया संघको कार्यक्रममा सहभागि भएका साहले आयोजित मोटरसाईकल र्यालीको रिबन काटेर उदघाटन मात्रै गरेनन् । धर्म, संस्कृतिको जर्गेनाका लागि संघर्षमा उत्रिन आह्वन समेत गरे ।

बिभिन्न समूह एवं अतिवादी समूहहरुबाट हिन्दू धर्ममाथि भईरहेको आक्रमण, विरोधलाई प्रतिकार गर्दै आफ्नो धर्म, संस्कृतीलाई जोगाउँनुपर्ने उनले बताए । कवरिया संघको कार्यक्रम सकेर साह आजै जोरपाटी स्थित छिमेकी पार्टी प्यालेसमा आयोजित आजपा निकटको आम ट्रेड युनियन फेडरेसनको काठमाडौँ उपत्यका विशेष भेला कार्यक्रममा सहभागि भए । १ बजे जोरपाटी पुगेका साहले त्यहाँ मजदुरको हकहितका लागि सडक संघर्षमा उत्रिन मजदुरलाई आह्वान गरे ।

नेपालको उधोग व्यवसाय धरासायी बन्दै गईरहेको र सरकारमा सहभागिहरु भ्रष्टाचारमा डुबेकाले अब मजदुरहरुले ढिला नगरी आन्दोलनमा उत्रिनुपर्ने उनले बताए । अहिले नेपाली कांग्रेस र नेकपा (एमाले)को दुई दलीय सिण्डीकेटले लोकतन्त्र मात्रै नभई दलतन्त्र पनि खतरामा परेको टिप्पणी साहले गरे । एमाले र कांग्रेसको दुई दलीय सिण्डीकेट तोड्न अब विद्यार्थी, मजदुर, व्यवसायी सहितकाले सामुहिक रुपमा सडक संघर्षमा उत्रिनमा ढिलाई गर्न नहुने बताए । आजपा अध्यक्ष साहले जनताको शासन स्थापित गर्न र लोकतन्त्र जोगाउँनका लागि सडक संघर्षको बिकल्प नभएको बताए ।

आम विद्यार्थी मोर्चाको गौर नगर कमिटी गठन
प्रभु साह नेतृत्वको आमजनता पार्टी निकट आम विधार्थी मोर्चाको गौर नगरपलिकाको एक वडामा भेला सम्पन्न भएको छ । विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी कायम गर्न संघर्ष गर्ने निर्णय सहित भेला सम्पन्न भएको हो । विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्था गर्न ‘ नो टिचर नो टिचिङ’ को नारा सहित शैक्षिक आन्दोलनको संघर्षको लागि शनिबार गौर नगरपालिका ६ सबगढामा आम विद्यार्थी मोर्चाको वडा भेला मार्फत विद्यार्थी नेता अजय साहको अध्यक्षतामा ४० सदस्य नगर कमिटी गठन गरिएको छ ।

आजपा महासचिव त्रिभुवन साहको प्रमुख अतिथ्यमा सम्पन्न भेलामा आइटी आर्मीका महासचिव नरेश साह, आम विद्यार्थी मोर्चाको केन्द्रिय अध्यक्ष बिवेक साह, युवा नेता रबिन्द्र यादब, गौर आजपा अध्यक्ष रमसेवक साहको विशेष उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button