
मधेशदृष्टि
जनकपुरधाम ।
अघिल्लो सरकारले गठन गरेको सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले जनताको बचत संकलनका लागि सहकारी संस्था संस्था खोलेर बदमासी गर्दै विदेश भाग्ने १८ सहकारी सञ्चालकलाई समातेर ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । सहकारीका नाममा ठगी गर्ने १८ जनामा एक नम्बरमा भने गितेन्द्रबाबु (जिबी) राई नै छन् । समितिले सहकारीमा ठगी गरेर सम्पर्कविहीन भएका १८ जनाको नाम गृहमन्त्री रमेश लेखकलाई उपलब्ध गराउँदै समातेर देशमा ल्याउन निर्देशन दिएको हो ।
सहकारीको अर्बौँ बचत ठग्ने ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राई मलेसियामा लुकेर बसेको अनुमान गरिएको छ । सोमबार सिंहदरबारमा गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख लगायतसँग छलफल गर्दै समितिले सहकारी ठगीमा संलग्न १८ जना देशबाहिर रहेको पाइएकाले नेपाल ल्याउन निर्देशन दिएको हो । ठूला सहकारीका सञ्चालकहरु भने जनताको बचत हिनामिना गर्दै अमेरिका, बेलायत, मलेसिया, सिंगापुर, भारतलगायतका देशमा लुकेर बसेको पाइएको छ ।
को कुन देशमा
१. जिबी राई (स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था) मलेसिया
२. भरत महर्जन (सुमेरु बचत तथा ऋण सहकारी संस्था) बेलायत
३. राजमाया महर्जन श्रीमती (सुमेरु बचत तथा ऋण सहकारी संस्था) बेलायत
४. सचिन महर्जन (सुमेरु बचत तथा ऋण सहकारी संस्था) बेलायत
५. छोरा, सरला महर्जन छोरी (सुमेरु बचत तथा ऋण सहकारी संस्था) बेलायत
६. ज्ञानबहादुर बम्जन (सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था) अमेरिका
७. थानबहादुर बुढामगर (सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था)
८. भूपेन्द्र राई (सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था)
९. तेजबहादुर बम्जन तामाङ (शिवदर्शन बचत तथा ऋण सहकारी संस्था) भारत–युरोप
१०. देवकुमार नेपाली (इमेज बचत तथा ऋण सहकारी संस्था) भारत
११. छेदा नेपाली (इमेज बचत तथा ऋण सहकारी संस्था) भारत
१२. तस्बिरन खातुन (सानो पाइला बचत तथा ऋण सहकारी संस्था)
१३. असरफ अली (सानो पाइला बचत तथा ऋण सहकारी संस्था)
१४. सुभास केसी (सहारा बचत तथा ऋण सहकारी संस्था)
१५. दीपक पौडेल (इमेज बचत तथा ऋण सहकारी संस्था) भारत
१६. लीलानाथ गौतम (शिवशिखर बचत तथा ऋण सहकारी संस्था)
१७. महाशंकर रेग्मी (मेघा ड्रिम बचत तथा ऋण सहकारी संस्था)
१८. प्रेमध्वज लामा (कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ)
केबी उप्रेतीलाई मुद्दा
राष्ट्रिय सहकारी बैंकका अध्यक्षसमेत रहेका आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर (केबी) उप्रेतीविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले सरकारी वकिलको कार्यालय काठमाडौँमा प्रतिवेदन बुझाएपछि जिल्ला सहकारी वकिलको कार्यालय काठमाडौँले उप्रेतीसहित नौ जनालाई प्रतिवादी बनाउँदै अभियोगपत्र दायर गरेको छ ।
सहकारी अध्यक्ष उप्रेती, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीका तत्कालीन उपाध्यक्ष शिवप्रसाद कट्टेल, सोही संस्थाका तत्कालीन कोषाध्यक्ष मुकुन्द्रप्रसाद पाण्डे र सदस्य बद्री महतविरुद्ध अभियोगपत्र दायर भएको छ । हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी सञ्चालकहरू अरुण भण्डारी र विष्णुबहादुर रिमाल, लेखा समिति संयोजक राजु पौडेल तथा सोही संस्थाका कर्मचारी विश्वम्भर रिमालविरुद्ध पनि अभियोगपत्र दायर भएको छ ।
त्यस्तै, मर्जरपछिको संस्थाका सदस्य प्रकाशमान शाही खड्गीलाई समेत विपक्षी बनाइएको छ । काठमाडौँमा केन्द्रीय कार्यालय भएर सञ्चालनमा रहेका पाँच सहकारी संस्था मर्जर भई आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था बनेको हो । संस्थाको एकीकृत करोबार ७ अर्ब रुपैयाँ भन्दा धेरै छ । संस्थाले १५ करोड ७७ लाख २० हजार ४० रुपैयाँ ठगी गरेको पुष्टि भएको भन्दै अभियोगपत्र दर्ता भएको हो । उप्रेती पक्राउ परेका छन् भने अन्य अभियुक्त फरार छन् ।






