दलित बालिकामाथि सामूहिक बलात्कार

डरधम्कीले २० दिनपछि प्रहरीमा जाहेरी, आरोपीहरु फरार

[mashshare]

गुजरा–४, कनकपुर गाउँका २० वर्षीय शेख इञ्जमाम, २१ वर्षीय शेख मुस्ताक र २५ वर्षीय दीपेन्द्र कुमार दासविरुद्ध जबर्जस्ती करणीलगायतको मुद्दा दर्ता भएको छ भने उनीहरु फरार छन् । घटनाबारे पीडितले परिवारमा जानकारी गराएपछि स्थानिय निकायका केही जनप्रतिनिधि र केही राजनीतिक दलका नेताले परिवारलाई नै दबाब दिन थालेपछि तत्काल घटना बाहिर आउन नसकेको हो । लेनदेनका भरमा सामूहिक बलात्कारजस्तो जघन्य अपराध मिलाउने चलखेलसँगै पीडित परिवारमाथि दिइएको विभिन्न धाकधम्कीका कारण उनीहरू प्रहरीमा तत्काल जान नसकेका हुन् ।

सञ्जय मिश्रा
रौतहट ।
गुजरा नगरपालिकाकी एक दलित बालिकामाथि सामूहिक बलात्कारको घटना बाहिर आएको छ । घटना भित्रभित्रै मिलाउन लामो रस्साकस्सी चलेको अन्ततः प्रहरीमा दर्ता भएपछि घटना बाहिरिएको हो । घटनापछि केही स्थानीय जनप्रतिनिधिले लेनदेनमा मुद्दा मिलाउन चलखेल गरेका कारण घटनाको २२ दिनपछि मात्र मुद्दा दर्ता भएको हो ।

गुजरा नगरपालिकाकी उपमेयर रत्ना लामाको पहल र जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा आरोपीहरुविरुद्द इलाका प्रहरी कार्यालय गरुडामा साउन ७ गते मुद्दा दर्ता भएको हो । पीडित र पीडक गुजराकै भए पनि घटनास्थल कटहरिया भएकाले मुद्दा गरुडामा दर्ता भएको प्रहरीले जनाएको छ । आरोपी गुजरा–४, कनकपुर गाउँका शेख जफिरका छोरा २० वर्षीय शेख इञ्जमाम, शेख बाकलका छोरा २१ वर्षीय शेख मुस्ताक र रामचन्द्र दास तत्माका छोरा २५ वर्षीय दीपेन्द्र कुमार दासविरुद्ध जबर्जस्ती करणीलगायतको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयकी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षणसमेत भएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइनुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिइन् । घटना विवरणअनुसार आरोपीमध्ये एकजनाले गुजरा–४, कनकपुर गाउँकै १७ वर्षीया दलित बालिकालाई विभिन्न प्रलोभन दिएर ललाइफकाई असार १५ गते दिउँसो कटहरिया–२, कनकपुर जमुनिया गाउँबीचको चौरमा लगेका थिए । पहिल्यैदेखि त्यहाँ लुकेर बसेका अन्य दुई आरोपीसहित तीनैजनाले बलपूर्वक दलित बालिकालाई पालैपालो बलात्कार गरी मोबाईल फोनबाट भिडियोसमेत बनाएका थिए ।

घटनाबारे पीडित बालिकाले परिवारमा जानकारी गराएपछि स्थानिय निकायका केही जनप्रतिनिधि र केही राजनीतिक दलका नेताले परिवारलाई नै दबाब दिन थालेपछि तत्काल घटना बाहिर आउन नसकेको हो । भित्रभित्रै लेनदेनका भरमा सामूहिक बलात्कारजस्तो जघन्य अपराध मिलाउने चलखेल शुरु भएपछि परिवारजन प्रहरीसम्म पुग्न ढिलाइ भएको हो । पीडित परिवारमाथि दिइएको विभिन्न धाकधम्कीको कारण उनीहरू प्रहरीमा जानसकेनन् ।

घटनाको २० दिनपछि गुजरा नगरपालिकाकी उपमेयर रत्ना लामाले घटनाबारे जानकारी पाएर पीडितको घरमा पुगेर उनीहरूलाई हौसला दिँदै घटनाबारे एसपी घिमिरेलाई जानकारी गराएकी थिइन् । लगत्तै एसपी घिमिरेको निर्देशनमा पीडित परिवारले पीडकविरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा लिखित जाहेरी दिएका थिए । जाहेरीसँगै एसपी दिलीप घिमिरे, इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वाती, इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर इन्द्रमणि अधिकारी आफँै फिल्डमा खटिएर कानूनी कारबाही प्रक्रिया अगाडि बढाएको गुजराकी उपमेयर लामाले जानकारी दिइन् ।

एसपी घिमिरेले बलात्कारजस्तो जघन्य अपराधलाई लेनदेनका भरमा टुंगो लगाउने कार्य आफैँमा अपराध भएको बताए । उनले यस्तो कार्य गर्ने जोसुकै भए पनि कडा कारबाही हुने बताए । आरोपी तीनैजना फरार रहेकाले उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button