
वीरेन्द्र रमण
जनकपुरधाम ।
मिथिलाका नवविवाहिता नारी मधुश्रावणी पर्वको रमझममा रमाइरहेका छन् । पति र पत्नीबीच दाम्पत्य जीवन आत्मीय बन्ने विश्वासले नवविवाहिता नारीले यो पर्व मनाउँछन् । मधुश्रावणी पर्वले विवाहबन्धनमा बांधिएका नारीलाई कसरी दाम्पत्य जीवन चलाउनु पर्छ र मधुर बनाउनु पर्छ भन्ने सिकाउने गरेको जानकारहरु बताउँछन् ।
यतिखेर नवविवाहित महिला श्रृंगारमा सजिएर घर नजिकको फूलबारीमा गीत गाउँदै फूल टिप्ने गरेको दृश्य जताततै देख्न सकिन्छ । साथै, बिहान घरघरमा हुने मधुश्रावणी पूजाले सिंगो मिथिलाञ्चल रमेको छ । मैथिली समुदायले साउन कृष्णपञ्चमीदेखि साउन शुक्ल तृतीयासम्म मधुश्रावणी मनाउने गर्छन् ।
व्रतालु स्नेहा कर्णले विवाहको पहिलो वर्षमा मनाइने यस वर्षले शिवपार्वतीको कथाको माध्यमले सफल दाम्पत्य जीवनको विषयमा सिकाउने बताइन । उनले साँझ साथीहरुसँग मिलेर फूल टिप्ने र बिहान त्यही फूलले पूजा गर्ने गरेको र कथा सुन्ने गरेको बताइन् । अर्का व्रतालु सपना कुमारी कर्णले साँझ फूल टिप्ने र बिहान नागदेवताको पूजा गर्ने गरेको बताइन् । उनले पृथ्वीको उत्पत्ति जस्ता कथामार्फत परिवार सञ्चालन र दायित्वलगायतका विषयविस्तु सम्झाउने गरिएको बताइन् । स्थानीय सुनिता मिश्रले यसपर्वमा खास गरी गौरी र विषहाराको पूजा हुने गरिएको बताइन् । प्रत्येकदिन पूजापश्चात महिला पुरोहितले मधुश्रावणी व्रतको कथा सुनाउँछन् । मधुश्रावणी व्रत कथामा प्रत्येक दिनको छुट्टाछुट्टै १३ वटा कथा छन् ।
पहिलो दिन मौनापञ्चमी र विषहराको जन्मको कथा, दोस्रो दिन बिहुला र मनसाको कथा, विषहरा र मंगला गौरीको कथा, तेस्रो दिन पृथ्वीको जन्म र समुद्र मन्थनको कथा, चौथो दिन सतीको कथा र पतिव्रताको कथा, पाँचौँ दिन महादेवको पारिवारिक कथा सुनाइन्छ । यस्तै, छैठौँ दिन गंगाको कथा, गौरीको जन्मकथा, काम–दहन कथा, सातौँ दिन गौरीको तपस्या, आठौँ दिन गौरीको विवाह वर–तथा–बरियाती, नवौँ दिन मैनाको मोह, गौरीको विवाह, १०औँ दिन कार्तिकको जन्मकथा, गणेशको जन्म र गौरीको नागको कथा, ११औँ दिन सन्ध्याको विवाह र लिलीको जन्मकथा, लिलीको विवाह कथा, १२औँ दिन बाल–वसन्त र गोसाउनको कथा र १३औँ अर्थात् अन्तिम दिन श्रीकर राजाको कथा सुनाइन्छ ।
मधुश्रावणी पर्व मिथिला क्षेत्रको विशिष्ट पर्व भए पनि ब्राह्मण, कायस्थ, भूमिहार र सोनार जातिले मात्रै मनाउने गर्छन् । पर्वमा जाति र स्थानअनुसार विधिमा विविधतासमेत पाइन्छ । ब्राह्मण परिवारमा पूजा अवधिभरि ससुरालीबाट आएको अन्न मात्रै खाने प्रचलन छ । तर अन्य जातिमा भने यस्तो छैन । मिथिलाको सांस्कृतिक जीवनमा मधुश्रावणी पर्वको महत्वपूर्ण स्थान छ । यो पर्व मिथिलाञ्चल क्षेत्रमा मात्र मनाइने भएकाले पनि यसको महत्व झन बढेको हो । यस अवसरमा नवविवाहिता महिलाले विवाहको प्रथम वर्षको श्रावणमा नागपूजा गर्दै आफ्नो सौभाग्यको दीर्घकामना र सुखी जीवनको मंगल कामना गर्दछन् ।
मधुश्रावणीलाई सौभाग्यको पर्व पनि भनिन्छ । विभिन्न पूजापाठ र संस्कृतिका लागि प्रख्यात मिथिलामा मधुश्रावणी व्रतको विशेष महत्व छ । श्रावणको पवित्र महिनाले नवबधुका लागि खास महत्व राख्छ । मिथिलाका नवविवाहिता बधुले आफ्ना पतिको दीर्घायुको कामना र सम्पूर्ण परिवारको मंगल कामनाहेतु माता विषहरा र उनका पूरै परिवारको पूजा गर्छन् ।
पर्वमा कतिपय कथा शिवपार्वतीको वैवाहिक, रोमाञ्चक प्रसंग एवम् ठट्यौली भरिएका कारण नारी जीवनमा पतिप्रतिको स्नेह, सौहार्दतालाई प्रगाढ बनाउन प्रेरित गर्दछ भने सर्पकी आमा विसहरा र उनको वंशका बारेमा चर्चित कथाले नागको पूजा गर्ने भावनालाई अभिप्रेरित गर्ने जनविश्वाससमेत पाइन्छ । श्रावण महिना आएलगत्तै मिथिलाञ्चलमा लोकसंस्कृतिले भरिएका मधुश्रावणीका गीतसमेत गुञ्जिने गर्छ । यस पर्वमा माटोको मूर्ति, विषहर, गौर बनाइन्छ । नवविवाहिता महिला मधुश्रावणी अवधिमा चोखो भोजन ग्रहण गर्छन् ।
यस अवधिमा नवविवाहिता व्रत बसी श्रीगणेश, माटो र गोबरबाट बनाइएका विषहरा एवम् गौरी–शंकरको विशेष पूजा गर्छन् । मधुश्रावणी व्रतको शुरु र अन्तिम दिनमा व्रतालुद्वारा समाज र परिवारका महिला सदस्यलाई अंकुरित चना, मुंग प्रसादको रूपमा बाँड्ने परम्परा छ । व्रतालु महिला पूजाका समयमा गोसाउनको गीत तथा मधुश्रावणी पर्वसँग सम्बन्धित गीत गाउँछन् र साँझको समयमा कोहबर गीत तथा साँझ गीत गाउने परम्परा छ । पर्वको अन्तिम दिन टेमी दाग्ने (नवविवाहित बधुको दुईवटै घुँडा र खुट्टामा बलिरहेको बत्तीले दाग्ने) परम्परा छ । जुन व्रतालुको दुई वटै घुँडामा फोका उठ्छ, उसको पतिको आयु लामो हुने जनविश्वास छ । यस पर्वले धार्मिकताका साथै घरपरिवार प्रकृतिप्रतिको स्नेह र घरव्यवहारप्रतिको दायित्व निर्वाहको सन्देश प्रवाह गरिरहेको छ ।






