
मधेशदृष्टि
सर्लाही ।
विभिन्न कालोधन्दा चलाउन खप्पिस हरिवन नगरपालिका–११ का सिद्धिबहादुर राय क्षेत्री (अर्जुन)ले जिल्ला अदालत सर्लाहीमा जाहेर गरेको ज्यान मार्ने आपराधिक षड्यन्त्रको मुद्दा झुठो ठहर भएको छ । बागमती नगरपालिका–१२ स्थित बागमती नदी किनारमा अवैध रुपमा हरिओम एग्रिगेट इन्डस्ट्रिज, बर्दिबासको रातु खोलामा क्रसर र लालबन्दी नगरपालिका–७ स्थित बजारमा डालि मार्ट नामको डिपार्टमेन्टल स्टोर तथा प्रभात हार्डवेयरका सञ्चालक र भक्तपुरको गठ्ठाघरमा करिब ३ रोपनीमा भव्य होटल निर्माणाधीन अवस्थामा रहेका अर्जुन फेरि पनि कुनै मानिसलाई फसाउन तम्सिएको भए पनि अफसल भएका छन् ।
२०७८ पुस २२ गते सर्लाहीकै बागमती नगरपालिकाका लेखा अधिकृत विश्वराज पोख्रेलले आफूलाई गोली हान्न सुपारी दिएको भन्दै ज्यान मार्ने आपराधिक षड्यन्त्रको झुठो मुद्दा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेर गरी पोख्रेलको पैतृक सम्पत्ति हडप्ने दाउमा लागेका अर्जुनको सपना जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलाशले झुठो रहेको ठहर गरेको हो ।
सामान्य दुध बेच्ने परिवारमा हुर्किएका अर्जुन समयसमयमा विभिन्न मानिसलाई झुठा मुद्दा लगाएर अकुत सम्पत्ति आर्जनमा सफल हुँदै आए पनि उनको सम्पत्तिको आधिकारिक र वैध स्रोत खुलाउने सक्ने कुनै अवस्थामा छैनन् । क्रसर उद्योग सञ्चालन गर्दा करोडौँ रकम राजश्व नबुझाएर क्रसर उद्योग बन्द गरिएका अर्जुन लालबन्दी नगरपालिका–७ स्थित बजारमा डाली मार्ट नामको डिपार्टमेन्टल स्टोरमा पनि समयसमयमा म्याद गुज्रिएका सामान चर्काे शुल्कमा बिक्री गरेर अकुत अर्थाेपार्जनमा लागिरहेको पाइएको छ ।
सम्पन्न परिवारका पोख्रेलका छिमेकीसमेत रहेका अर्जुन पोख्रेलसँग केही समय पहिलादेखि नै जग्गाको विवादमा पर्दै आएका थिए । उनले सोही जग्गा हडप्ने दाउमा पोख्रेलसहित ५ जनाविरुद्ध ज्यान मार्ने आपराधिक षड्यन्त्रको झुठो मुद्दा दायर गरेर आफू ओभानो बन्न खोजेका थिए । तर त्यो सपना न्यायाधीश रेग्मीको इजलासले चक्नाचुर पारिदिए पछि अहिले उच्च अदालत जाने भन्दै बताउन थालेका छन् ।
अवैध बाटोबाट अकुत सम्पत्ति आर्जन गरेका अर्जुनले ज्यान मार्ने आपराधिक षड्यन्त्रको झुठो मुद्दा गरेबापत सरोकारवाला निकायलाई राम्रो आर्थिक प्रलोभनमा पारेका समेत पीडित पक्षको दाबी छ । लेखा अधिकृत पोख्रेल परिवारसँगै मुस्ताङ घुम्न गएको समयमा बाटैमा प्रहरी लगाएर आफैँले आपराधिक शैलीमा नियन्त्रणमा लिएर काठमाडौँ ल्याउन सफल भएका अर्जुन बाहिर देख्दा जति सुन्दर, भद्र र शालीन देखिन्छन्, भित्र भने त्यस्ता छैनन् ।
बर्दिवासको युनाइटेड होटलका सञ्चालक विष्णु खड्कासँग साझेदारी व्यापार गरेका अर्जुन राम्रो आम्दानी हुन थालेपछि व्यापारिक साझेदारलाई नै पाखा लगाउने दाउमा लागेका थिए, तर खड्काले यो कुरा थाहा पाएपछि अर्जुनसँगको साझेदारी तोडेको समेत स्रोतको दाबी छ । ‘टार्गेट मिस’भएपछि सुटरसँगै आएका एकजना युवाले हत्या योजनबारे खुलासा गरेपछि पोख्रेल मुख्य योजनाकार रहेको खुलेको आरोप लगाउँदै ज्यान मार्ने आपराधिक षड्यन्त्र गरेको भन्दै झुठो मुद्दा जाहेर गरेकामा अन्ततः निष्पक्ष कानूनको फन्दामा परेका छन् । कानुन व्यावसायीहरुका अनुसार झुठो मुद्दा दायर गरेको प्रमाणित भए जाहेरवालालाई ३ देखि ६ वर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ । यद्यपि फैसलाको पूर्णपाठ आउन बाँकी छ ।






