
रथयात्रालाई शुभकामना दिन मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंह पनि वीरगंज आइपुगेका थिए । उनले गहवामाई मन्दिरमा पूजाआजा गरेर रथयात्रामा सहभागीलाई आभार प्रकट गरेका थिए । रथयात्राका सहभागी मुख्यमन्त्रीको सहभागिताले थप उत्साहित भएका थिए ।
मधेशदृष्टि
वीरगंज ।
गहवामाई मन्दिर पुनव्र्यवस्थापनको १२ औँ वार्षिकोत्सव पारेर आयोजित दोश्रो रथयात्रा आइतबार भव्य भएको छ । ऐतिहासिक गहवामाई मन्दिरको १२ औँ वार्षिकोत्सव पारेर दोश्रोपटक निकालिएको रथयात्रामा भक्तजनको सागर उर्लिएको थियो ।
गहवामाई मन्दिरको प्राङ्गणबाट आइतबार बिहान ६ः३० बजे प्रारम्भ भएको रथयात्रा महानगरको घण्टाघर, रेलवे रोड, अमर चोक, छपकैया चोक, बिर्ता चोक, अलख्या मठ, आदर्शनगर चोक, महावीर स्थान हुँदै पुनः गहवामाई मन्दिरमै फर्किएर समापन भएको थियो । रथयात्रमा हिन्दू धर्म र संस्कृति झल्कने विभिन्न झाँकीसहित तराई–मधेशका प्रचलित लोकबाजाका झाँकी पनि प्रस्तुत भएको थियो ।
रथयात्रामा सहभागी भक्तजनका लागि विभिन्न सामाजिक संघसंस्थाले नगरका ठाउँठाँउमा चिसो पानी, सर्वत, लस्सी र जुस निःशुल्क उपलब्ध गराएर सद्भाव देखाएका थिए । रथयात्रामा बारा, पर्सा, मकवानपुर र छिमेकी मुलुक भारतका सीमावर्ती शहरबाट पनि हजारौँको संख्यामा भक्तजनको सहभागिता रहेको रथयात्रा समितिका अध्यक्ष श्याम पोखरेलले बताए ।
उनले आइतबार साँझ भजन किर्तन तथा अन्य सांस्कृतिक कार्यक्रम गरेर आइतबारको कार्यक्रम सम्पन्न भएको जानकारी दिए । यस्तै, असार २४ गते सोमबार बेलुका ५ बजे प्रसाद ग्रहण कार्यक्रम रहेको आयोजकले जनाएको छ । काठको रथमा यसपटक विभिन्न दाताको सहयोगमा ३५ लाख रुपैयाँ बराबरको करिब २८ केजी चाँदीबाट निर्मित डोलीमा गहवामाईको प्रतिमा राखेर रथयात्रा गरिएको रथयात्रा समितिका अध्यक्ष पोखरेलले बताए ।
उनले चाँदीको प्रतिमाबाहेक यसपटकको रथयात्रामा करिब २० लाख रुपैयाँ खर्च हुने बताए । गतवर्ष रथयात्रामा ६० लाख रुपैयाँ संकलन भएकामा ४० लाख रुपैयाँ खर्च भएको र २० लाख रुपैयाँ बचत भएको अध्यक्ष पोखरेलले बताए । यस्तै, रथयात्रामा भक्तजनको बढी सहभागिता जनाउन लागि वीरगंज महानगरपालिकाले नगर क्षेत्रभित्रका शिक्षण संस्था एक दिनका लागि बन्द गराएको थियो भने २ दिनसम्म माछामासु तथा मदिरा बिक्री वितरणमा रोक लगाएको थियो ।
वीरगंजलाई धार्मिक पर्यटन केन्द्र बनाउने उदेश्यले विभिन्न समयमा महाआरती, रथायात्रालगायतका कार्यक्रम हुुँदै आएका छन् । सोहीअनुरुप आइतबार दोश्रोपटक रथयात्रा निकालिएको वीरगंज महानगरपालिका कार्यालयले जनाएको छ । २०८० असार ५ गते पहिलोपटक वीरगंजमा रथयात्रा निकालिएको थियो । यसवर्ष दिइएको निरन्तरतामा सोचेभन्दा बढी भक्तजनको सहभागिताले आयोजक हौसिएका मात्र छैनन्, रथयात्राक्रममा स्थानीयले देखाएको सद्भावले पनि वीरगंजमा हिन्दू धर्मावलम्बीहरुले धार्मिक सहिष्णुतासहित सद्भावको सन्देश पनि दिएका छन् । वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले वीरगंजलाई वैभव वीरगंज बनाउने गरी काम भइरहेको बताए । उनले वीरगंजलाई धार्मिक पर्यटन क्षेत्र बनाउने गरी महानगरले काम गरिरहेको बताए । ‘मुहारमा मुस्कान, जिन्दगीमा शैली जरुरी छ,’ नगरप्रमुख सिंहले भने, ‘आगामी वर्षहरुमा अरु भव्य र सुन्दर रथयात्रा गरिनेछ ।’
रथयात्रालाई शुभकामना दिन मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंह पनि वीरगंज आइपुगेका थिए । उनले गहवामाई मन्दिरमा पूजाआजा गरेर रथयात्रामा सहभागीलाई आभार प्रकट गरेका थिए । रथयात्राका सहभागी मुख्यमन्त्रीको सहभागिताले थप उत्साहित भएका थिए ।









