
मधेशदृष्टि
वीरगंज ।
स्वास्थ्य मन्त्रीको आफ्नै गृह जिल्लामा रहेको मधेशकै सबै भन्दा ठूलो सरकारी अस्पतालको रुपमा रहेको नारायणी अस्पताल अस्तव्यस्त भएको छ । नारायणी अस्पतालमा सञ्चालनमा आएको ६ महिना बित्न नपाउँदै ३० करोड रुपैयाँमा खरिद गरिएको एमआरआई सेवा करिब २ महिनादेखि बन्द भएको छ भने अस्पतालका अन्य सेवाहरु समेत अवरुद्ध बनेका छन् ।
त्यसैगरी ८ सैयाको मुटु सघन उपचार कक्ष दुई हप्ता देखि बन्दरहेको छ भने मेडिसिन विभागमा विगतमा ४० बेड संख्या रहेकोमा अहिले ३२ बेड संख्यामा संचालन भईरहेको छ । त्यसैगरी अस्पतालको एन.आई.सि.यु. कक्ष विगतमा १४ सैयाको रहेकोमा अस्पताल व्यवस्थापनको लापरवाहीको कारण अहिले ८ सैयामा सिमित भएको छ । त्यसैगरी पि.आई.सि.यु. सेवा विगतमा ८ सैयाको रहेको अहिले ४ सैयामा सिमित भएको छ भने नारायणी अस्पतलको आकस्मिक सेवा समेत प्रभावित भएको अस्पतालका डा. उदय नारायण सिंहले बताए ।
देशभरिकै अस्पतालमध्ये सबैभन्दा खराब पूर्वाधार नारायणी अस्पतालमै रहेको छ । नारायणी अस्पताल भन्दा बाराजिल्लाको कलैया र रौतहट गौर अस्पतालको पूर्वाधार अहिले राम्रो छ । नारायणी पुरानो अस्पताल नाम मात्रको रहेको तर, केही काम हुन नसकेको बिरामीहरुको गुनासो छ ।
भवन अभावको कारण अस्पतालमा बिरामीको उपचारमै समस्या भइरहेको चिकित्सकहरुको भनाई छ । त्रिभुवन राजपथको पश्चिमतर्फको अस्पतालको मूल भवन महेन्द्र आरोग्य भवन अब जीर्ण भएर आंशिक प्रयोगमा मात्र छ । अस्पतालमा हाल पनि दैनिक बहिरङ्ग र अन्तरङ्ग सेवातर्फ गरी दैनिक १ हजार बढी बिरामी उपचारका लागि आउने गरेको छन् । तर, अस्पतालको विभिन्न सेवा अवरुद्ध हुँदा बिरामीहरु अन्यत्र गएर सेवा लिन बाध्य छन् ।






