
मधेशदृष्टि
रौतहट ।
आमजनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारसँग गरिबी निवारण गर्ने योजना नै नभएको टिप्पणी गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा सांसद साहले यस्तो आरोप लगाएका हुन् ।
‘गरिबी निवारण मन्त्रालय छ, गरिबी निवारण गर्ने योजना खोइ, उद्योग मन्त्रालयको बजेटमा रोजगारी सिर्जना गर्ने कुरा खोइ ?,’ उनले प्रश्न गरे ।
अध्यक्ष साहले सहकारी पीडितले न्याय पाउँछन कि पाउँदैनन् भनेर प्रश्न गर्दै भने, ‘सहकारी पीडितले न्याय पाउँछन् कि पाउँदैनन् ? अनि सहकारी ठगलाई कारबाही हुन्छ कि हुँदैन ?’ उनले जनतालाई सुलभ स्वास्थ्य सेवाको व्यवस्था गरिनुपर्ने कुरा उठाए । राज्यको लगानीमा चिकित्सा शिक्षा अध्ययन गरेका डाक्टर विदेश पलायनमा लागेको र भएका चिकित्सिक पनि ८० प्रतिशतभन्दा बढी शहरकेन्द्रित भएको उनको टिप्पणी छ ।
प्रत्येक गाउँपालिकामा सुविधासम्पन्न अस्पताल खोल्ने भनिए पनि अहिलेसम्म कार्यान्वयन नआएकोमा साहको गुनासो थियो । ‘सरकारी अस्पतालमा औषधि हुँदैन, भए पनि सस्तो औषधि र कम औषधि मात्रै हुन्छन्,’ साहले भने, ‘नजिकै निजी संस्था हुन्छ । त्यहाँ सबै औषधि पाइन्छ । सरकारी अस्पतालमा बेड पाइँदैन । निजी अस्पतालमा मनोमानी छ ।’






