नयाँ मधेश सरकार, १४ सदस्यीय मन्त्रिपरिषद्

[mashshare]

१. मुख्यमन्त्री सतिश कुमार सिंह मुख्यमन्त्री तथा मन्त्रिपरिषद् जनमत पार्टी
२. मन्त्री सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्रालय नेकपा एमाले
३. मन्त्री भरत प्रसाद साह अर्थ माओवादी केन्द्र
४. मन्त्री गोविन्द बहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी नेकपा एस
५. मन्त्री युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन माओवादी केन्द्र
६. मन्त्री राजकुमार लेखी शिक्षा तथा संस्कृति नेकपा एमाले
७. मन्त्री शत्रुधन प्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या नेकपा एमाले
८. मन्त्री बेचु लुंगेली ऊर्जा, सिँचाइ तथा खानेपानी नेकपा एस
९. मन्त्री प्रमोदकुमार जयसवाल खेलकुद तथा समाज कल्याण नेकपा एमाले
१०. मन्त्री बिमला अन्सारी गृह, कानुन तथा सञ्चार संघीय समाजवादी
११. मन्त्री उर्मिला चौधरी श्रम तथा यातायात मन्त्रालय नागरिक उन्मुक्ति
१२. राज्यमन्त्री केशव राय स्वास्थ्य तथा जनसंख्या नेकपा एमाले
१३. राज्यमन्त्री शारदा देवी थापा शिक्षा तथा संस्कृति नेकपा एमाले
१४. राज्यमन्त्री रञ्जुकुमारी मण्डल खंग विनाविभागीय जनमत पार्टी

वीरेन्द्र रमण
जनकपुरधाम ।
मधेश प्रदेशका मुख्यमन्त्रीमा जनमत पार्टीका सतिश कुमार सिंह नियुक्त भएका छन् । उनले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष उनले शपथग्रहण गरेका हुन् । उनले सरकारलाई समर्थन गरेका सबै दलको सहयोगमा मन्त्रिपरिषद् समेत विस्तार गरेका छन् । मन्त्रिपरिषद्मा नेकपा माओवादी केन्द्रका तर्फबाट अर्थमन्त्रीमा प्रदेश संसदीय दलका नेता भरत प्रसाद साह र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीमा युवराज भट्टराई नियुक्त भएका छन् ।

त्यस्तै, नेकपा एमालेबाट संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, राजकुमार लेखी शिक्षा तथा संस्कृति मन्त्री, शत्रुघनप्रसाद सिंह स्वास्थ्य तथा जनसख्या मन्त्री, प्रमोदकुमार जयसवाल खेलकुद तथा समाज कल्याण मन्त्री तथा केशव राय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र शारदादेवी थापा शिक्षा तथा संस्कृति राज्यमन्त्री नियुक्त भएका छन् ।

नेकपा एकीकृत समाजवादीका तर्फबाट संसदीय दलका नेता नेता गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, बेची लुङ्गेली ऊर्जा, सिँचाइ र खानेपानीमन्त्री भएका छन् । नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट बिमला अन्सारी गृह, सञ्चार तथा कानुनमन्त्री र नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंहलाई श्रम तथा यातायातमन्त्रीको जिम्मेवारी दिइएको छ । मन्त्रीहरुले समेत प्रदेश प्रमुखसमक्ष शपथ लिएका छन् भने राज्यमन्त्रीलाई प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्रीले शपथ ग्रहण गराए । जनमत पार्टीले विनाविभागीय राज्यमन्त्रीका रुपमा रञ्जुकुमारी मण्डल खंगलाई नियुक्त गरेको छ ।

शुक्रबार बिहान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष नेकपा एमालेका २४, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका नौ, नेकपा एकीकृत समाजवादीका सात तथा नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक–एक सदस्यको समर्थन पत्र पेश गरेको थियो । एमाले संसदीय दलका नेता सरोजकुमार यादव, माओवादीको संसदीय दलका नेता भरत प्रसाद साह, जनमत संसदीय दलका नेता महेशप्रसाद यादव, एकीकृत समाजवादीका संसदीय दलका नेता गोविन्दबहादुर न्यौपानेसहितका नेताहरू हस्ताक्षर पत्र लिएर प्रदेश प्रमुख कार्यालय पुगेका थिए ।

यसअघि, जनमत संसदीय दलका नेता यादवको नेतृत्वमा सरकार बनाउने चर्चा भए पनि जनमतले सिंहलाई अगाडि सारेको हो । जनता समाजवादी पार्टी जसपा, नेपालका तर्फबाट मुख्यमन्त्री रहेका सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गरेकी थिइन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी थिइन् । चार दलहरु संघीय सरकारमा सहभागी रहेको तीन दल मिलाउदा ५३ जना सदस्य मात्रै पुग्ने भएकाले संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेत सरकारलाई समर्थन गर्न आग्रह गरे पनि उनीहरुले समेत मन्त्रालय माग गरेका थिए । एक–एक जना प्रदेश सभा सदस्य रहेको दुवै पार्टीलाई एक–एक मन्त्रालयको जिम्मेवारी दिने सहमति भएपछि उनीहरुले समेत सरकारलाई समर्थन गरेका थिए । अहिले सिंह सरकारलाई ५५ प्रदेश सभा सदस्यको समर्थन छ ।

संघीयता सबल बनाउनेछुः मुख्यमन्त्री
मुख्यमन्त्री सतिश कुमार सिंहले संघीयता आएको ६ वर्ष बितिसक्दासमेत जुन हिसाबले कार्य हुनुपर्ने हो, त्यसअनुसारले नभएका कारण संघीयताप्रति प्रश्नहरु खडा भएको बताए । उनले विगतका सरकारले संघीयता बलियो बनाउन जसरी कार्य गर्नुपर्ने हो, त्यसअनुसारले नगरेको कारण संघीयताप्रति प्रश्न खडा भएको र त्यसलाई चिर्नु आफ्नो दायित्व रहेको बताए । उनले प्रदेश सभामा आवश्यक विधेयक पठाएर यसलाई गतिशील बनाउन र प्रदेशको समग्र विकासमा आफनो भूमिका रहने बताए ।

उनले भने, ‘गठबन्धनको सरकार रहेको र गठबन्धनका सहयात्रीसँग मिलेर विकास, प्रदेशको समृद्धि र संघीयता बलियो बनाउन कार्य गर्नेछु ।’ पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दैै मुख्मन्त्री सिंहले गठबन्धनमा सहभागी दलहरुको समान मानसम्मान गर्दै प्रदेश गौरवका योजना ल्याएर अगाडि बढ्ने बताए । यस्तै, उनले संघीयतामाथि भइरहेको प्रहार, मधेशमा भइरहेको चरम भ्रष्टाचार न्यूनीकरण गर्दै सुशासन कायम गर्नु मुख्य प्राथमिकता रहेको बताए । कुनै दलसँग बहुमत नरहेकाले सबैसँग मिलेर प्रदेशलाई नै गौरव गर्ने पु¥याउन काम गर्ने बताए । संघीयतामाथि भइरहेका प्रहार र भ्रष्टाचार न्यूनीकरण आफनो पहिलो प्राथमिकता रहने पनि उनले बताए । आफ्नो पार्टीसँग धेरै मन्त्रालय नरहे पनि अभिभावकको जिम्मा पाएकाले सबै दललाई मिलाएर यी कामहरु गर्न आफू केन्द्रित हुने उनको तर्क थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button