
मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेश सरकारका लागि नेपाली कांग्रेसले मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । संसदीय दलमा मंगलबार बसेको कांग्रेसको बैठकले मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । संसदीय दलका प्रमुख कृष्ण यादवले बुधबार सदनबाट मुख्यमन्त्री यादवले लिन लागेको विश्वासको मतमा जसपा नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय भएको बताए ।
माओवादी र एमाले बाहिरिएपछि पाँचौँपटक लिन लागिएको विश्वासको मतमा मुख्यमन्त्री यादवको पक्षमा उभिने निर्णय भएको बैठकमा सहभागी प्रदेश सांसद श्याम पटेलले बताए । मधेश प्रदेश सभामा कांग्रेसका २२ प्रदेश सांसद छन् । जसपासँग कांग्रेस उभिएपछि यो दलका सांसदहरुको संख्या ४१ पुगेको छ । सरकार निर्माणका लागि ५४ सांसदको समर्थन आवश्यक छ । एमाले र माओवादीले सरकारबाट समर्थन फिर्ता लिएको २५ औँ दिनमा मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।
नेकपा एस पनि बाहिरियो
मधेश प्रदेश सरकार गठबन्धनमा रहेको नेकपा एस पनि मंगलबार बाहिरिएको छ । अब सरोज यादव नेतृत्वको प्रदेश सरकारमा जसपा नेपाल मात्र रहेको छ । नेकपा एसबाट गोविन्द न्यौपाने र बेचु लुंगेली मन्त्री थिए । संसदीय दलका नेता न्यौपानेले भने, ‘केन्द्र र मधेश फरक गठबन्धन भएकाले हामीले मधेश प्रदेश सरकार छाडेका हौँ ।’






