
अनिल पोखरेल
राजविराज ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रगामी नीतिले देश विकास र समाज रूपान्तरण हुने बताएका छन् । उनले पार्टीमा बढेको जन आकर्षण देखेर विरोधीहरूको होसहवास उडेको जिकिर गरे । सप्तरीको राजविराज ९ स्थित मलेठमा बुधबार आयोजित अगुवा कार्यकर्ता भेला तथा वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले भने, ‘अहिले गाउँटोलसम्म नेकपा एसमा आकर्षण बढेको छ, विभिन्न पार्टी परित्याग गरी एसमा प्रवेश गर्नेको लहरै चलेको छ । यसले गर्दा विरोधीहरूको होसहवास गुमेको छ ।’
सामाजिक सुरक्षा भत्ता, आफ्नो गाउँ आफै बनाऔँ कार्यक्रम र सुकुम्बासीलाई जग्गा तथा घरको व्यवस्था मिलाउने कार्यक्रम आफू २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा रहेको सरकारको उपप्रधानमन्त्री हुँदा ल्याएको कार्यक्रम भएको अध्यक्ष नेपालले दाबी गरे । सामाजिक न्याय र समानताको लागि पार्टी स्थापना भएको बताउँदै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले जातीय, धार्मिक, सांस्कृतिक तथा सबै प्रकारको अन्याय, अत्याचार र विभेद तथा भेदभावको अन्त्य गर्दै सुशासनसहितको विकसित र समृद्ध देश बनाउनका लागि पार्टीले समाजवादी नीति अवलम्बन गरेको उल्लेख गरे । अध्यक्ष नेपालले अगुवा कार्यकर्ता भेला तथा बृहत पार्टी प्रवेश गर्नुअघि मलेठ घटनामा मारिएका सहिदको तस्वीरमा माल्यार्पण गरेका थिए ।
लोसपाका नेता शम्भु कुमार यादव (लाली) रामचन्द्र यादव, मो. ताहिरको नेतृत्वमा सयौं नेताकार्यकर्ता लोसपा परित्याग गरी नेकपा एसमा प्रवेश गरेका छन् । राजगढ गाउँपालिका स्थित झौरा चोकमा बुधबारै आयोजित कार्यक्रमबिच, लोसपा, कांग्रेस, एमाले, जसपा, जनमत, सदभावना पार्टी परित्याग गरी सयौको संख्यामा नेता कार्यकर्ता कीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा नेकपा एसका केन्द्रीय उपाध्यक्ष धर्मनाथ साह नेकपा एसका सचिवालय सदस्य एवम् पूर्व मन्त्री रामचन्द्र झा, नेकपा एसका केन्द्रीय सदस्य एवम् मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने, नेता रामचन्द्र यादव, केन्द्रिय सदस्य एवम् सप्तरी जिल्ला सहइन्चार्ज उषा पोखरेल, केन्द्रीय सदस्य नथुनी दास, निरञ्जन झा, मधेश प्रदेशका सह सचिव नारायण आचार्य, सिरहा जिल्ला अध्यक्ष उत्तर बहादुर मगरलगायतका प्रदेश, जिल्ला, क्षेत्रलगायतका विभिन्न तहका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो । नेकपा एस सप्तरीका अध्यक्ष प्रताप नारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला सचिव शम्भु यादवद्वारा सञ्चालित कार्यक्रममा स्वागत जयप्रकाश यादवले गरेका थिए ।






