
मधेशदृष्टि
जनकपुरधाम ।
सुत्केरीको मृत्यु भएपछि धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पताल तोडफोड भएको छ । मृतकका आफन्तले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशमा तोडफोड गरेका हुन् ।
लक्ष्मीनिया गाउँपालिका–५ बनिनियाका अमर यादवकी २८ वर्षीया पत्नी अनिताको सोमबार बिहान ९ बजे मृत्यु भएको हो । सुत्केरी भएको १० घण्टा नबित्दै उनको मृत्यु भएपछि उपचारमा संलग्न चिकित्सकले हेलचेक्र्याइँ गरेको आफन्तको आरोप छ । उनीहरुले चिकित्सकको लापरबाहीका कारण सुत्केरीको निधन भएको आरोपसहित अस्पताल तोडफोड गरेका हुन् ।
व्यथा लागेपछि शनिशार मध्यराति अनितालाई अस्पताल लगिएको थियो । आइतबार करिब ११ बजे शल्यक्रियामार्फत सुत्केरी गराइएको थियो । शिशु भने सकुशल छन् । तर आमाको मृत्यु भएपछि उनका आफन्त आक्रोशित भएर तोडफोडमा उत्रिएका हुन् ।
मृतकका आफन्तले शल्यक्रिया गर्ने चिकित्सकलाई कारबाही र क्षतिपूर्ति माग गरेका छन् । उनीहरू तोडफोडमा उत्रिएपछि केहीबेर अवस्था तनावग्रस्त बनेको थियो । घटनापछि अस्पतालमा प्रहरी र जनप्रतिनिधि पुगेर छलफल शुरु भएपछि अवस्था सामान्य बनेको हो ।






