
मधेशदृष्टि
वीरगंज ।
देशकै प्रमुख शक्तिपीठमध्ये एक वीरगंजको गहवामाइको निशानसहितको प्रथम डोली यात्राको सम्पूर्ण तयारी पूरा भएको छ । गहवामाइ मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र कुमार शाहको नेतृत्वमा मंगलबार चैत्र नवरात्रको अष्टमी तिथिमा हुन गइरहेको डोलीलाई अपरान्ह ४ बजे नगर परिक्रमा गराइने छ ।
डोली यात्रा सुरु हुनुअघि दिउँसो २ बजेदेखि २ घण्टा डोलाको पूजाआजा गरी ४ बजेदेखि डोली यात्रा शुरु गरेर नगर परिक्रमापछि साँझ ६ बजे पुनः मन्दिर परिसरमा डोली भित्र्याइ कार्यक्रम समापन गरिने जनाइएको छ । डोली यात्राका लागि भक्तजनलाई सहभागी भएर यात्रा सफल गरिदिन मन्दिर सञ्चालक समितिले आग्रह गरेको छ ।
डोली यात्रा गहवामाइ मन्दिरबाट शुभारम्भ भएर २ नम्बर रोड हुँदै गणेशमान चोक, बिर्तामाइ मन्दिर, अलखिया मठ, महावीर मन्दिर, घन्टाघर हुँदै पुनः गहवामाइ मन्दिर प्राङ्गणमा आइ समापन हुने मन्दिर सञ्चालक समितिका महासचिव विजय कुमार उपाध्यायले जानकारी दिए ।
गहवामाइको पहिलोपटक निकाल्न लागिएको डोली यात्रामा चन्दा नउठाइ इच्छुक दाता र भक्तजनको सहयोगमा कार्यक्रम गर्न लागिएको अध्यक्ष शाहले जानकारी दिए । डोली यात्राका लागि ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । डोलीको निर्माणमा लागेको खर्च समितिका सहकोषाध्यक्ष डा.प्रमोद सर्राफले उपलब्ध गराएको अध्यक्ष शाहले बताए ।






