२०८० लाई नियाल्दा

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
२०८० मधेश प्रदेशका लागि समग्रमा राजनीतिक हिसाबले नाफामूलक रह्यो । सरकार फेरबदलमा एमालेका धेरै मन्त्रीहरु दोहोरिए । जसपाले सत्ताको साँचो पाइरह्यो । मुख्यमन्त्री र उपराष्ट्रपति पाएको जसपाले उपप्रधानमन्त्री र मन्त्री पनि २०८० मा पायो । जनमत पार्टी प्रदेश सत्ता र केन्द्र सत्ताबाट बाहिरियो । प्रभु साहको पार्टीले पनि वर्षको अन्त्यतिर आक्रामक ढंगले मधेश र केन्द्र राजनीतिमा ध्यानाकृष्ट गरेको छ । तर मधेशको प्रतिव्यक्ति आम्दानी सबैभन्दा कमजोर रह्यो । गरिबीले एकै दिन एउटा जिल्लामा चारजनासम्मले आत्महत्या गरेका छन् । अपराध बढेको छ । लागुऔषध कारोबार, साना हतियार र हत्याको संख्या बढेको छ । प्रहरी अधिकृतहरु समय भन्दा चाँढै सरुवा भएका छन् । सबैभन्दा डरलाग्दो बनेको छ जाली नोटको कारोबार । यसैगरी कात्तिकमै मधेशको धुनषामा पानीको हाहाकारको समाचार आयो । महोत्तरी काकाकुल छ । पर्सामा साउनको अन्तिम साता पनि पानीको हाहाकारको समाचार हामीले दियौँ । १२ महिनाका केही घटनाहरु सम्झौँ ।

२०८० वैशाख
उपनिर्वाचनबाट यादव संसदमा
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव वैशाख १० गते बारा–२ को उपनिर्वाचमा निकटम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहलाई ५,०८१ मतान्तरले पराजित गर्दै विजयी भए । विगतमा एमाले र माओवादीमा रहेका यादव मधेशी जनअधिकार फोरमबाट मधेशको राजनीतिमा शक्ति बनेर उदाए । उनले बारा–२ बा निर्वाचित रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाए । त्यहीँबाट आफू उठेर नेपाल सरकारमा उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री छन् । बारा–१ के प्रदेश सभाबाट जसपाबार्टै विजित सरोजकुमार यादव मधेश सरकारमा पटकपटक विश्वासको मत लिइरहने मुख्यमन्त्री पनि बनाए । वर्ष २०८० जसपालाई राजनीतिक लाभको वर्ष रह्यो ।

प्रदीप रुँगटा प्रकरण
वैशाख १९ गते मंगलबार चितवनको अनमोल फिड्सका शंकर कँडेल ९ पेज सुसाइड नोट लेखेर आत्महत्या गरे । यसमा आत्महत्या दुरुत्साहन मुद्दामा जोडिए ८५ प्रतिशत शेयरका हिस्सा लिएका व्यवसायी प्रदीप रुँगटा । रुँगटाविरुद्ध किटानी जाहेरी परेको थियो । नेपाल र भारतीय भूमिमा खोजी कार्य भयो । पछि उनी अदालतमा हाजिर भए, हिरासत बस्न परेन, अस्पताल बसेरै अदालतबाट साउनमा धरौटीमा रिहा भए ।

२०८० जेठ
विश्वासको मतमै समय व्यतीत
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव चौथोपटक विश्वासको मत लिँदैछन् । उनी वैशाख ३ गते विश्वासको मत लिँदैछन् । यसअघि उनले तेस्रोपटक फागुन ६ गते विश्वासको मत लिएका थिए । जनमत पार्टीले माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिएका हुन् । त्यसअघि जेठ १ गते मधेश सरकारमा रहेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले ३० औँ दिनमा जेठ ३० गते दोस्रोपटक विश्वासको मत लिएका थिए । २०७९ पुस २७ गते नेकपा एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका यादवले माघ ४ गते शतप्रतिशत मत पाएका थिए ।

२०८० असार
हिरासतमै यातना
जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म चरम यातना दिएको भिडियो असार २७ गते सार्वजनिक भयो–भाइरल भयो । रायलाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) हेमन्त राईले यातना दिएको आरोप थियो । इन्स्पेक्टर राईकै कमाण्डमा प्रहरी जवान रायलाई निरन्तर अधिक ड्युटी गराएपछि उनले हबल्दारसँग गुनासो पोखेका थिए । हबल्दारको सल्लाहअनुसार पीडित राय इन्स्पेक्टर राईसँग गुनासो गर्न गएका थिए । इन्स्पेक्टर राईले तथानाम,अभद्र गाली गलौज गरेपछि आक्रोशित भएका रायले समेत इन्स्पेक्टरसँग मुखामुख गरेका थिए । मुखामुख गरेकै कारण उनलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिएको प्रकरण त्यतिखेर भाइरल भएको थियो ।

२०८० साउन
अर्थमन्त्रीको बदमासीमा छानबिन सुरु
मधेश प्रदेश सरकारको रकमान्तर विवाद चुलिएपछि प्रदेशसभाले एक महिनाअघि गठन गरेको विशेष छानबिन समितिले सांसदको गुनासो आह्वान गरेको थियो । प्रदेशसभाका सबै सदस्यसँग भेट्न सम्भव नदेखिएपछि राजनीतिक पार्टीसम्बद्ध संसदीय दलमार्फत गुनासो संकलन गर्न लागिएको समितिका सभापति उपेन्द्र महतोले बताए । आर्थिक वर्ष २०७९÷८० मा प्रदेश सरकारले गरेको रकमान्तर ‘अवैधानिक’ भन्दै प्रदेशसभामा ठूलो मुद्दा बनेको थियो । सबै दलले आवाज उठाएपछि प्रदेशसभाले विशेष छानबिन समिति गठन गरेको थियो । समितिलाई साउन १ गतेदेखि काम सुरु गरेर भदौ मसान्तसम्म प्रतिवेदन पेश गर्नुपर्ने समयसीमा तोकिएको थियो । अर्थमन्त्री सञ्जय कुमार यादवले स्थानीय तह र अन्य मन्त्रालयको योजनाको बजेट रकमान्तर गरेको भन्दै प्रदेश सरकारमा अधिकांश सांसदले विरोध जनाएका थिए । त्यो प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन ।

२०८० भदौ
मधेशमा नक्कली नोट
मधेश प्रदेशमा नक्कली नेपाली नोटको बिगबिगी बढेको र यस्तो नोट हेटौँडा, पोखरा र काठमाडौँसम्म पु¥याउन गिरोह सक्रिय भएको पाइएको छ । गिरोहका सदस्यहरुले भारतमा नक्कली नोट छापेर मधेशका जिल्लाहरुसँगै प्रमुख व्यापारिक केन्द्रमा पनि नक्कली नोट पु¥याउने कामलाई तीब्रता दिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ९५ हजार रुपैयाँ बराबरको नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेबाट पनि नक्कली नोटको कारोबारीको सक्रियता कायमै रहेको पुष्टि हुन्छ । प्रहरीले रौतहट, कटहरिया नगरपालिका वडा नम्बर ६ का १९ वर्षीय धर्मेन्द्र महरा र २१ वर्षीय दिपेश दासलाई नक्कली नोटसहित पक्राउ गरेको हो । प्रहरीले एक हजार दरको ९५ वटा नक्कली नेपाली नोटसहित हेटौँडाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

मधेशदृष्टि दैनिकले भारतीय भारतीय सीमावर्ती क्षेत्रमा बसेर नेपाली नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय भएको समाचार साउनमै प्रकाशन गरेको थियो । गिरोहले भारत, बिहारस्थित सीतामढीनजिकको एक गाउँमा एक हजार दरका नक्कली नेपाली नोट छपाएर नेपालमा बजारीकरण गरिरहेको विषय बाहिर आएको थियो । यो तथ्य नेपाल प्रहरीले नै बाहिर ल्याएको हो । सीतामढीमा लामो समयदेखि जाली नोट कारोबारमा संलग्न महमद सलिमको गिरोहले करोडौँ नक्कली नेपाली नोट छापेर मधेशका विभिन्न नाकाबाट नेपाल भित्र्याउने काम गरिरहेको प्रहरीले नै सार्वजनिक गरेको हो । पछिल्लो छ महिनामा मधेशका नाकाबाट एकहजार दरका १० करोड भन्दा बढी नक्कली नेपाली नोट मधेशसँगै नेपालका विभिन्न ठाउँमा पु¥याइएको अनुसन्धानमा देखिएको थियो । नेपाल प्रहरीले एक वर्षका अवधिमा मधेशका विभिन्न जिल्लामा जाली नोटको कारोबारमा संलग्न ५२ जनलाई पक्राउ गरेर कारबाही गरेको जनाएको छ । तीमध्ये २ महिला छन् ।

मूर्ति विसर्जनमा विवादले कर्फ्यु
जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम भदौ २३ गते मलंगवामा कर्फ्यू आदेश जारी गरेको थियो । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा दुई पक्षबीच झडप भएपछि उत्पन्न विवादका कारण शान्ति सुरक्षालाई ख्याल गरेर कर्फ्यू आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादव (हाल सरुवा) ले जानकारी दिए । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा शुक्रबार बेलुका मलंगवामा दुई समुदायबीच झडप र ढुंगामुडा भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउन्ड हवाइ फायर समेत गरेको यादवले जानकारी दिए ।

२०८० असोज
प्रहरीको ध्यान पोकामा, अपराधी आइसक्यो ढोकामा !
मुलुकको आर्थिक राजधानी हो वीरगंज । देशकै अर्थतन्त्रलाई टेवा पुग्ने गरी राजस्व संकलन गर्ने केन्द्र पनि हो यो । साउन र भदौ महिनामा स्वाभाविकरुवमा कम व्यापार व्यवसाय हुँदा पनि लक्ष्यको ७० प्रतिशत राजस्व उठाएर निरास अर्थतन्त्रलाई आसा जगाइरहेको छ वीरगंज । तर यही वीरगंज पछिल्लो समय अझ भनौँ चाडबाडका बेला असुरक्षित देखिएको छ । जताततै अराजकता, भिडभाड, अशान्त भिडले निम्त्याउने तनाव र असुरक्षा बढिरहँदा प्रहरी प्रशासन किन मौन छ ? चाडपर्वका बेला सटर खोलेर बोहनी कुरेर बसेका व्यवसायी, घरमै पनि कुनै पनि बेला मारिने हो कि भनेर सशंकित र असुरक्षित बनिरहेका गृहिणीहरु प्रश्न गरिरहेका छन् ।

घटना १ः
मितिः २०८० भदौ १३ गते
स्थानः जिराभवानीको इमिर्ती खोला
घटनाः टाउकोरहित युवतीको शव फेला ।

घटना २ः
मितिः २०८० भदौ २५ गते
स्थानः ठोरी, विजयबस्ती, पर्सा
घटनाः ४० वर्षीय पुरुषको शव फेला ।

घटना ३ः
मितिः २०८० असोज २ गते
स्थानः जगरनाथपुर–५, मसिहानी
घटनाः एकल महिला शान्तिदेवी बिनको हत्या ।

घटना ४ः
मितिः २०८० असोज ४ गते
स्थानः पानगल्ली, वीरगंज
घटनाः ५० वर्षीय भुब्रो महतो नुनियाको शव फेला ।

घटना ५ः
मितिः २०८० असोज ४ गते
स्थानः छपकैया, वीरगंज
घटनाः बाराका अरबिन्द कुमार सर्राफको हत्या ।

घटना ६ः
मितिः २०८० असोज १३ गते
स्थानः ढोंगही खोला, विन्दबासिनी
घटनाः हत्या गरिएको अवस्थामा महिलाको शव फेला ।

घटना ७ः
मितिः २०८० असोज १९ गते
स्थानः वीरगंज–१, छपकैया
घटनाः घरैमा पुनम देवीको हत्या ।

२०८० कात्तिक
बारामा डेढ महिनामा तीन गोलीकाण्ड
. २०८० कार्तिक १३ गते कलैयामा रुपेश स्वर्णकारको गोली हानेर हत्या ।
. २०८० असोज ८ गते पचरौता नगरपालिका वडा नम्बर १ पिपरपातीका ३५ वर्षीय अमरेश कुमार सिंहको गोली हानेर हत्या ।
. २०८० असोज ९ गते पचरौता नगरपालिका वडा नम्बर वडा नम्बर ६ लक्षमिनियाको पोखरीको डिलमा भारत, बिहार निवासी २२ वर्षीय अजित कुमार सिंहलाई गोली हानेर हत्या ।

बारामा शान्तिसुरक्षा अत्यन्त कमजोर छ भनेर प्रहरी प्रशासनको आलोचना गरिएको होइन । दिनदहाडै फिल्मका दृश्य झैँ मोटरसाइकलमा हेल्मेटसमेत नलगाइ आएका व्यक्तिले गोली हानेर भागेका छन् । त्यो पनि प्रहरी कार्यालयको ५ सय मिटरको पेरिफेरिमा । उसो त जिल्ला प्रहरी कार्यालयदेखि ५ सय मिटरको दूरीमा अर्को पनि पनि प्रहरी कार्यालय छ । यति हुँदाहुँदै पनि प्रहरीले हत्याराको सुराक दिन सकेको छैन ।

२०८० मंसिर
अग्निपरीक्षामा मुख्यमन्त्री
मितिः २०७९ पुस २७ गते बुधबार
स्थानः जनकपुरधाम
उपलब्धीः मधेश प्रदेश सरकारका मुख्यमन्त्री चयन
व्यक्तित्वः सरोजकुमार यादव

नेपालीमा उखान छ, ‘सोम खेती–बुध घर ।’ अघिल्लो वर्ष पुस २७ गते बुधबार नै थियो र मधेश सरकारको नयाँ घरबार बसेको थियो । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता बनेका सरोजकुमार यादव बुधबार नै मुख्यमन्त्री नियुक्त भएका थिए । उनको कार्यकालको ११ औँ महिना पूरा हुँदैछ । १ सय ७ सदस्यीय प्रदेश सभाका ६३ सांसदको समर्थनमा उनी मुख्यमन्त्री भएका थिए ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र दुई स्वतन्त्र सांसद यादवको समर्थनमा उभिएका थिए । आवश्यकताअनुसार मन्त्रिमण्डल विस्तार गर्दै गएका उनीसँग यो ११ महिनामा ११ मन्त्री छन्, दुई राज्यमन्त्री छन् । सबै समितिका सभापति छन् । आफ्नै पार्टीभित्र मुख्यमन्त्रीको अनुभव संगालिसकेका अग्रज लालबाबु राउतदेखि ‘यो सरकारले बिजनेस दिन सकेन’ भनेर आलोचना गर्ने पार्टीकै प्रदेश सभा सदस्य मनिष सुमन पनि छन् ।

२०८० पुस
पाँचवर्ष प्रयासपछि ‘तपस्वी’ बम्जन पक्राउ
कुनैबेला नेपाल र भारत मात्र नभई अन्य देशबाट समेत दर्शनका लागि भक्तजन बारा भित्र्याउन सफल तपस्वी भनिएका रामबहादुर बम्जन पक्राउ परेका छन् । बारा, सर्लाही, सिन्धुली, काभ्रे हुँदै विभिन्न जिल्लामा बसिरहेका उनी पछिल्लो दुई महिना यता काठमाडौँमा रहेको मात्र होइन, विवाह गरेर बच्चाको बाबु पनि बनेको रहस्य प्रहरीले बाहिर ल्याएको छ ।

बाराको हलखोरिया जंगल कब्जा गरेर आफूलाई ‘लिटिल बुद्ध’ दाबी गर्दै ध्यान गरेर तपस्वी भनिएका बम्जनले तपस्वीको भेषमा आफ्नै कैयौँ अनुयायीलाई बेपत्ता पारेको, बलात्कार गरेको, हत्यासमेत गरेको प्रहरीमा उजुरी छ । धार्मिक संस्था नै स्थापना गरेर बम्जनको अपराध जोगाउन केही समूह लागेपछि प्रमाणविना पक्राउ नगर्न आदेश पाएको प्रहरीले ५ वर्षको मेहनतपछि बम्जनलाई पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले मंगलबार साँझ काठमाडौँको बूढानीलकण्ठबाट बम्जनलाई पक्राउ गरेर नयाँ हुलियासमेत सार्वजनिक गरेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्यले सुराकका आधारमा बम्जनलाई हात्तीगौंडास्थित घरबाटै नियन्त्रणमा लिइएको जानकारी दिइन् ।

२०८० माघ
आजपाको निशानामा भगौडा पुँजीपति
प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले दलाल, पुँजीपतिहरुलाई निशानामा राखेर कारबाही प्रक्रिया अघि बढाउने घोषणा गरेको छ । यो कारबाही भने भौतिक होइन, उनीहरुको सम्पत्ति कब्जामा केन्द्रित हुने भएको छ । पार्टीले ‘भगौडा दलाल पुँजीपति’को सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउने निर्णय गरेपछि यसले मधेशमा र देशमा नयाँ तरंग ल्याएको छ ।
पार्टी केन्द्रीय कमिटीको काठमाडौँमा सम्पन्न बैठकपश्चात् मंगलबार प्रवक्ता चन्द्रभुषण साहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनयुद्ध र जनआन्दोलनलाई जनसंघर्षको उत्सवका रूपमा मनाउने निर्णयसँगै बैंक, लघुवित्त तथा सहकारीको लुटविरुद्ध संघर्ष अरु व्यापक बनाउने, भन्सारलगायतका राजस्व लुटविरुद्धको आन्दोलन निर्णायक मोडमा पुर्याउने, भ्रष्टाचारविरुद्धको संघर्ष थप सशक्त बनाउने, वैदेशिक रोजगारमा हुने ठगीविरुद्धको आन्दोलन अरु तेज पार्ने, ‘भगौडा दलाल पुँजीपति’को सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउने निर्णय भएको छ ।’

२०८० फागुन
६ करोडको मेसिनलाई १० करोडमा सेटिङ ?
यो मधेश हो, यहाँ सक्नेले ‘तालुखुइले’लाई पनि ‘काइँयो’ बेच्न सक्छ भनेजस्तै एकपछि अर्को काण्डमा मधेश प्रदेश सरकारका मन्त्रीहरु मुछिनु नौलो होइन । कतिखेर पद जाने हो भन्ने चिन्ताले ग्रस्त सबै मन्त्रीहरु पाएको बेला कुस्त कमाउ धन्दामा लागिरहेको प्रमाण धमाधम आइरहेको छ । यसैको पछिल्लो उदाहरण बनेका छन् सर्लाहीमा अस्पताल बनाउने प्रकरण उचालेर सर्वसाधारणको ज्यान जाने गरी भएको गोलीकाण्डमा पनि जोडिएका मधेश प्रदेश सरकारका स्वास्थ्यमन्त्री वीरेन्द्र सिंह । उनकै निर्देशनमा सर्लाही र सिरहामा ‘रुमसहितको सिटी स्क्यान’ जडानका लागि टेण्डर भएको छ । टेण्डर कसलाई पार्ने भनेर पहिले नै सेटिङ मिलाइसकिइएको खुलासा भएको छ ।

कथा यसरी सुरु हुन्छः स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुरधाममा स्थायी बायोमेड इञ्जिनियर थिए शैलेन्द्र यादव । यिनै यादवलाई अन्यत्र सरुवा गरिएको छ । कारण हो, आफूलाई मन लागेको ठेकेदारलाई काम दिन सेटिङ मिलाउनु । यसका लागि प्रयोग भएकी छिन् करारमा कार्यरत बायोमेड इन्जिनियर बन्दना मिश्र । दरबन्दीका स्थायी कर्मचारी सरुवा गरेर करारमा कर्मचारी नियुक्ति के का लागि भन्ने रहस्यको उत्तर पनि केन्द्रले हालै सर्लाही र सिरहाका लागि आह्वान गरेको टेण्डरले छताछुल्ल पारिदिएको छ । मिश्रले तयार पारेको परियोजनाका आधारमा २० करोड रुपैयाँको सिटी स्क्यान मेसिन खरिदका लागि ‘रुमसहित मेशिनका लागि स्पेलक’ गरिएको छ । केन्द्रले तयार पारेको मापदण्डमा काठमाडौँस्थित ‘हस्पिटेक’ कम्पनीले मात्रै टेण्डर भर्न मिल्ने गरी टेण्डर गरिएको भन्दै अन्य सप्लाइ कम्पनीहरुले आपत्ति जनाएका छन् ।

२०८० चैत
पर्सा प्रहरीले चैत महिनामा ५ करोड रुपैयाँ भन्दा बढी मूल्यका भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ । प्रहरीले चालु आर्थिक वर्ष २०८०÷८१ को चैत महिनामा ५ करोड ८७ लाख ३६ हजार ७ सय ९९ रुपैयाँ बराबरका भन्सार छलीका सामान नियन्त्रणमा लिएको हो । प्रहरीले राजस्व अभिवृद्धि तथा भन्सार चोरी पैठारी न्यूनीकरण गर्न चलाएको जाँच अभियानक्रममा जिल्लाका विभिन्न स्थानबाट सामान बरामद गरेको हो । प्रहरीले २ करोड १० लाख ७८ हजार ६ सय ८१ रुपैयाँका विद्युतीय सामान बरामद गरेको छ । १ करोड ४२ लाख २३ हजार ९ सय १७ मूल्यको किराना तथा खाद्यान्न सामान, १ करोड २३ लाख ४६ हजार ४ सय ९१ लत्ताकपडा, १ करोड १० लाख ८७ हजार ७ सय १० रुपैयाँका सवारी साधन तथा पार्टपुर्जा नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button