

बिसु सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा बैशाख १ गते मनाइने मौलिक र सांस्कृति पर्व हो । सुदूरपश्चिमका नौ जिल्ला दार्चुला, डोटी, अछाम, बझाङ, बाजुरा, बैतडी, डडेलधुरा, कैलाली र कञ्चनपुरमा समुदाय अनुसार फरक–फरक तरिकाले बिसु पर्व मनाउने गरेका छन् । तराईका जिल्लाहरुमा भन्दा पहाडी जिल्लाहरुमा बिसु पर्व बढी मनाइन्छ । पछिल्लो समय पहाडबाट तराईमा बसाइसराई गर्ने क्रम बढेसँगै विस्तार बिसु पर्व तराईका जिल्ला (कैलाली र कञ्चनपुर)मा पनि मनाइने गरेको छ । हिन्दू सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुशीयालीस्वरूप पौराणिककालदेखि नै बिसु पर्व मनाउने गरिएको विश्वास छ । सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती पाइन्छ ।
बिसु पर्व चैत महिनाको अन्तिम दिन र वैशाख महिनाको पहिलो दिन गरी दुई दिनसम्म मनाइन्छ । वर्षको अन्तिम दिन घर परिवार एक ठाउँमा जम्मा भएर मिठो मसिनो सेल, पुरी, माडालगायत मिष्ठान्न परिकार बनाएर खाने चलन रहेको छ । साथै वर्षको अन्तिम दिन घर परिवारमा ‘वर्ष समीक्षा’ गर्ने प्रचलन पनि रहेको पाइन्छ । पहाडी जिल्लाका कतिपय समुदायमा चैतको अन्तिम दिन रागाँ र बोकाको बली चढाउने गर्छन् । बिसु पर्वका अवसरमा आफन्त तथा नातेदारहरुलाई निम्तो दिएर घरमा बोलाउने गरिन्छ । वर्षको पहिलो दिन अर्थात् बिसु पर्वको दिन बिहानै स्नान गरी सिस्नो लगाउने गरिन्छ । सिस्नो लगाउँदा शरिरमा भएको विष (बिकार बस्तु) नाश हुने र रोगव्याधीबाट मुक्त भइने जनविश्वास रहेको पाइन्छ । देवर–भाउजु, नन्द–भाउजु, साली–भिनाजु, फुपु–सालीहरुका बीचमा सिस्नो पानी छ्याप्दै बिसु पर्व मनाउने चलन छ ।
एउटै जिल्लामा विभिन्न समुदाय अनुसार बिसु पर्व फरक–फरक तरिकाले मनाइने हुनाले बिसु पर्वमा विविधता देखिन्छ । कतिपय समुदायमा त झन बिसु पर्वको दिन लौरो नचाउने, बाघ र भालु जस्ता जंगली जनावरहरुको जस्तै अभिनय गर्ने चलन पनि रहेको पाइन्छ । यसरी जंगली जनावरको अभिनय गर्दा जंगली जनावरहरुबाट हुने आक्रमणबाट बच्ने जनविश्वास रहेको पाइन्छ ।
बिसु पर्व मनाउने तयारी भने केही दिन अगाडिदेखि सुरु हुने गर्छ । बिसु पर्व मनाउनका लागि देशका विभिन्न ठाउँ तथा विदेशमा रहेका सुदूरपश्चिमेलीहरु घर फर्किने गर्छन् । विशेषगरी सुदूरपश्चिमेली अधिकांश रोजगारीको शिलशिलामा भारतका विभिन्न शहर गएकाहरु घर फर्किन्छन् । चैत महिनाको अन्तिम सातातिर नयाँ वर्ष जति नजिकिदै जान्छ, गृहणीलाई रातो माटो र कमेरोले घर ‘छिप्ने’ (लिपपोत) कामको चटारो पनि उत्तिकै बढ्दै जान्छ । चैत मसान्तसम्म गाउँभरीका घरहरु रातो मटो र कमेरोले चिटिक्क पारिसकेका हुन्छन् ।
जंगलबाट लौरो काटेर ल्याउने र त्यसलाई रंग रोगनद्वारा आकर्षक बनाई प्रत्येकको घरमा वर्षभरी राख्ने चलन पनि बिसु पर्वको बिशेषता नै हो । यही लौरोलाई स्थानीय भाषामा ‘बिस्या लठ्ठी’ र ‘बिसुका लौणी’ भनिन्छ । वर्षको अन्तिम दिन नै जंगलबाट ‘बिसुका लौणी’ ल्याउने र पहिलो दिन बिहानै आकर्षक बनाएर राख्ने गरिन्छ । हरेक घरमा त्यति नै ‘बिसुका लौणी’ बनाइएको हुन्छ, जति घरमा पुरुष सदस्य हुन्छन् । दिउँसो तीर गाउँका हरेक घरबाट एक जना ‘बिसुका लौणी’ बोकेर गाउँभन्दा केही परको चौरमा गएर लौणी सेलाउने गर्छन् । त्यसलाई स्थानीयहरुले ‘बिसुका लौणी लणाउनु’ भन्ने गरिन्छ ।
बिसुको दिन गाउँमा घरमा हुल्ली (बोरा सिलाएर बनाइएको भकुण्डो) खेल्ने गरिन्छ । गाउँघरमा हुल्ली खेल्न इच्छुक सबै जना एउटा चौरमा जम्मा भएर ‘हुल्ली’ नच्यात्तिएसम्म खेलिन्छ । वैशाखको पहिलो दिन बिसु पर्वकै दिन दिदीबहिनीहरुले पुतली खेलाउने परम्परा छ । बिसु पर्व सुरु हुन भन्दा करिब दुई साता अघिदेखि नै गाउँघरका दिदीबहिनी एक ठाउँमा भेला भएर कपडाबाट पुतलीहरु बनाउँने गर्छन् । सोही पुतलीहरुलाई बिसु पर्वको दिन घरबाट कतै टाढा लगेर सेलाउने चलन पहाडी जिल्लाहरु अझै बढी हुने गर्छ । सुदूरपश्चिममा मनाइने बिसु पर्व विभिन्न समुदायले आ–आफ्नो तरिकाले मनाए पनि बिसु पर्वका अवसरमा एकआपसमा साटसाट गर्ने माया प्रेम, स्नेह र सद्भावले बिसु पर्वलाई अझै आत्मिय बनाउँदै लगेको छ । बिसु पर्वको शुभकामना !






