
मधेशदृष्टि
वीरगंज ।
वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वीरगंजलाई ‘वैभव वीरगंज’ बनाउने काम सुरु मात्र भएको बताएका छन् । वीरगंजमा शनिबार भएको ‘वीरगंज वाणी’ कार्यक्रमको दोश्रो सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख सिंहले ‘वैभव वीरगंज’ बनाउन अझै धेरै काम गर्न बाँकी रहेको बताए । उनले वीरगंजको सरसफाइ र सौन्दर्यकरणमा अहिले देखिएको सकरात्मक परिवर्तन आफ्नो एकल प्रयासले मात्र नभई यसमा सम्पूर्ण वीरगंजवासीको साथ र सहयोग रहेको जानकारी दिए । ‘वीरगंजले पाएका विरासतको सौन्दर्यकरण मात्र गरिदिएका छौँ,’ उनले भने, ‘अझै धेरै गर्न बाँकी छ, ‘वैभव वीरगंज’ बनाउने महानगरको अभियानमा वीरगंजबासीका साथै मिडियाको पनि उत्तिकै साथ र सहयोग आवश्यक छ ।’
वीरगंजलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने अभियानमा महानगर लागिसकेको बताउँदै नगर प्रमुख सिंहले त्यसका लागि यहाँ रहेका विभिन्न धार्मिक मठमन्दिर संरक्षण र सौन्दर्यकरण गरिरहेको जानकारी दिए । नगर प्रमुख सिंहले बारा, पर्सा तथा सिमावर्ती भारतीय पर्यटकलाई पशुपतिनाथको दर्शन गर्न काठमाडौँमै जानु जरुरी नभएको खुलासा गर्दै वीरगंजमै रहेको पशुपतिनाथको मन्दिरमा पूजा आराधना गर्न सकिने बताए । त्यसैगरी भगवान रामको दर्शनका लागि अयोध्या जानु नपर्ने भन्दै वीरगंजमै रामजानकीको मन्दिर भएको बताए ।
नगर प्रमुख सिंहले वीरगंजलाई आर्थिक नगरी भनेर प्रचार गरिए पनि त्यसको वास्तविक अनुभूति वीरगंजबासीले अहिलेसम्म गर्न नपाएको गुनासो गरे । नगर प्रमुख सिंहले वीरगंजलाई महानगर बनाउँदा ग्रामीण भेगका १६ वटा वडा थपिएको बताउँदै ती वडामा महानगर हुन आवश्यक मापदण्ड अनुसारको सडक र अन्य भौतिक संरचना नरहेकाले यसतर्फ महानगरको ध्यान केन्द्रित भएको बताए । संघीय सरकारले देशमा रहेका ६ महानगरमध्ये सबैभन्दा कम बजेट वीरगंज महानगरलाई दिने गरेका कारण बजेट अभावमा आफूले सोचे अनुसार काम गर्न नसकिरहेको बताउँदै नगर प्रमुख सिंहले संघ सरकारले त्यही काठमाडौँ महानगरलाई साढे १४ सय करोड बजेट दिने तर वीरगंज महानगरलाई १ सय १५ करोड रुपैयाँमात्रै बजेट आउने गरेकामा दुखेसो व्यक्त गरे ।






