नेताहरु पदको पछि लागेर देश बन्दैनः नेपाल

[mashshare]

सञ्जय मिश्रा
काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेताहरु पदको पछाडी लागेर देश नबन्ने टिप्पणी गरेका छन् । बिहीबार संघीय राजधानी काठमाडौँमा आयोजित रौतहट टाईंम्स साप्ताहिकको २६औं बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् । पछिल्लो समय देशमा पदकै लागि हानथाप हुन थालेका कारण देशको विकासमा बाधा पुगेको उनले जिकिर गरे । नेताहरु ईमान्दार तथा निष्ठावान भएर स्वच्छ छवि कायम राख्न नसकेमा कर्मचारीहरुले कुनै राम्रो काम सिक्न नसक्ने उनले दाबी गरे । पूर्व प्रधानमन्त्री नेपालले आफ्नो गृह जिल्ला रौतहटको सदरमुकाम गौर नगरपालिकामा मेयर शम्भु साहले गरिरहेको विकास निर्माणको काम जिल्लाकै लागि उदाहरणीय रहेको भन्दै प्रसंशा गरे ।

साथै अध्यक्ष नेपालले देशमा लागु पदार्थ दुव्र्यसनीको संख्या दिनानुदिन बढिरहँदा सरकारले नियन्त्रणमा चासो नदेखाएको आरोप लगाए । उनले रौतहट, कैलालीलगायत जिल्लामा पछिल्लो समय लागु पदार्थ दुव्र्यसनी बढिरहेको भन्दै सरकार, प्रहरी र प्रशासनको भूमिका माथि प्रश्न उठाए । युवाहरु लागु पदार्थको दुव्र्यसनमा फसिरहेको उल्लेख गर्दै उनले अपराधीहरु कारवाहीको दायरामा आउन नसकेको बताए । राज्य सञ्चालनका तरिकामा कमि कमजोरीहरु रहेको भन्दै उनले सुधार गर्ने सोचका साथ अघि बढ्नुपर्ने आवश्कता औंल्याए ।

कार्यक्रममा पूर्व मन्त्री तथा समाजवादी नेता डाक्टर बंशिधर मिश्रले नेपालका नेताहरुले बंगलादेशसँग सिक्नुपर्ने बताए । बंगलादेशमा पानीमा धान उब्जाउने गरेको चर्चा गर्दै उनले नेपालीहरु आफ्नो खेत बाँझो राखेर वैदेशिक रोजगारीमा जानु दुर्भाग्य भएको बताए । आआफ्नो जन्मदिनको अवसरमा वृक्षारोपण गरेर मनाऔं भने प्रतिवद्धतासहित रौतहट टाईंम्स साप्ताहिक पत्रिकाको वार्षिकोत्सव कार्यक्रममा संघीय सांसदको शिक्षा सूचना तथा प्रविधी समितिको सभापति अमर बहादुर थापा, प्रेस काउन्सिलका अध्यक्ष बाल कृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेल, गौर नगरपालिकाका मेयर शम्भु साहलगायतले वर्तमान समयमा छापा मिडिया अर्थात पत्रिका प्रकाशन चुनौतीपूर्ण काम रहेको बताए । साथै त्यसक्रममा पत्रिका नियमित प्रकाशनसँगै समाज सेवामा समेत सक्रिय रहेको भन्दै सम्पादक प्रकाशक गोबिन्द चौलागाईको प्रशंसा समेत गरेका थिए । रौतहटको चन्द्रपुर नगरपालिका घर भएका चौलागाईं राजधानी काठमाडौँमा बसेर विगत २६ वर्षदेखि नियमित पत्रिका प्रकाशन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button