

ज्यान निकै सुकेको छ । आँखा दुख्न थालेका छन् । कम्प्युटर अगाडि बसेर उसलाई एकटकले नजर गरिरहँदा सायद आँखाका नानीका ‘चमक’ मोनिटरका ‘चमकदमक’सँग कमजोर हुँदै गएका छन् । नदेखिओस् पनि कसरी, ऊ परिचालित हो, विद्युतीय खुराकीमा उसले बजारको मागअनुसार आफ्नो मेसिनरी क्षमतालाई मानव सभ्यतासँग जोडिरहेको छ । मोबाइल, कम्प्युटर खेलाएर मान्छे बिग्रन्छ भन्नेहरुको कुरा सुनेर कम्प्युटरमा कामै नगर्ने कुरा पनि भएन । काम नै कम्प्युटरमा गर्ने भएपछि आँखाको स्याहार गर्नु पर्ने थियो, समयमा गरिएन भने दुःख पाइन्छ भन्ने पात्र अहिले आफैँ भएको छु । अरुलाई स्वास्थ्यको ख्याल गर्न भन्दाभन्दै आफ्नै स्वास्थ्यमा एकतमासले गिरावट आइरहेको अनुभूत भइरहेको थियो । खानपान सन्तुलित थियो तर खोइ के भयो, ज्यान घटेर पातलिन थाल्यो । पुराना कपडाको आयतनमा ज्यानको नापो बिग्रेर बाँसका भाटामा कपडा उने झैँ देखिएपछि आफैँप्रति पहिलोपटक चिन्तित भइरहेको थिएँ ।
अक्सर पछिल्लोपटक म कम फोन उठाउनेमा पर्छु । फोन उठाएर अरुको समस्यामा समवेदित हुँदै राज्यका निकाय, नेता, कर्मचारी, प्रहरी, हाकिमसँग कति फोनमा झगडा गर्नु, मनस्थितिको तापक्रम बढाउनु ? उसै पनि सबै मेरो फोन आयो कि आत्तिन थाल्थे । मभन्दा माथिल्लो निकायलाई फोन गरेर ‘सम्झाइदिन पर्यो’ भनेर दबाब दिन्थे । उनीहरु मलाई सिधै भन्न बहुत् बहादुरीका साथ डराउँथे । केही भनिहाल्ला कि, केही लेखिहाल्ला कि ? रिसमा केही भनिएला, फेरि कुनै समाचारको पात्र पो हुनुपर्छ कि ? बहुत् दूरी राख्थे । पछिल्लो समय चैँ म आफैँ दूरी राख्न थालेको छु । लेखेर के भयो ? सुरुमा अस्पतालमा बच्चा मरेको सूचना दिन्छन् । समाचार लेखिदियो । आन्दोलन हुन्छ, अस्पतालमा सहमति हुन्छ । कुन्नि कति पैसामा मृतकका आफन्त बेचिन्छन् । अस्ताल अपराध जोगाउँछ । प्रहरीले मुचुल्का उठाएर पठाउँछ । पहिला फोन गर्ने तिनीहरु नै पछि फोन उठाउँदैनन् । बरु भन्छन्, ‘हाम्रो कुरा मिल्यो, अब पत्रकारले केही नउचालिदिए हुन्थ्यो ।’ उनीहरुका कुरा सुनेर मन खिन्न हुन्छ, के काममा लागिएछ, अस्ति जसले खोजे, आज उनीहरु नै टाढिन्छन् । भोलिपल्ट छिमेकीको पत्रिकामा त्यही अस्पतालको ठूलो विज्ञापन छापिन्छ । समाजमा सबै मिल्छन्, एउटालाई एक्लो पार्छन् । यस्तो ‘लैबरी समाजसेवा’बाट विस्तारै अनुपस्थिति जनाउँदैछु । फेरि समाज रातबिरात फोन गर्छ, उठाउनै पर्यो, यस्तै एकाध सूचना लिएर दिमागको तापक्रम बढाइदिन्छन् ।
पछिल्लो समय साहित्यिक कार्यक्रमहरुमा उपस्थिति कम हुन थालेको छ । आयोजकहरु बोलाउँदैनन् । नबोलाएपछि जाने कुरा पनि भएन । केही मुठ्ठिभरका साहित्यकारहरुको कब्जामा छ स्रोत, सत्ता, शक्ति र संस्थाहरु । उनीहरुले नै सामाजिक सञ्जालमा आफ्ना निकटकाहरुलाई महान र वरिष्ठ साहित्यकार बनाउँछन् । लेखाउँछन् । लेख्न लगाउँछन् । पुरस्कार बाँडचुँड गर्छन् । उनीहरुले के लेखेका छन्, गुगलमा पनि हत्पत्ति भेटिन्न । कसैलाई सोध्दा पनि खास सूचना आउँदैन । आरिष, कुष्ठा, द्वेष, विभेद र नजानिँदो सत्रुताको ठूलो झ्याङ देख्छु । केही साहित्यिक महोत्सवहरुमा मञ्चमा टुपुल्किएका अनुहारहरु हेरेर लाग्छ, स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारले साहित्यिक उन्नयनमा गरेको लगानी मुठ्ठिभरका लागि मात्र ‘प्रगतिशील’ देखिन्छ । यसको निष्कर्ष खोज्ने हो भने किताब साटासाट, पुरस्कार बाँडाबाँड र आफू अनुकुलकाहरुको गाला चाटाचाट भन्दा पर छैन । आएका नयाँ पुस्ता के पढ्छन् ? प्रश्नै छ । पुराना पुस्ताबारे जानकार पनि छैनन् । को हुन् भनेर खोज्न पनि चाहदैनन् । पुराना र नयाँबीच दूरी बनाएर केही वरिष्ठतमहरु भने फेरि लगातार पछिल्लो तीन दशक ‘महान–होनहार’मा दरिएका छन् । सुन्छु, उनीहरुले बेच्ने गरेको तत्तत् संस्थाहरु नाम त दर्ता पनि छैनन् रे ! दर्ता नभएपछि नवीकरण पनि छैन होला, पक्का हो !
हो, सम्झन्छु,२०५८–५९ का ती दिनहरु । मकवानपुरमा साहित्यिक संस्था खोल्ने होड थियो । गाउँगाउँमा साहित्यिक कार्यक्रम गरेर चेतनाको डाँक छर्न खोजेका थियौँ । अझ सजिलो थियो हवाई पत्रिकाको दुनियाँमा । हुलाकले गाउँगाउँमा साहित्यिक पत्रिका पुर्याउने गथ्र्यो । भित्ते पत्रिका निकालेर लेखियो । त्यसपछि हवाई पत्रिका निकालियो । देशभरका साथीभाइहरुको ठेगाना पाइन्थ्यो । हुलाकमा आउने चिठीमा ६० प्रतिशत आफ्नै नामका हुन्थे । पत्रमित्र भन्ने स्तम्भ हुन्थ्यो । दुई पटक त युवामञ्च मासिकमा पत्रमित्रतामा मेरो पनि नाम गोला प्रथामा परेको थियो । गोरखापत्र संस्थानको सबैभन्दा प्रिय पत्रिकाले वर्षभरिलाई पत्रमित्र कुपनबाट गोलाप्रथा गरेर छान्थ्यो र छाप्थ्यो । दुई वर्ष युवामञ्चमा पत्रमित्रतामा तस्बिर र ठेगाना छापिएपछि हुलाकमा चिठी आउँथे । आएकाहरुको जवाफ दिइन्थ्यो । खाजा खाने पैसा हुलाक र टिकटमा खर्च हुन्थे । राम्रा अक्षरमा पत्र लेख्ने होड हुन्थ्यो । मीठा मुक्तक र सायरी हालेर पत्र लेखेपछि जिन्दगीको मिठास अर्कै हुन्थ्यो । ती दिनहरु अहिलेको टिकटक पुस्तालाई के थाहा ? यो जुनी हुँदै हवाई साहित्यिक पत्रिकामा प्रवेश भयो । एउटा सानो हवाई पत्रमा झण्डै ३० जना जतिको मुक्तक, गजल छापेर पठाउँथ्यौँ । पत्रिकाको ग्राहक शुल्क भनेर हुलाकबाट पठाउँथ्यौँ । एउटा भाइले पाँचसय रुपैयाँ पठाएको भन्यो, हामीले पाएनौँ, त्यसपछि हुलाकसँग शंका पनि भयो ।
जेहोस्, नारदले ‘नारायण, नारायण’ भन्दै स्वर्गलोकमा खबर पुर्याएको र मान्छेले चिठी परेवालाई पुर्याउन लगाएको कथा पढ्दै हुलाकबाट पत्र आउने संसारमा पुग्दा एउटा विश्वास थियो मान्छेबीच । कहिलेकहीँ धागोले बाँधेको चिठी आउँदा, ओहो को मरेछ भनेर मन चिसो हुन्थ्यो । अहिले त आँखै अगाडि भयंकर दुर्घटना हुन्छन्, मान्छे उद्धार गर्न पुगिन्छ । साँच्चै संसार बदलियो । मान्छे झन बदलियो । यति अल्छी भयो कि, पहिला जस्तो पढनदास युग हराउँदै गयो । मिल्ने भए मान्छे भारतीय कवि सम्पत सरलले भने झैँ किन चुल्हो बालिरहन्थे, गुगलबाटै रोटी डाउनलोड गरेर खान्थे, फेरि मोबाइल चलाउन थाल्थे ।
तत्कालीन कालिकाटार गाउँ विकास समिति, जहाँ हामी जन्मिएका थियौँ, त्यहीँबाट यहाँसम्म आइपुगेका हौँ । अहिले मकवानपुरको कैलाश गाउँपालिकामा गाभिएको छ यो गाविस । हामीले साहित्यिक संस्था खोलेका थियौँ । मृगतृष्णा साहित्य डबली । संस्था अहिले पनि छ तर क्रियाशीलता कम छ भनुँ, साथीहरु रिसाउलान्, छैन भनुँ, केही न केही छ गरिरहेको छ । केही नभए पनि चियापसलमा चर्चा त हुन्छ नै । साथी श्यामकुमार बानियाँले गाविस उपाध्यक्ष जनकलाल बानियाँ (नातामा दाई)सँग ६ हजार रुपैयाँ जति बजेटकै पैसा मागेछन् । त्यो पैसामा हेटौँडाबाट साहित्यकारहरुको समूह चुनियाँ बजार हुँदै, नामटार भएर कालिकाटार पुग्यो । बीचको टकुवा गाउँ हाम्रो थियो । त्यहाँ साहित्यिक कार्यक्रम गरेका थियौँ । गाउँमा साहित्यको अभियान चलाउनु पर्छ भनेर त्यतिखेर दिइएको ६ हजार रुपैयाँ अहिलेको पाँच लाख रुपैयाँ जस्तै भएको थियो । त्यो पैसा हामीलाई गाउँको कार्यक्रम गरेर हेटौँडा फर्कँदा केही बचत पनि भएको थियो । यसरी त्यतिखेर नै हामीले गाउँमा कविताको कार्यक्रम र सिर्जनशील समूह जन्माउने अभियान चलाइरहँदा पूर्वी मकवानपुरको छतिवन गाविस थियो । जो नेपालकै दोस्रो ठूलो गाविस भनेर चर्चित थियो । त्यहाँ रमेशमोहन अधिकारी सरको नेतृत्वमा झरना साहित्य परिवार स्थापना भइसकेको थियो । गएको फागुन १२ गते यो संस्थाले आफ्नो ३० औँ वार्षिकोत्सव मनायो ।
हामी पश्चिम मकवानपुर, चेपाङ–तामाङ बाहुल्य संसारका थियौँ । पूर्वी मकवानपुरको छतिवन अर्कै बाहुल्यमा थियो । तर साहित्यको वृक्षरोपण गर्ने रमेशमोहन अधिकारी सरकारको प्रयास आजपर्यन्त संस्थागत भइरहेको छ । हाम्रो क्रियाशीलत युवा पुस्ताबाट स्वास्नी, छोराछोरी पाल्ने काममा ज्याला गर्नु पर्दा ओझेलिँदै गयो । हामी पुराना र पाखा लाग्ने नै भयौँ । निरन्तरता दिन नसकिएपछि अहिले हाम्रो संस्थाको माइन्युट पनि कन्तुरमा कैद छ ।
झरना अहिले निकै फस्टाएको छ । बकैया गाउँपालिका भएको छ साविकको छतिवनसँगै आसपासका अन्य गाविसहरु गाभिएर । झरना साहित्य परिवारले झरना साहित्यिक पत्रिका प्रकाशन गरिरहेको छ । वीरगंजबाट सगरजस्ता बाक्ला साहित्यिक पत्रिका निस्कन्थे कुनै बेला । हेटौँडामा साहित्य संगम मकवानपुर अहिले पनि आफ्नै भवनमा हरेक महिनाको दोस्रो शनिबार साहित्य सन्ध्या गरिरहेको छ । सम्झन्छु, ५७ औँ साहित्य सन्ध्याको प्रायोजक बनेको थिएँ । यही चैतको दोस्रो शनिबार उसको ३ सय ४१ औँ साहित्य सन्ध्या भएछ । झरनाले पनि बकैयामा आफ्नै भवन बनाउँदैछ । बकैया गाउँपालिकाले हरेक वर्ष झरना साहित्य कला महोत्सवका लागि झरनालाई बजेट दिँदै आएको छ । जग्गा लिएर भवन बनाउँदैछ । साहित्यले मान्छेलाई सिर्जनशील बनाउँछ । सिर्जनशील समाज निर्माण गर्छ । तपाईंका सन्तान मोबाइलमा खेलेर बस्नु भन्दा केही लेख्यो, बोल्यो भने पक्कै उसले केही सिक्छ पनि । अहिले मोबाइल पुस्ताले देशमै बसेर, कोठाभित्र पसेर इन्टरमार्फत कमाइ गर्न सक्छ । डिजिटल भुक्तानी पनि हुनसक्छ । तर साहित्य सिर्जना शक्ति हो । यो शक्तिका लागि बहस, छलफल, अभिमुखीकरण र लेखनका लागि उत्प्रेरणा जरुरी हुन्छ । जुन काम झरनाले गरिरहेको छ । झरना परिवार अहिले निकै धनी भएको छ । हरेक वर्ष उसले अनेकौँ नाममा पुरस्कार स्थापना गरेर वितरण गरिरहेको छ । काठमाडौँदेखि देशभरका साहित्यकार, लेखक, पत्रकार झरनाको पुरस्कार थाप्न बकैया पुगिरहेका हुन्छन् । झरनाको यो लोभलाग्दो क्रियाशीलता हेटौँडामा साहित्य संगम मकवानपुर र मातृभूमि साहित्य समाजबाहेक अरुले निरन्तरता दिनसकेका छैनन् ।
पश्चिम मकवानपुरमा साहित्यलाई माया गर्नेहरु नै सत्तामा भए पनि यस्ता कार्यक्रमबारे बहस कम हुन्छन् । उत्तरी मकवानपुरको थाहामा पनि एउटा महोत्सव भयो, रोकिएको छ । साहित्यलाई बजेट दिएर स्रष्टालाई उन्मुक्त ढंगले विचरणका लागि बकैया गाउँपालिकाले गरेको लगानी खेर गएको छैन । हरेक वर्ष हरेक वडामा पुगेर झरनाले महोत्सव गरिरहेको छ । पालिकाले गर्व गर्ने विभिन्न नाममा झरनाको नाम अगाडि नै छ । झरनाको प्रस्तावना अस्वीकृत हुने कुरै छैन ।
यही झरनाले गएको फागुन १२ गते आफ्नो तीन दशक यात्राको पेरिफेरिमा पत्रकारिता विधाको पुरस्कार मलाई पनि दिएको थियो । पूर्वी मकवानपुरका पत्रकार भाइ गोकर्ण गौतमको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कार पाउने मकवानपुरे पत्रकारहरुमा मेरो पनि नाम दर्ज भएको छ । भाइ गोकर्णलाई सम्झिएँ । कान्तिपुरमा अब्बल भएर जमिरहँदा टाउकोको एउटा सानो शल्यक्रिया असफल हुँदा निधन भयो । अप्रिय घटना थियो । भर्खर विवाह गरेका गौतमको इहलीला सकियो । उनको नाममा परिवारले स्थापना गरेको पुरस्कार लिन धेरैपछि पूर्वी मकवानपुरको शिखरपुर पुगेँ । धेरै वर्षअघि विमान दुर्घटना हुँदा शिखरपुर पुगेको थिएँ । पछि विमानमा मरेकाहरुको सम्झनामा स्कुल बन्दा परिवारहरुको निम्तोमा पुगेको थिएँ । यसपटक पुरस्कार लिन पुगेँ । पूर्वी मकवानपुरको शिखरपुर, धियाँल, राईगाउँ, फापरबारीलगायतका भूगोलहरुमा विभिन्न कामले पुगेको छु । माओवादी द्वन्द्वकालमा माओवादीका कार्यक्रमहरुमा पुगेको छु । आज हेटौँडा–सिन्धुली–धरान चतरा सडक चिल्लो देखिन्छ । पूर्वी मकवानपुरको उन्नयन छ । अब हेटौँडा बजार पूर्वतिर विस्तार हुँदैछ । बकैया र बागमती गाउँपालिका, छिमेकमै निजगढ, फास्ट ट्र्याकसँगै सिन्धुलीसँग पनि जोडिएको छ । काठमाडौँ र तराईसँग नजिकिएको बकैया धरान, सिन्धुलीसँग पनि समीपमै छ । बकैयाको प्रगति जति छ, त्यति नै प्रगति झरना साहित्य परिवारको देशव्यापी देखिन्छ । देशका कुनाकाप्चामा हुने साहित्यिक महोत्सवमा झरना अतिथि बनिरहेको हुन्छ । यही झरनाले तिमी अझै पत्रकार नै हौ–छौ भनेर बोलाएर गरेको सम्मानसँगै गाउँ यादिएँ, विगत यादिएँ । दुःख यादिएँ, समाज यादिएँ र यादिएँ झरनासँगै आफूलाई पनि ।






