

नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो गजल महोत्सवको आयोजन गर्दा मैले तत्कालीन प्रदेश नम्बर २ बाट प्रदेशस्तरीय गजलको प्रतिवेदन प्रस्तुत गरेको थिएँ । ज्यादै कम लेखे पनि मेरा गजलहरु करिब तीन दशकदेखि प्रकाशन भइरहेका छन् । मैले कतै कुनै लेखाजोखा राखेको छुइनँ ।
नेपाल प्रादेशिक संरचनामा गइसकेपछि साहित्यको क्षेत्रमा पहिलोपटक प्रदेश नम्बर २ ले एउटा काम ग¥यो प्रदेशस्तरको । त्यसले बनाएको इतिहासको गोरेटोमा अहिले कैयौँ राजमार्गहरु निर्माण भइसकेका छन् । त्यो मेरो दुःस्साहस थियो –प्रदेशस्तरको गजलको । साहित्यकार नवराज रिजालसित सल्लाह गरेर ‘नवप्रज्ञापन’को एक अंकलाई प्रदेश नम्बर २ का गजलकारहरुको गजल विशेष निकाल्ने । निकै परिश्रम गरेर सफल भइयो पनि । उक्त कार्यको संयोजन मैले गरेको थिएँ ।
अहिले मेरो हातमा एउटा गजल कृति परेको छ – लिस्नु । गजलकार हुन् – ईशहाक हुसैन । २००७ भदौ १२ मा जन्मिएका हुसैनको प्रसिद्धिको बारेमा धेरै जानकारी त छैन तर पर्सा, बारा र रौतहटका गजलकारहरुमा अत्यन्त प्रिय छन् । उनका रचनाहरु विभिन्न पत्रपत्रिकामा निकै पहिलेदेखि प्रकाशित हुँदै आएका छन् तर कृतिको रुपमा सम्भवतः यही पहिलो कृति हो – लिस्नु । बुढ्यौली उमेरमा ‘लिस्नु’ चढ्न खोजेका हुसैन बारा निवासी हुन् । कृतिकार आफैँले आफ्नो गजल कृति ‘लिस्नु’ को प्रकाशन गरेका छन् । यसै कारण कृतिभित्र ‘प्रकाशकीय’ र ‘आफ्ना कुरा’ गरी दुई ठाउँमा भूमिकासँगै प्रस्तुत भएका छन् हुसैन । ‘प्रकाशकीय’ हुसैन लेख्छन् –‘उमेरको हदपार गर्दाको बखत सन्तान प्राप्तिको आशै नगरेको वृद्धले सन्तान प्राप्त गर्दाको हर्ष सुखीको आँकलन …’ । उनै कृतिकारको विशेष ‘फमाइस’मा उनको कृति ‘लिस्नु’माथि यहाँ परिचर्चा प्रस्तुत गरिएको छ ।
२०२४सालदेखि साहित्यसित चिनाजानी गरेका हुसैनको पहिलो कृति ७३ वर्षको उमेरमा २०८० मा प्रकाशन हुनु आफैँमा विशेष प्रकारको घटना हो । सामान्यतया गजलको शीर्षक हुँदैन । हुसैनको लिस्नुमा पनि गजलको शीर्षक दिइएको छैन । गजल नै भनिएको छ र गजलको क्रमलाई चिनाउनको लागि हरेकमा एउटा संख्या लेखिएको छ । उनको पहिलो गजलको आरम्भिकाका साथै कृतिको आरम्भिक गजल यस्तो छ :
नव नित्य सधैँ भैरहोस् म नित्यको पुजारी हुँ
सदैव शुभ नै भैरहोस सुकृत्यको पुजारी हुँ
नौरङ्गी नव रङ्गको रङ्गीन देशको बासी हुँ
फैलेको यो देश भरि नै लालित्यको पुजारी हुँ
विद्वत कल्प भए नि विद्याको कदरदान म
अनुरागी हुँ कलाको म साहित्यको पुजारी हुँ
छैन विकल्प जसको जो जाज्वल्यमान जगमा छ
भुसुनो कण उसैको म आदित्यको पुजारी हुँ
खुल्ला छ ढोका दिलको जो ढक्ढक्याउनु पर्दैन
शुभ आगमन अतिथिको प्रेमित्यको पुजारी हुँ ।
गजललाई शास्त्रीय अर्थमा पे्रमिकासित वार्तालापको रुपमा लिइन्छ तर यहाँ त हुसैन साहित्यको पुजारीको रुपमा आफूलाई प्रस्तुत गर्दछन् । कहीँकतै शास्त्रीयतालाई छोएका पनि छैनन् । आधुनिक नेपाली गजलले समसामयिक विभिन्न विषयलाई आत्मसात गरिसकेको सुन्दर दृष्टान्त हो यो ।
गजलकारको साहित्यिक अनुराग मनको प्रवाहलाई प्रवाहित गर्नको लागि मात्र हो भन्ने होइन, साहित्यलाई पनि प्रवाह दिनको लागि हो । सम्भवतः दोस्रो गजलले कृतिको शीर्षभावलाई पनि समेटेको छ । दोस्रो गजलमा पनि परम्परागत प्रेमालापलाई महत्व दिइएको छैन । गजलकार आफ्नो जीवनको उद्देश्यलाई पनि यसमा अलिकति स्पष्ट्याउन चाहन्छन् :
स्नेही एकता यो सहष्णु गजल हो मेरो
भ्याकुर, गिठा मीठो सिस्नु गजल हो मेरो
पानीका सर रर घट्टका धुनहरुमा
मकै र कोदो आहै पिस्नु गजल हो मेरो
मन्दिरमा देवताको पूजा तिमीले गर्छौ
शब्द यो सरस्वती विष्णु गजल हो मेरो
बटुलेर शब्द शब्द शब्दावली बनाई
प्रसादमा मिठास मिस्नु गजल हो मेरो
अक्षरको खुड्किलोमा टेकेर आउनु है
उक्लिनु माथि माथि लिस्नु गजल हो मेरो ।
गजलगो हुसैनमा राष्ट्रियताको भाव छ, देश प्रेम छ, माटोको गीत गाउने चाहना छ, नेपाली हुनुको गौरव र गरिमा छ, नेपालको प्राचीनताले छाती फराकिलो पार्ने प्रवृत्ति छ । उनी आफ्नो एउटा गजलको एक शेरमा भन्छन् :
शक्ति साहस एकता नै नेपालीको गहना हो
देशभक्ति नेपालका वीरहरुमा पाउने छौ
वीरताको भाव नेपालीको रगत र नसामा नै रहेको हुन्छ । अनि एक गजलकारमा यसको अभाव कदापि सम्भव छैन । यस कृतिमा वीररसका गजलहरु पर्याप्त छन्। एक अर्को गजलमा अझ यसरी भन्छन् गजलगो ः
तिनकोटी नेपालीका पाइलाका चालसँगै
यमराजसँग लड्छौँ जुध्ने छौँ कालसँगै ।
एउटै गजलमा एकभन्दा बढी विषयवस्तु पनि हुन सक्छन् । गजलको हरेक शेरमा पृथक विषयवस्तु आउनुलाई राम्रै मान्ने गरिएको पाइन्छ । अझ धेरै गजलमा धेरै विषय हुनु पनि स्वाभाविक हो । गजल विधामाथि पकड राख्ने हुसैनका गजलमा गज्जबको विषय वैविध्य पाइन्छ । उनी कतै विषय विविधतामा रमाउँछन् त कतै विषयमा स्थिर रहेर विषयको महत्ता बताउँछन् । एक गजलमा साहित्यको महत्ता बताउँदै साहित्यकारको सम्मान पनि गर्दछन्, यथा :
साहित्यका रथी हुन् भानु, मोती र देवकोटा
भए लक्ष्मी महाकवि अक्षर नै सिंगारेर ।
जीवनमा उत्साह र निराशा घाम र छायाँजस्तै हुन् । कतै सम्यक भाव पनि हुन्छ जिन्दगीमा । हुसैनको लिस्नुमा प्रकृति वर्णन त छ नै । प्रकृतिलाई बिम्ब बनाएर जीवनका आशा, निराशा र उतारचढावलाई पनि प्रस्तुत गरेका छन् । जीवनको ऐना बनेका गजलहरुले धेरै यथार्थलाई प्रतिबिम्बित गराएका छन् । एक ठाउँमा गजलकार हुसैन आफ्नो पीडालाई यसरी अभिव्यक्त गर्दछन् :
भन ऐ दिल यो जिन्दगी हारुँ कहाँ कहाँ
बाँकी रहेका आँशु यो झारुँ कहाँ कहाँ ।
गजलकार हुसैन आफ्नै देशलाई चार धाम बनाउन चाहन्छन्, आफ्नै देशमा रमाउन चाहन्छन् र देशमै रमाउने बानी पनि पारेका छन् । कतै विरहमा नछटपटिएका होइनन् वा आफूलाई बैगुनी ठान्नेको अदालतमा इमानदारको प्रत्युत्तर नलगाएका होइनन् । जीवनमा रहेका उतारचढावलाई झेल्दै गएपछि, दुःख र पीडाको भार खप्दै र सहँदै गएपछि एक पाका मानिसमा आउने भावलाई एउटा गजलमा हुसैनले यसरी अभिव्यक्त गरेका छन् :
जिन्दगी हो ठेलागाडा ठेल्न सक्नु पर्छ
हाँसीहाँसी दुःख पीडा झेल्न सक्नु पर्छ ।
जीवन त कुनै योजना हुन सक्दैन । यसलाई मानिसले व्यवस्थित गर्दै जाने हो । जीवनलाई अझ व्यवस्थित बनाउन प्रयास गर्नुपर्छ र केही आइपरेमा हुरीआँधीलाई सहनु पनि पर्छ । सबैको सबै चाहना कहिल्यै पूरा हुन सक्दैन किनभने चाहनाको कहिल्यै कुनै अन्त्य हुँदैन । मनका इच्छा र रहरलाई बतासले छर्न पनि सक्छ । यसैले कर्ममा विश्वास गर्नुपर्छ, श्रमलाई सम्मान गर्नुपर्छ । आफूले आफ्नो श्रमको सम्मान गर्ने अनि अरु श्रमिकको पनि श्रमलाई सम्मान गर्नुपर्छ । रुन छाडेर रमाएर हाँस्नुपर्छ ।
सत्यको विजय सदैव भएको र हुनेमा पनि गजलगो हुसैन विश्वस्त छन् । सत्यपथले देशको विकास हुनेमा पनि विश्वास गरेका छन् । अनि गजलगो कतै ज्ञानको महिमागान गरेर महान बनाउँछन् त कतै जिन्दगीलाई कसीमा नाप्दछन् । मनमा उठ्ने भावसँगै कविले प्रेमको गीत नगुनगुनाएका हैनन्, यादमा नछटपटिएका हैनन् । मुटुको ढुकढुकी मानी गजलकार यसरी पोख्दछन् आफूलाई :
तिमीले घुम्टो उठायौ गजलको शेर भयो
जून पूर्णेको उदायौ गजलको शेर भयो ।
मदिरापानलाई हुसैन मन पराउँदैनन् सिर्जनामा । आफ्नै देशमा गरिखान चाहन्छन् तर काम नपाइएको गुनासो पनि छ । बेहाल देखेर मुटु चर्कोको पनि बताएका छन् । निराशाको भाव पनि उरालेका छन् । खेतबारीमा विषादिको प्रयोगले क्षुब्ध पनि बनेका छन् । कतै मात्तिएको स्वीकार गर्छन् त कतै प्रशंसाको पुल बाँधेर भावको गहिराइमा पौडी खेल्दछन् । एउटा गजलमा सरस्वतीको बडो मिठो अर्चना छ :
सरस्वती हौ तिमी विद्याकी खानी
मलाई गर्छौ माया कवि आफ्नै ठानी
गजल र गजलगोको महिमा गाउन हुसैनको हृदय ओतप्रोत छ । देशलाई जहाँ पनि माया गर्नुपर्ने भाव छर्छन् । देशभक्तप्रति सम्मान र देशको झन्डालाई स्वाभिमान ठान्दा पाठकको हृदयमा गर्वबोध भरिन्छ । ठाउँठाउँमा सगरमाथाको उचाइ बराबर नेपालीको सिर रहेको भाव प्रस्तुत भएको छ । नेपालीमा एकताको भाव हुनुपर्ने भावलाई एउटा गजलमा यसरी आएको छ :
मन्दिर, मस्जिद, गुम्बा सारा मुटु नेपालीका
ईश्वर, अल्लाह, हृदयमा बुद्ध, कृष्ण, राम हुन्छ ।
गजलगो हुसैन फाटेको मनलाई सिउनुपर्ने सल्लाह दिन्छन् । पुण्यकर्मको वृद्धि हुनुपर्ने र पापीको क्षय हुनुपर्ने कामना गर्दछन् । अनि गरिबप्रति सहानुभूति राख्छन् । अन्न उब्जाउने किसानहरुलाई उच्च सम्मान र श्रद्धा गर्दछन् । मानिसको भेषमा रहेको भेडियाप्रति व्यंग्य गर्दछन् । नेपालीहरु विदेसिँदा पीडाको अनुभव गर्छन् । सधैँ सत्य र शुभ बोल्न सल्लाह दिन्छन् । बालबालिकालाई सफासुग्घर रहन र फोहोरबाट टाढा रहन पनि सल्लाह दिन्छन् । प्रदूषणबाट जोगिन पनि सल्लाह दिन्छन् । अचम्मका स्वभाव भएका मानिसलाई डाम्न पनि पछि पर्दैनन् । अनि मित्रका लागि त गजलगो खुसी बेच्न पनि यसरी तयार देखिन्छन् :
नगरे है साथी यो मन सानो खिन्न
खुसी बेचिदिन्छु बेथा तिम्रो किन्न ।
साहित्यकारलाई आफ्ना पीडा, असन्तुष्टि र असन्तोष चुहाउने ठाउँ नै साहित्य हो । हुसैनले लामो जीवनयात्राका धेरै भावलाई यस संग्रहमा राखेका छन् । यसमा जीवनका अनेक गीत गाइएका छन् र देशभक्तिको दृष्टिकोणले यो संग्रह विशिष्ट रहेको छ । गजल प्रेमको हुनुपर्नेमा यो गजलकृति वास्तवमा देशभक्तिको बन्न पुगेको छ । हुसैनमा देशभक्तिको भाव प्रबल रुपमा रहेको यथार्थलाई कृतिले स्पष्ट पारेको छ । कृतिको अन्तिम गजलको अन्तिम शेरमा यसरी आफूलाई पस्कन्छन् :
अनुरागी हामी सब नै मौरीको झै मिलेर
देश यो बनाउँछौँ बेस हामी र हाम्रो कृति ।
सिद्धहस्त गजलकार ईशहाक हुसैनको प्रस्तुत गजलकृतिले उनलाई पहिलोचोटि कृतिकारको संज्ञा दिएको छ । परिपक्व विचार तथा सन्तुलित भाव प्रवाहमा यो कृति अब्बल देखिएको छ । कृतिमा राजेन्द्र थापा, बद्री उप्रेती तथा शैलेन्द्रकुमार थापाले शुभकामना लेखेका छन् भने मदन नेपालले सम्पादकीय लेख्दै भन्दै छन् – हरेक गजलमा आफ्नै छुट्टै मिठासपन रहेको र अनौठा तर व्यवहारमा आउने शब्द प्रयोग हुुनु पनि विशेषता ठानेको छु । अन्य भाषामा पनि कलम चलाएका हुसैनको प्रस्तुत गजल संग्रहभित्रका भाषाशैलीले निजको मौलिकतालाई पनि उजागर गरेको छ भने गजलकृतिलाई पठनीय पनि बनाएको छ । कृतिकार हुसैनको साहित्यिक उन्नयनको कामना गर्दछु ।






