सप्तरीको अग्नीसाईर गाउँपालिकामा पुनः तालाबन्दी

[mashshare]

अनिल पोखरेल
राजविराज ।
सार्वजनिक जग्गा विवादको समस्या समाधानतर्फ नगई व्यक्तिको नाममा पास गर्न सघाएको भन्दै स्थानीयवासीले पुनः एक महिनापछि सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गर्न सघाएको विरोधमा अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको विरुद्ध गाउँपालिका कार्यालयमा बिहीबार तालाबन्दी गरिएको हो ।

संघर्ष समितिका संयोजक अरुण कुमार चौधरीको नेतृत्वमा पुगेका समितिका पदाधिकारी तथा स्थानीयबासीले गाउँपालिकाको मूल गेटमा ताला लगाएर गाउँपालिका अगाडि धर्ना दिएका छन् । गाउँपालिका अध्यक्ष चौधरीको स्वेच्छाचारी निर्णयबाट व्यक्तिको नाउँमा पास भएको इटहर्वा बजार कलौनी सीतापुरको सार्वजनिक जग्गा फिर्ता नभएसम्म तालाबन्दी सहितका आन्दोलनको कार्यक्रम जारी राख्ने संघर्ष समितिका संयोजक चौधरीले बताए ।

यसअघि कार्यपालिकाको निर्णय विपरीत गाउँपालिका अध्यक्ष चौधरीले मालपोत कार्यालय सप्तरीलाई जग्गा रोक्का तथा चारकिल्लामा सिफारिस गरिएकोले संशोधन सहित जग्गा रोक्का राख्ने सहितका आफूहरू सित भएको सम्झौता विपरीत व्यक्तिको नाउँमा सार्वजनिक जग्गा पास गरेको विरुद्धमा आन्दोलनमा उत्रिनु बाध्य भएको उनको भनाइ छ ।

गत फागुन १५ गते अध्यक्ष चौधरीले अध्यक्षतामा बसेको कार्यपालिका बैठकद्वारा इटहर्वा बजारको जग्गा रोक्का सिफारिस संशोधनसहित रोक्का कायम राख्ने र उक्त जानकारी मालपोत कार्यालय सप्तरीलाई गराउने निर्णय भएपछि सोही अनुरूप फागुन १६ गते आन्दोलनरत पक्षसँग सहमति समेत गरी तालाबन्दी खोलिएको थियो ।

गाउँपालिका कार्यालयमा बिहीबार बिहान १० बजे तालाबन्दी भएपछि कार्यालय आएका कर्मचारीहरू बाहिरै बसेका थिए भने कतिपय कर्मचारीहरू घर फिर्ता भएका थिए । तालाबन्दीका कारण गाउँपालिकाको सम्पूर्ण सेवा प्रभावित भएको छ । सहमति कार्यान्वयनबाट पछि हट्दै अध्यक्ष चौधरीले मालपोत कार्यालयलाई पत्र नपठाए पछि उक्त जग्गा चैत २ गते व्यक्तिको नाउँमा पास भएको संघर्ष समितिका सदस्य सचिव एवम् इटहर्वा बजार व्यवस्थापन समितिका अध्यक्ष मिलन चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button