

होलीलाई मधेशमा अनेक नामले बोलाइन्छ : फगुवा, फगुआ, होरी, होली आदि ।
जब कुनै संस्कृति लामो समयसम्म टिकीरहन्छ तब त्यसको आर्थिक सम्बन्ध निकै गहिरोसित स्थापित भइसकेको हुन्छ । यसको अर्थ हो, त्यस संस्कृतिले लामो इतिहास बोकिसकेको छ । लामो इतिहासमा संस्कृतिको भ्रमण हुन्छ र भ्रमणशील संस्कृति केही मौलिकतासहित हस्तान्तरित तथा स्थानान्तरित पनि हुन्छ । अनि कालान्तर तथा भौगोलिक दुरी निकै धेरै बढेपछि उक्त संस्कृतिको मौलिक स्वरुप के हो भनेर बहस हुन पनि सक्छ । यदि शास्त्रीय आधार छैन वा छ भने पनि यदि संस्कृतिको मौलिकताले बहस उठाएमा स्थानीय मौलिकताको पक्ष पनि उजागर हुन पुग्छ । स्थानीय मौलिकताको महत्व अहिले संसारले बुझेको छ ।
स्थानीय मौलिकतासहित होली विभिन्न ठाउँमा विभिन्न किसिमले मनाउने चलन रहेकै छ । साथै होलीलाई कुन दिन मनाउने भन्ने विषय पनि समाजमा प्रमुख रहेको देखिन्छ । कहिलेकाहीँ एकै दिनको फरकले धेरै कुरामा फरक पार्दछ । मधेशको होली सामान्यतया चैतमा मनाइन्छ । चैत महिनाको कृष्ण प्रतिपदाको दिन होली वा फगुआ मनाइँदा किन यसलाई फगुवा भनिएको होला ? वा फगुआ भनेर किन चैतमा मनाइन्छ होला ? भन्ने जिज्ञासा मनमा आउनु स्वाभाविक हो । यस प्रश्नको जवाफ खोज्नुभन्दा पहिले फगुआ र होलीमा केही भिन्नता छ कि ? यस विषयमा पनि विमर्श गर्न सकिन्छ । फगुआ चाहिँ फागुनबाट बनेको शब्द हो । यसले समाजमा दुई किसिमको अर्थ दिने गरेको पाइन्छ । पहिलो, फागुन महिनामा गाइने विशेष गीत । अर्को, अपशब्द वा गाली, जुन अलिक जोरले दिइन्छ ।
कोही जुनसुकै महिनामा पनि कसैलाई अपशब्द, अश्लील शब्द राखेर गालीगलौज गर्दछ भने त्यसलाई सभ्य भाषामा वा व्यंग्यात्मक शैलीमा फगुवा भन्ने गरिएको छ । फागुन महिनाको गाली मात्र नभई अन्य महिनामा पनि यस किसिमको भनाइ प्रचलनमा रहेकोले फगुआ शब्द चाहिँ बढी लोकप्रिय रहेको बुझ्न सकिन्छ । फगुआको सन्दर्भ अलिकति फागुनको हावासित पनि रहेको हुन्छ । हुन त फागुनमा बहने हावालाई फगुनहट भन्ने गरिन्छ । यसरी अन्य महिनामा बहने हावाको महिनाको आधारमा खासै नामकरण गरिएको पाइन्न । जाडो महिनाको चिसो हावा त्यो पनि खोलाको आसपासको हावालाई ढरुवा भन्ने गरिएको भने पाइन्छ तर फागुनको विशेष हावा रहने गरेको जनविश्वास रहेको छ ।
अहिले पनि कतै अभिभावकबिचमा छोराछोरीको विवाहको कुरोको जब टुंगो लाग्दछ तब अबिर अवश्य लगाइन्छ । अझ रङ हाल्ने चलन पूरै हटिइसकेको छैन । रङको चलन अलिक कम भएको छ, कुरो छिन्ने समयमा । अबिर अलिकति भए पनि लगाउनै पर्छ । र, परिवेश मिलेमा अझै पनि जिउभरि अबिर दलेर वा अबिरले नुहाएको जस्तो पनि गर्नुलाई अस्वाभाविक मानिन्न । यो, यस अवस्थालाई जुनसुकै महिनामा पनि फगुआ भन्ने गरिएको छ । यसरी फगुआ शब्दले अबिर र रङको कुनै मानिसमा संयोजन बुझ्न सकिने समाज मनोविज्ञान अद्यापि रहेको छ ।
हो, मुख्यतया श्रीपञ्चमी (वसन्तपञ्चमी)को दिनदेखि फगुआको सुरुआत भएको मानिन्छ । यस दिन अनिवार्य रुपमा सबैभन्दा पहिले बोलबम कामरनाथुहरुले डम्फू बजाएका हुन्छन् । अनि हरेक घरमा कुलदेवताको पूजा गरी अबिर पनि चढाइन्छ । अबिर चढाएपछि आफन्त र आगन्तुक जससित जिस्किन सकिने नाता हुन्छ, उनलाई अबिर र रङ हाल्न सकिने छुट हुन्छ । अनि सर्वसाधारणले पनि सरेहमा, गाउँमा एक्लै वा सामूहिक होलीको गीत मज्जाले गाउन पाउने छुट हुन्छ । यसैले करिब डेढ महिना लामो समय ग्रामीण मनोरंजन वा रमाइलोको दृष्टिकोणले निकै महत्वपूर्ण हुन्छ । यदि परम्परालाई विचार गर्ने हो भने अनादिकालदेखि यो चलन समाजमा विद्यमान रहेको देखिन्छ ।
घरमा कुनै महत्वपूर्ण काज हुँदा त्यसको तयारी त पहिलेदेखि नै गरिन्छ । सुख र साधनको दृष्टिकोणले अहिलेजस्तो जमाना पहिले थिएन । सबै सामान एकै दिन किन्न पनि सम्भव थिएन । अनि मानिससित यति धेरै आर्थिक सामथ्र्य पनि थिएन । यसले गर्दा कतिपय अवस्थामा होलीको लागि पहिलेदेखि नै धेरै सामान जोगाएर राख्नु पथ्र्यो । सम्भव हुँदासम्म होलीको दिन धेरैभन्दा धेरै रमाइलो गर्ने र आफूलाई सबैभन्दा बढी सन्तुष्ट पार्ने सोचाइ पहिलेदेखि पनि थियो र अहिले पनि रहेको छ । गाउँघरमा होली खेल्नेहरुको समूह मेरो घरमा आओस्, मेरो घरमा पनि सबैले सुनिने गरी डम्फू बजाओस्, मलाई पनि गाली गरोस् जसमा गालीको भावभन्दा आशीर्वादको भावना रहोस् भन्ने अभ्यन्तरमा अभिव्यक्ति रहन्थ्यो । अनि होलीको तयारी निकै पहिलेदेखि हुनु स्वाभाविक थियो ।
औपचारिक होली मनाउनु वा मान्नुअघि होलिका दहन अर्थात् समत फुक्नु अनिवार्य हुन्छ । अहिले पनि जबसम्म समत फुकिदैन अर्थात् होलिका दहन हुँदैन, तबसम्म गाउँमा औपचारिक रुपमा होली सुरु हुँदैन । र, समत जलाउने काम फागुन महिनाको पूर्णिमाको दिन हुन्छ । पूर्णिमाको दिन भन्नुको अर्थ हो पूर्णिमा जतिबेला समाप्त हुन्छ, त्यत्ति बेला हो । यससँगै अझै पनि ग्रामीण समाजमा यो धारणा निकै बलियो रहेको छ कि जसको दिन हुन्छ रात पनि उसकै हुन्छ । पूर्णिमाको दिन समाप्त हुनु भनेको सूर्यास्त हुनु होइन । ग्रामीण मान्यता यो रहेको छ कि सूर्योदय नभएसम्म त्यहीँ दिन विद्यमान हुन्छ र अर्को दिनको सूर्योदयभन्दा पहिले बल्ल समत जलाउनु पर्छ । अनि समत जलाउनको लागि कुनै बाधा पनि हुनु हुँदैन ।
ग्रहणलाई ठूलो बाधा मानिन्छ । पूर्णिमाको दिन चन्द्रग्रहण पर्ने सम्भावना पनि रहन्छ । यदि कुनै वर्ष फागुन महिनाको शुक्ल पूर्णिमाको दिन चन्द्रग्रहण हुन्छ भने त्यस दिन होलिका दहन नभएर भोलिपल्ट मात्र हुन्छ अर्थात् एक दिन चैतमा धकेलिन्छ । अझै पनि गाउँघरमा यो मान्यता बलियो रहेको छ कि आइतवार, मंगलवार र विहीवार न त होलिका दहन हुन्छ र न त होली नै । यदि होलिका दहन हुनको लागि र होली मान्नको लागि सोमवार, बुधवार, शुक्रवार र शनिवार चाहिन्छ । यदि आइतवार पूर्णिमा पर्छ भने सोमवार होलिका दहन गरी सोही दिन होली मान्न सकिन्छ । यस प्रकारको मान्यता अझै पनि ग्रामीण समाजमा रहेको छ तर यो मान्यता अब विभिन्न कारणले विस्तारै कमजोर बन्दै गएको छ ।
होली विशाल संस्कृति हो । यसलाई वसन्तोत्सव पनि मानिन्छ । वसन्तोत्सवमा वसन्त र उत्सव गरी दुई शब्द समास भएको हो । वसन्त एउटा ऋतु हो र उत्सव भन्नु चाहिँ एक किसिमले पर्व हो । अर्थात् वसन्तको उत्सव पनि हो होली । अनि वसन्तको उत्सव कहिले मनाउने त ?
मुख्यतया स्वागत र बिदाइलाई नै प्रमुख मान्ने गरिएको छ समाजमा । हाम्रो समाजमा बिदाइ र स्वागत दुवै महत्वपूर्ण छन् यदि अन्य संस्कृतिलाई पनि विचार गर्ने हो भने बिदाइभन्दा स्वागतलाई अत्यन्त महत्व दिइन्छ । छठ पबनीलाई पनि विचार ग¥यौँ भने अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ पहिले । अनि अस्ताउँदो सूर्यलाई । घरमा आएको पाहुनालाई देउतासरह मानिन्छ । अर्थात् आउनुलाई नै बढी स्वागत गरिएको पाइन्छ । जहिले पनि स्वागतलाई विशेष बनाउने गरिएको छ । यसको अर्थ हो सबै ऋतुहरुका राजा वसन्तलाई विशेष स्वागत गरिने उत्सव वसन्तोत्सव हो अर्थात् होली हो । अनि वसन्तको आरम्भ कहिलेदेखि हुन्छ त ?
निसन्देह, चैत र वैशाख वसन्त ऋतु हो । अनि स्पष्टतः वसन्तपञ्चमीदेखि वसन्त ऋतुको सुरुआत भएको मानिए पनि वास्तवमा वसन्त ऋतुको आरम्भ भने चैत महिनाको पहिलो दिनदेखि नै हुने हो । चैत महिनाको पहिलो दिन भन्नु चाहिँ फागुन महिनाको समापनको भएपछिको दिन हो । फागुन महिनाको समापनको दिनलाई फागु पूर्णिमा वा समत अर्थात् होलिका दहन मानिएको छ । सबैले बुझेको तथ्य हो, कुनै पनि महिनाको सुरुआत कृष्ण पक्षको प्रतिपदा तिथिदेखि हुन्छ । प्रतिपदा तिथिलाई परेवा तिथि पनि भनिन्छ । हरेक महिनामा कृष्ण पक्ष र शुक्ल पक्ष गरी दुई पक्ष हुन्छन् । पहिले कृष्ण पक्ष आउँछ र कृष्ण पक्ष व्यतीत भएपछि शुक्ल पक्ष आउँछ । कृष्ण पक्षको आरम्भ प्रतिपदादेखि हुने हुन्छ । अनि चैत महिनाको कृष्ण पक्षको प्रतिपदा भन्नु नै वसन्त ऋतुको वास्तविक सुरुआत भएको दिन हो । यसैले यसै दिन वसन्तोत्सव वा होली मनाइन्छ ।
मधेशमा चैत महिनामा होली मनाइने आधार यही हो । यसै कारण कहीँ कतै चैत महिनाको तिन चार दिनसम्म पनि होली मान्ने वा मनाउने गरिन्छ तर पूर्णिमाभन्दा तिन चार दिन पहिलेदेखि होली मान्ने गरेको पाइन्न । अन्य समाजमा होलीका आफ्नै सांस्कृतिक मान्यताहरु हुन सक्छन् । आफ्नै सांस्कृतिक विशिष्टताहरु हुन सक्छन् । होलीको आफ्नै प्रकृति हुन सक्छ । आफ्नो विशिष्ट परिवेशमा मनाइने होलीको मूल्य र मान्यतामा विविधता भए पनि होली सबैको साझा पर्व हुन गएको छ । अब एक अर्काको संस्कृतिमा रमाउने तथा संस्कृतिलाई मान्ने परिवेशको निर्माण भइसकेको छ ।
समाज पनि सोहीअनुकूल परिवर्तन भएको छ । पहिलेको जस्तो सामाजिक बन्धन अब रहेको छैन । उदार बन्दै गएको समाजमा होलीका केही विकृति तथा विसंगतिहरु पनि जन्मेका छन् । मौलिकता हराउँदै जानु सबैभन्दा दुःखद पक्ष हो । होलीले एकता तथा सद्भाव र भाइचाराको सन्देश दिँदै आएको छ । यसले अझै विस्तारको वातावरण पाओस् । होलीले सबैको जीवनमा असल रङ भर्न सकोस् ।





