लाभको पदमा बसेका सबैको सम्पत्ति छानबिन माग

[mashshare]

वीरेन्द्र रमण
जनकपुरधाम ।
लोकतान्त्रिक समाजवादी पार्टी (लासपा) ले उच्च ओहदामा बसेका व्यक्तिहरुको सम्पत्तिको छानबिन गर्नुपर्ने माग गरेको छ । महोत्तरीमा बसेको पार्टीको दुई दिने बैठकको निर्णय सार्वजनिक गर्न जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा भ्रष्टचार निवारणमा पूर्ण प्रतिवद्ध भएर लोसपाले शून्य सहनशीलता अंगीकार गर्दै विगतदेखि अहिलेसम्म सबै लाभको पदमा बसेका राजनीतिकर्मी र उच्चपदस्थ अधिकारीको सम्पत्ति जाँचका लागि सरकार र सरोकारवाला निकायसँग माग गरेको छ ।

त्यसैगरी, संघीय लोकतान्त्रिक गणतन्त्र संरक्षण, सम्वद्र्धन एवम् संघीयताको पूर्ण कार्यान्वयनको समेत माग गरेको छ । संविधान जारी गरेको बेलादेखि नै पार्टीले उठाउदै आएको त्रुटिपूर्ण, अपूरो संविधान संशोधन माग गरेको छ । आमाका नामबाट नागरिकता प्रदान गरी नागरिकतासम्बन्धी अन्य समस्या समाधान गर्नसमेत सरकारसँग पार्टीले माग गरेको छ । बैठकले आमाका नामबाट नागरिकता प्रदान गरी नागरिकतासम्बन्धी अन्य समस्या समाधान गर्न सरकारसँग पार्टीले माग गरेको छ ।

बैठकले मधेश आन्दोलनका दौरानका आन्दोलनकारीलाई दमन गर्न निर्दोष रहेको प्रदेश सांसद, पूर्वमेयरलगायत आन्दोलनकारीलाई राजनितिक पूर्वाग्रह राखेर अन्यायपूर्ण बयानको सजायको भागी आफ्नो असहमतिसमेत जनाई कानुनी र राजनीतिक उपचारका लागि लोसपा आफ्नो सम्पूर्ण शक्तिका साथ मनसावाचाकार्मण लाग्ने भन्दै मधेश आन्दोलनको दौरान विभिन्न जिल्लामा अध्ययन अनुसन्धान गरी तयार पारिएको सर्वोच्च अदालतका पूर्व न्यायाधीस गिरिशचन्द्र लालको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । कृषिको उत्थानका लागि किसानलाई समयमा मल, उन्नत बीउविषादी, उचित अनुदानका लागि समेत पार्टीले माग गरेको छ । बैठकले भारतसँग भएको विद्युत् व्यापार सम्झौताअन्र्तगत १० हजार मेगावाट विद्युत् बिक्री गर्ने सहमति मुलुकको व्यापक हितमा भएकाले यसले मुलुकको समृद्धिमा टेवा पुग्ने भन्दै स्वागत गरेको छ । मुलुकको पूर्वाधार विकासमा भारतले सहयोग गर्दै आएको ५ करोड रुपैयाँलाई २० करोड रुपैयाँसम्मको सीमा तय गरिएको निर्णयलाई बैठकले स्वागत गरेको छ ।

त्यसैगरी, बिआरआइ सम्झौता नेपालको हितमा नभएको समेत बैठकले ठहर गरेको छ । बैठकले नेपाल भारत सीमा व्यवस्थापनका नाममा आमनागरिकलाई दुःख दिने कार्य तत्काल रोक्नसमेत माग गरेको छ । पार्टीले ६ महिनाभित्र विधान अधिवेशन र एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने निर्णय समेत गरेको छ । पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको बहिर्गमन र अर्का नेता अनिल झाको अनुपस्थितिलाई सामान्य र स्वाभाविकरुपमा लिएको बताउँदै पार्टी अध्यक्ष महन्थ ठाकुरले पार्टीबाट अलग हुनु र प्रवेश गर्नु नेपालको राजनीतिमा सबैतिर सरल भइसकेकाले टिप्पणी गर्न नहुने बताए ।

उनले महतो आफैँ पार्टी छाडेर गएकाले धेरै छलफल नभएको बताउँदै पार्टीसँग चित नबुझेको कारण गएकाले पार्टीका लागि हितकर नै हुने बताए । उनले संघमा पार्टी विपक्षमा रहे पनि प्रदेशमा सत्तागठबन्धनमा नै रहने बताए । उनले भने, ‘संघ र प्रदेश छुट्टै विषय हो, त्यसकारण संघमा विपक्षमा बसेपछि प्रदेशमा सत्तापक्षमै बस्नेछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button