
मधेशदृष्टि
बारा ।
तामागढी साझेदारी वन क्षेत्रमा गोली हानेर मारिएको बाघको पुच्छर, दाँत र जुँगा चोरी भएको पाइएको छ । गोली हानेर मारिएको अवस्थामा बाघ कोल्हवी सब डिभिजन वन कार्यालयको टोलीले मङ्गलबार फेला पारेको हो । करिब ३ वर्षको पोथी बाघ वन क्षेत्रभित्र मृत भेटिएको हो । बाघको नाकको माथिल्लो भागमा गोली हानिएको पाइएको छ भने दाँत झिकिएको, पुच्छर काटिएको र जुँगासमेत निकालिएको अवस्थामा फेला परेको कोल्हवी सब डिभिजन वन कार्यालयका प्रमुख अब्दुल मियाँ अन्सारीले बताए।
अन्सारीका अनुसार बाख्रा हराएको भन्दै गाउँले जङ्गलमा खोज्न जाँदा बाघ मरेको पाइएको खबर आएको थिए । उनले भने, ‘गोली लागेको बाघको पुच्छर, दाँत, जुँगा चोरी भएको छ । कसले किन मारेको भनेर पत्ता लागेको छैन ।’ बाघको शव हेर्दा २ दिनअघि मारिएको अन्सारीको अनुमान छ । बाघको शव परीक्षणका लागि जिल्ला पशु कार्यालय बाराका पशु चिकित्सकको टोली आएको थियो ।
तामागढी साझेदारीमा वनमा मारिएको यो बाघसँगै पछिल्लो एक डेढ महिनाको अन्तरमा बारामा आधा दर्जन बाघ मरिसकेका छन् ।
४ दिनअघि बाराको कछडिया सामुदायिक वनमा करिब ८ वर्षको जवान भाले बाघ विष हालेर मारिएको अवस्थामा फेला परेको थियो । फागुन दोस्रो साता पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा ४ दिनको अन्तरमा २ वटा जवान भाले र पोथी बाघ मृत भेटिएका थिए । पर्साको ठोरीबाट नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएको ३ वटा बाघमध्ये २ वटा बाघको मृत्यु भएको छ ।
सन् २०२२ को डिसेम्बरमा भएको राष्ट्रिय बाघ गणनामा पर्सा राष्ट्रिय निकुञ्जमा ४१ दुर्लभ पाटे बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो ।
निकुञ्जको मध्यवर्ती क्षेत्र, राष्ट्रिय वन, साझेदारी र सामुदायिक वनको ठूलो भूभाग अतिक्रमण भएर बस्ती र कृषि भूमिमा परिणत भएको छ । निकुञ्ज बाहिर निस्किएका बाघले पशु चौपाया र मानिसको ज्यान लिने र विभिन्न कारणले बाघको समेत ज्यान जाने गरेको छ । पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले निकुञ्ज बाहिर निस्किएका बाघलाई जोगाउनै मुस्किल भएको बताए । पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको लागि पिउने पानी अभाव हुँदा बाघ जङ्गल बाहिर निस्कने गरेको निकुञ्जले जनाएको छ ।






