मेयरको पहलमा हट्यो मितेरी पुलबाट एसएसबी पोष्ट

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
वीरगंज–रक्सौल सीमानाकाको मितेरी पुलबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) फोर्सले आफ्नो अस्थायी चेकपोष्ट हटाएको छ । सुरक्षा चेकजाँचका नाममा एसएसबीले स्थापना गरेको अस्थायी सुरक्षा चेकपोष्ट सोमबारबाट हटेसँगै सीमा क्षेत्रमा उत्पन्न अवरोध अन्त्य भएर आवागमन सहज भएपछि स्थानीय खुशी भएका छन् । मितेरी पुलमा झण्डै ३ महिनादेखि एसएसबीले अस्थायी सुरक्षा चेकपोष्ट खडा गरी आवतजावत गर्ने सर्वसाधारण तथा उपभोक्तालाई चेकजाँच गर्दै आएको थियो । चेकजाँचक्रममा अनावश्यक झमेला र कुटपिटसमेत भएको भन्दै गुनासो बढेको थियो ।

एसएसबीको ज्यादतिविरुद्ध जनगुनासो बढेपछि वीरगंजस्थित भारतीय महावाणिज्य दुतावासले घटनाबारे भारतको केन्द्रीय सरकारलाई जानकारी गराएको थियो । भारत सरकारले उत्पन्न समस्या समाधानका लागि एसएसबी फोर्सको हेडक्वार्टर दिल्लीबाट डिआइजी सुरेश सुब्रमण्यमको टोली शनिबार मितेरी पुल आइपुगेको थियो । टोलीले घटनाबारे जानकारी लिएर दिल्ली फर्किएपछि दिल्ली पुगेलगत्तै सोमबारबाट एसएसबीको अस्थायी सुरक्षा चेकपोष्ट पूर्ण रुपमा मितेरी पुलबाट हटेको ग्रिनसिटी सामुदायिक केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिए ।

एसएसबी फोर्सले सुरक्षाको दृष्टिकोणले चेकजाँच गरेको बताए पनि रक्सौलबाट किनमेल गरेर वीरगंज फर्केका सर्वसाधारण उपभोक्तामाथि दुव्र्यवहार भएको आरोप खेपिरहेको थियो । दुव्र्यवहार बढ्दै गएपछि त्यसको जानकारी वीरगंजस्थित भारतीय महावाणिज्य दुतावासले केन्द्र सरकारलाई गरेको र केन्द्र सरकारले मितेरी पुलबाट पूर्णरुपमा अस्थायी सुरक्षा चेकपोष्ट हटाएको खेतानले बताए ।

सीमा क्षेत्रमा उत्पन्न गतिरोध अन्त्यका लागि वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले दुतावासलाई पटकपटक आग्रह गरेका थिए । सुरक्षा चेकजाँचको बहानामा नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धमा चिसोपन ल्याउने गतिविधि सीमा क्षेत्रमा भएको भन्दै नगर प्रमुख सिंहले उत्पन्न समस्या तत्काल समाधान गर्न दुतावासमार्फत भारतीय सरकारलाई समेत आग्रह गरेका थिए । सीमा क्षेत्रमा फागुन १८ गते एसएसबीका सुरक्षाकर्मीले वीरगंज महानगरपालिका वडा नम्बर १ छपकैयाका बलिराम साह सोनारलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।

घटनाबारे विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएलगतै भारतको केन्द्र सरकारको ध्यानाकर्षण भएको थियो । सीमा क्षेत्रमा सर्वसाधारणको आवागमन सहज बनाउनेबारे भारतीय केन्द्रीय सरकारले गरेको निर्णयको अहिले सर्वत्र स्वागत गरिएको छ । यस्तै, सर्वसाधारणको समस्या सुनुवाइ गरेर मितेरी पुलको चेकपोष्ट हटाउन पहल गरेकामा वीरगंज महानगर प्रमुख राजेशमान सिंहलाई सबैले धन्यवाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button