
मधेशदृष्टि
सप्तरी ।
सप्तरीका किसानले दूध बिक्री वापतको बक्यौता रकम भुक्तानीसहितको विभिन्न ११ सूत्रीय माग राखेर आन्दोलन गरेका छन् । बिहीबार दूध उत्पादक किसानहरूले पूर्वपश्चिम राजमार्गमा मोही खुवाएर आन्दोलन गरेका हुन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको महुली सडकखण्डमा बिहीबार एक घण्टा चक्काजाम गर्दै दूध बिक्री वापतको रकम पाउनुपर्ने भन्दै मोही बाडेर आन्दोलन गरेका हुन् । दूध वापतको करौडो रुपैयाँ भुक्तानी गर्नुपर्ने, भारतबाट अवैध रुपमा भित्रिने गरेको दूध तथा दूधजन्य पर्दाथमा रोक लगाउनुपर्ने, दूधको मूल्यमा एकरूपता ल्याउनुपर्ने लगायतका विभिन्न माग राखेर उनीहरु आन्दोलनमा उत्रेका हुन् ।
दूधको ट्याङ्करलाई सडकमै तेस्र्याएर अवरोध गरेपछि दिउँसो १२ बजेदेखि दिउसो १ बजेसम्म राजमार्गको आवागमन पूर्णरुपमा ठप्प बनेको थियो । दूग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानहरूले यस अघि घोषणा गरेको सडकमै दुध पोखेर विरोध गर्ने कार्यक्रम परिवर्तन गरी चक्का जामका कारण रोकिएका सवारी सधानका यात्रुलाई दूधको गोरख बनाएर खुवाए । दूधलाई पोखेर नष्ट गर्नुभन्दा अरुलाई निःशुल्क खुवाउनु नै उचित हुने भनी दूग्ध उत्पादक किसानहरूको सुझाव आएपछि सडकमा दूध पोख्ने कार्यक्रम परिवर्तन गरिएको संघर्ष समितिका संयोजक दिपेन्द्र कुमार आर्चायले बताए ।
सडकमै नाचगान गरेर विरोध जनाएका किसानहरुले दूधको बाँकी बक्यौता भुक्तानी गर, दूधको मूल्यमा एकरूपता कायम गर, कृषिमा विचौलियाको अन्त्य गर, भारतीय दूधको प्रवेशमा रोक लगाउ, स्वदेशी उत्पादकलाई प्रोत्साहन गर लगायतका नारा अंकित प्लेकार्डसहित नाराबाजी गरेका थिए । दूग्ध उत्पादक सहकारी संघ, सप्तरीको अगुवाइमा किसानले जिल्लाको अग्नि साइर कृष्णसवरण गाउँपालिकास्थित महुलीमा बसका यात्रुसहित उपस्थित भएका सबैलाई मोही पिलाएर आन्दोलन गरे । यसअघि दूग्ध उत्पादक संघले प्रमुख जिल्ला अधिकारी किरण थापालाई ज्ञापनपत्र बुझाउँदै भुक्तानी दिलाइ दिन माग गरेका थिए ।
दूग्ध उत्पादक सहकारी संघले पछिल्लो साउनदेखि पुस मसान्तसम्म एक अर्ब ४३ करोड ९९ लाख २३ हजारको दूधजन्य पदार्थ आयात भएको देखिँदा सो पूर्ण बन्द गराई स्टकमा रहेका दूधजन्य पदार्थलाई अन्तर्राष्ट्रिय बजारमा अविलम्ब बिक्री गर्ने व्यवस्था मिलाउन माग गरेको छ । दूग्ध किसानलाई सहुलियत कृषि कर्जामा एवं रोकिएको व्याज कृषि अनुदान कार्यक्रम उपलब्ध गराउन, प्रतिलिटर दूधमा कम्तीमा १० रुपैयाँ सबै पालिकामा सबै किसानले पाउने गरी लागू गराउन, पशु आहारा, पशु औषधिसहित पशु पालनसँग सम्बन्धित वस्तुका मूल्य राज्यबाट अविलम्ब नियन्त्रण गर्न ज्ञापनपत्रमार्फत उनीहरूले माग गरेका थिए ।
रौतहटमा पनि किसान आन्दोलित
रौतहटको चन्द्रनिगाहपुरमा लामो समयदेखि आफूले दूध बेचेको पैसा नपाएपछि दूध उत्पादक किसानहरूले आन्दोलित बनेका छन् । उनीहरुले बिहीबार पूर्व–पश्चिम राजमार्गमा दुई घण्टाको लागि बन्द गरेर प्रदर्शन गरेका हुन् । नेपाल सरकारको स्वामित्वमा रहेको डिडिसीले रौतहटका दूध उत्पादक किसानको हालसम्मको करिब ७ करोड रुपैयाँ तिर्न बाँकी रहेको किसानहरुको भनाइ छ ।
गत भदौको दोश्रो सातादेखि फागुन १५ गतेसम्मको कूल भुक्तानी देशभरका किसानहरुको करिब ७ अर्ब रुपैयाँ डिडिसिले समयमै भुक्तानी नगरेपछि दूध उत्पादक किसानहरूले आन्दोलनका कार्यक्रम तय गरी पूर्व–पश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुर मुख्य सडकखण्डमा दुई घण्टाको लागि चक्काजाम गरेका हुन् । दूध उत्पादक जिल्ला संघ रौतहटका अध्यक्ष कृष्णप्रसाद अधिकारीले सम्बन्धित निकायको ध्यानाकर्षण गराउन दूध उत्पादक किसानहरूले पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगाहापुरमा चक्काजाम गर्नुपरेको बताए ।








