
अनिल पोखरेल
राजविराज ।
राजविराज नगरपालिकामा देखिएको विवाद समाधानपछि प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङ बुधबार कार्यकक्ष फर्किएका छन् । नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परविन तथा प्रमुख प्रशासकीय अधिकृत गुरुङबीच एक आपसमा समन्वय र सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ । विवादका कारण पछिल्लो तीन सातादेखि कामकाज अवरुद्ध थियो ।
जनप्रतिनिधिले कार्यकक्षमा तालाबन्दी गरेपछि अधिकृत गुरुङ खुला आकाशमुनि बसेर सेवा प्रवाह गर्दै आएका थिए । अदालतले निर्णय दिँदा पनि तालाबन्दी कायमै रहँदा बाहिरै बसेर सेवा दिँदै आएका गुरुङले ताला खुलेपछि १६ दिनपछि आफ्नै कार्यकक्षबाट सेवा दिन थालेका हुन् । जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच उत्पन्न विवादमा अदालतले एक प्रकारको आदेश गर्दा पनि गुरुङको कार्यकक्षमा लागेको ताला खोलिएको थिएन ।
नगरपालिकाका जनप्रतिनिधिले अधिकृत गुरुङलाई फागुन १ गतेदेखि कामकाज नगर्न निर्णय गरेको थियो । त्यसका विरुद्ध गुरुङ उच्च अदालत जनकपुर राजविराज इजलासमा रिट दिएका थिए । अदालतले सुरुमा अल्पकालीन र फागुन १० गते अन्तरिम आदेश दिँदै गुरुङलाई कामकाजमा कुनै अवरोध नगर्न भनेको थियो ।
अदालतले आदेश दिए पनि गुरुङको कार्यकक्षमा ताला लाग्दा उनी बाहिरै बसेर कामकाज गरिरहेका थिए । बुधबार उनको कार्यकक्षको ताला खुलेको छ । कार्यवाहक मेयर परविनले गुरुङलाई कामकाज गर्न विगतमा पनि अवरोध नगरेको र अब पनि नगर्ने बताइन् ।
गुरुङले नगरपालिकाको योजना, बजेट र कार्यक्रमलाई सहज तरिकाले अघि बढ्ने विश्वास व्यक्त गरे । गुरुङ कागजपत्र नमिलेको बिल भौचर खरिद सामानका खर्च तथा भरपाई नभएका भुक्तानी नगर्ने, योग्य करारका कर्मचारीलाई नहटाउने अडानमा छन् भने जनप्रतिनिधि नगरपालिकामा दरबन्दी अनुसारको कार्यालय प्रमुख ल्याउने प्रयत्नमा छन् ।
बैठकमा प्रमुख जिल्ला अधिकारी थापा, कार्यवाहक मेयर परविन, प्रमुख प्रशासकीय अधिकृत गुरुङ, एसपी गजुसिद्दी बज्राचार्य, अनुसन्धानका एसपी सुरेन्द्र कोइराला, उद्योग वाणिज्य संघका महासचिव अमृत सन्चेतीसहितको उपस्थिति थियो ।






